शिक्षा, स्वास्थ्य र खानेपानीमा आधुनिकीकरण मेरो एजेन्डा



नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिमा दुई कार्यकाल सदस्य भइसकेका गोविन्द भट्टराईले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको छ । उहाँ लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको हो ।

राजनीतिमा निष्ठा, त्याग, समर्पण र धैर्यता भट्टराईमा पाइन्छ । पार्टीभित्र विगतमा उचित स्थान नपाए पनि पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष, नेपाल तरुण दलको महासचिव भएर उहाँले काम गरिसक्नुभएको छ । प्रस्तुत छ, भट्टराईसँग जिल्ला सम्वाददाता मिला दरैले निर्वाचनमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश :

तनहुँ–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुँदै गर्दा मुख्य रूपमा कस्तो एजेन्डा लिएर चुनावी मैदानमा जाँदै हुनुहुन्छ ?

नेपाल विकासोन्मुख देश हो । यहाँको विकास एकैपटकमा हुँदैन । विस्तारै विकासको क्रममा रहेको छ । नेपालमा शिक्षाको अभाव नै छ । स्वास्थ्यको त्यस्तै छ । खानेपानी, बिजुली अझै आवश्यकताको रूपमा नै विद्यमान छ । जनताका आवश्यकतालाई अझै सहज रूपमा उपभोग गर्ने वातारण तयार पार्नेछु ।

पुराना योजना र एजेन्डाले मात्रै मतदाताले तपाईंलाई मतदान गर्लान् त ?

यस क्षेत्रको विकासका लागि हरेक तवरबाट सहयोग गरेको छु । विगतदेखि नै जनताको सेवामा समर्पित भएको मतदाताले मलाई मतदान गर्नुहुन्छ । यहाँका जनताले घण्टौं लगाएर पानी बोकेको देखेर खानेपानी सहज बनाउनुपर्छ भनेर मैले ल्याएका योजनाले अहिले उहाँहरुको घर–घरमा खानेपानी पुगेको छ । मतदाताले मूल्याङ्कन गर्ने समय आएको छ र उहाँहरुले गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

तपाईं पनि युवा नै हुनुहुन्छ, युवाले चाहेको परिवर्तनलाई कसरी विश्लेषण गरिरहनुभएको छ ?

हरेक कालखण्डमा युवाले परिवर्तन चाहिरहेका हुन्छन् । कस्तो अवस्थामा कहाँ बसेर युवाले परिवर्तनको आवाज र विद्रोह गर्ने भन्ने मुख्य विषय हो । नयाँ पार्टी खोलेर वा अन्यत्र गएर परिवर्तन हुने होइन । यसका लागि धैर्यताका साथ युवाको चाहनाअनुसार छलफल गरेर समाधान गर्न सकिन्छ ।

नेपालमा अवसर नै छैन भन्दै बिदेसिने युवा बढ्दो क्रममा छ । यसलाई रोक्न र रोजगारी सिर्जना गर्न कस्तो योजना बनाउनुभएको छ ?

नेपाली कांग्रेस पार्टीकै पहलमा स्वदेश तथा विदेशमा रोजगारीको व्यवस्थापन गर्ने वातावरण तय भएको छ । अब विदेशमा जाने युवालाई स्वदेशमा रोक्नुपर्ने अवस्था छ । नेपालमै बस्न नचाहने युवालाई रोक्न समस्या नै छ । तर, स्वदेशमा नै रोक्ने गरी उद्योग, कलकारखाना र कृषि पेसालाई नै आधुनिकीकरण गरी अगाडि बढ्ने सोच बनाएको छु ।

उत्पादनशील युवालाई स्वदेशमा रोकेर विकासमा जोड्न तपाईंको भूमिका कस्तो हुनेछ ?

नेपालभरका उत्पादनशील युवा अहिले विदेश पलायन भएका छन् । ती युवालाई रोक्न विशेष गरी उद्योग, कलकारखाना, रोजगारीको अवसर सिर्जना गर्नुपर्दछ । यसका लागि राष्ट्रले स्वदेशकै पानीको उपयोग गरी अहिले विद्युत् उत्पादन गरेको छ । विद्युत्ले नै कामको सहजता कायम गरेको छ । जब सहजता हुँदै जान्छ, तब युवाहरु स्वदेश फर्किने अवस्था रहन्छ । विद्युत्को उपयोगबाट हुने खालका काम गर्न युवालाई प्रोत्साहन गर्ने योजना बनाएको छु ।

लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । सत्ता साझेदार सबै पार्टीको तपाईंलाई मत आउँछ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

गठबन्धनका राजनीतिक दलले सर्कुलेसन गरिसकेका छन् । सोहीअनुसार नै मलाई मतदान गर्नुहुन्छ, त्यसमा म विश्वस्त छु । गठबन्धन विगतमा पनि भएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच करिब दुई तिहाइभन्दा बढीले निर्वाचनमा विजयी भएर पनि खासै केही उपलब्धि नभएको उदाहरण पनि छ । संविधान र लोकतन्त्रको रक्षा नै मूल उद्देश्य भएकाले सबैले मलाई भोट दिनुहुन्छ ।

तनहुँ–१ कांग्रेसको गढ मानिए पनि अहिलेको चुनावी माहोल फरक भएको आँकलन गरिएको छ । तपार्इंले यसलाई कसरी लिनुभएको छ ?

समय परिवर्तनशील छ । समयअनुसार नै परिवर्तन भइरहन्छ । चुनावी माहोलले मात्रै पुग्छ जस्तो मलाई लाग्दैन । यहाँको माटो, क्षेत्र, विकासका लागि आवश्यकता सबै हुनुपर्छ । मेरो यहाँको माटो, बाटो लगायत प्रत्येक वस्तुसँग सामिप्यता छ । यस आधारमा पनि मैले जित्छु । जिल्लाको, यस भूमिका बारेमा नै थाहा छैन भने जनताको आवश्यक नै पहिल्याउन समय लाग्छ । कसरी विकास तथा योजना ल्याउन सक्छन् अरूले ।

भनेपछि चुनावी एजेन्डाले फरक पार्दैन ?

केही हदमा असर गर्ला । त्यो विकल्पको कुरा हो । मुख्य रूपमा जनतालाई सेवा–सुविधा, संविधान र लोकतन्त्र संरक्षण गर्ने पार्टीका उम्मेदवार नै यहाँका जनताले जिताउनुहुन्छ ।

संविधान र लोकतन्त्रको संरक्षण नै मुख्य भएपछि जनताको आवश्यकता पूर्ति होलान् ?

राजनीतिक, सैद्धान्तिक, विकास निर्माण, निष्ठा, नैतिकता र निरन्तरताको आधारले नै विभिन्न अवसर सिर्जना गर्ने हो । जब संविधान र लोकतन्त्रको संरक्षण हुँदैन त मुलुक नै ध्वस्त हुन्छ । यसको संरक्षणले नै जनताका आवश्यक पूर्ति गर्न विभिन्न बाटाहरु बनेका हुन्छन् । ती आवश्यकता पूर्ति गर्नकै लागि मतदाताले सही उम्मेदवार छनोट गरेर संसद्सम्म पु¥याउँछन् । लोकतन्त्रलाई पारदर्शी बनाएर विकासका पूर्वाधार निर्माणमा स्थायित्व कायम गर्ने मतदाताले उम्मेदवारलाई पहिचान गरी मतदान गर्नेछन् ।

यस क्षेत्रका लागि तपाईं नै उपयुक्त उम्मेदवार हो त ?

हो, यस क्षेत्रका मतदाताका लागि म नै उपयुक्त उम्मेदवार हुँ । त्यसैले यहाँका मतदाताले योग्य व्यक्ति छनोट गरी विजयी गराउनुहुन्छ । लोकतान्त्रिक विचारले मात्रै लोकतन्त्र बलियो हुने हुँदा यहाँका जनताले मतदान मेरो पक्षमा गर्नुहुन्छ । पाहुनालाई स्वागत, सत्कार गर्ने हाम्रो संस्कार हो । जिताउने त आफ्नो घरकालाई नै होे, जसले घरको दुःख बुझेको छ । सोहीअनुसार यहाँका जनताले गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्