गृह मन्त्रालयमा नै विकृति : कामै नभएकालाई भनसुनमा काज



–३ सहसचिव र ३ उपसचिव बरण्डामा
–१६ शाखा अधिकृतको पदस्थापन हुन सकेन
–काजमा बसेका हाजिर गर्छन्, फर्कन्छन्
–गृहमै विकृति भन्दै नेतृत्वको आलोचना

काठमाडौं । सुराकी खर्च खारेजी गरेर चर्चामा आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको काज सरुवा विकृतिलाई भने रोक्न सक्नुभएको छैन । मन्त्री श्रेष्ठ गृहमन्त्री भएर आएपछि पनि भनसुनमा काज सरुवा मिलाएर गृह मन्त्रालयमा नै बस्ने र हाजिर गरेर टाप कस्ने प्रवृत्ति रोकिएको छैन ।

निजामती प्रशासनमा भनसुन चल्नेहरूले आफ्नो अनुकूल हुनेगरी जुनसुकै निर्णय पनि गराउने गरेका छन् । उनीहरूले त्यसरी निर्णय गराउँदा शक्ति, पहुँच र आवश्यक परे पैसासमेत खर्च गर्ने गरेको सरकारकै अधिकारीहरूको दाबी छ । यस्तो प्रवृत्तिलाई सरुवा विकृतिको रूपमा लिइन्छ । अहिले गृह मन्त्रालयमा यस्तै विकृति देखिएको स्रोतको दाबी छ ।

हाल गृह मन्त्रालयको कुनै अनुभव नै नभएकालाई गृह मन्त्रालयमा नै महिनौंसम्म काजमा राख्ने गरी निर्णय गरिएको छ । त्यस्ता कर्मचारीको काम मन्त्रालयमा आउने, हाजिर गर्ने र घर फर्कनेमा नै बित्ने गरेको छ ।

गृह मन्त्रालयले केही समयअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत केही शाखा अधिकृतलाई विभिन्न जिल्लास्थित प्रशासन कार्यालयमा सरुवा गरेको थियो । तर, त्रिभुवन विमानस्थलमा कार्यरत रही अन्यत्र सरुवा भएका केही ‘डन कर्मचारी’हरूले भने जिल्लामा नगई सीधै गृह मन्त्रालयमा नै बस्ने गरी काज मिलाउन सफल भएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा सरुवा भएकी शाखा अधिकृत मिनाक्षी भुर्तेल र गुल्मी सरुवा भएकी जुना खड्का भनसुन र अन्य उपाय लगाएर मन्त्रालयमा नै काज सरुवा गराउन सफल भएको बताइन्छ । उहाँहरूसँग गृहमा काम गरेको खासै अनुभव छैन । तर, पनि उहाँहरू दुवै जनालाई झापा र गुल्मी नै जान नपर्ने गरी गृहमन्त्रालयमा नै काजमा व्यवस्थापन गरिएपछि त्रिभुवन विमानस्थलबाट अन्यत्र सरुवा भएका कर्मचारीहरू असन्तुष्ट बनेका छन् । गृह मन्त्रालयको नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै मन्त्रालयभित्रै विरोध र आलोचना भएको छ । यसमा समेत चासो नदिएको भन्दै गृहमन्त्री श्रेष्ठको पनि विरोध भएको छ ।

त्रिभुवन विमानस्थलबाट सरुवा भएका सबैलाई सरुवा भएको हो, त्यहीँ पठाउनु पर्नेमा दुई जनालाई काजमा मन्त्रालयमा ल्याइएको र हाजिर गर्दै घर फर्कन पाउने गरी सुविधा दिइनुलाई शंकाको रूपमा हेरिएको छ । दुबै जनालाई मन्त्रालयले कुनै जिम्मेवारी पनि दिएको छैन । उता जिल्लामा उहाँहरूको दरबन्दी यथावत राख्दा सो ठाउँमा शाखा अधिकृतसमेत रिक्त भएको छ र जिल्ला प्रशासन कार्यालयको कामकाज समेत प्रभावित भएको बताइन्छ ।

यसै गरी गृह मन्त्रालयले तीनजना सहसचिवलाई समेत जिम्म्मेवारी नदिएर त्यसै बरण्डामा राख्दै आइरहेको छ । सहसचिव जस्तो व्यक्तिलाई जिम्मेवारी नदिँदा उनीहरूको मनोबल गिरेको बताइएको छ । सहसचिव वासुदेव घिमिरे र कुलबहादुर विसीलाई जिम्मेवारी नै नदिएर त्यसै राखिएको छ । यस्तै, तीनजना उपसचिवहरू शिव लम्साल, कुलबहादुर विसी र उमाकान्त अधिकारीलाई पनि जिम्मेवारी नदिई त्यसै बरण्डामा थन्काइएको छ ।

त्यति मात्रै होइन, गृहमन्त्रालयले विभिन्न मन्त्रलायबाट गृहमा सरुवा भई आएका १६ जना शाखा अधिकृतलाई पनि पदस्थापन गर्न सकेको छैन । मन्त्रालयमा भएका विभिन्नखाले चलखेलका कारण सरुवा र पदस्थापन प्रक्रिया अवरुद्ध भएको गृह मन्त्रालय स्रोतको दाबी छ । गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव केदारनाथ शर्माले भने मन्त्रालयले केही अपवादबाहेक कसैलाई पनि काजमा राख्ने नीति नरहेको दाबी गर्नुभयो । उहाँले पदस्थापन गर्न बाँकी रहेका सहसचिव, उपसचिव तथा शाखा अधिकृतलाई छिटै जिम्मेवारी दिइने बताउनुभयो । काजमा राखिएका शाखा अधिकृत हाजिर गर्दै घर फर्कने गरेको बारेमा प्रश्न गर्दा सहसचिव शर्माले उनीहरूको काज व्यवस्थापन आपूm आउनुअघि नै भएकोले त्यस सम्बन्धमा आफूलाई खासै जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्