हराएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण, १२ स्कुल बस र २६२ चालक कारबाहीमा



काठमाडौं ।

देशका छुट्टाछुट्टै र काठमाडौं उपत्यकाबाट हराएका २२ वटा सवारी साधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तानतरण गरेको छ । हराएका २२ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (शुक्रबार) धनीलाई हस्तान्तरण गरेको हो ।

१६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

चालु आर्थिक वर्षको शुरुदेखि हालसम्म सवारी साधन हराएको भनि १ हजार २ सय ८९ ओटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए ।

प्राप्त निवेदनको आधारमा खोजी गरि फेला परेका ३८७ वटा सवारी साधन ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये आजको २२ ओटासहित ३६० ओटा दुईपाङ्ग्रे सवारी साधन, ट्राफिक प्रहरीले धनीको जिम्मा लगाइसकेको छ ।

यस्तै चैत महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको एउटा मोटरसाईकलसहित नियन्त्रणमा लिएका १ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाएको छ ।

यसअघि पनि चोरीको २४ ओटा मोटरसाईकलसहित चोरीमा संलग्न २६ जना मानिसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि सम्बन्धित परिसर तथा वृत्तहरूमा बुझाइ सकेको छ ।

अन्य हराइरहेका फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको प्रवक्ता भट्टले जानकारी दिए ।

लाखौँ रकम तिरेर खरिद गरेको सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरेमा सवारी साधन चोरी हुनबाट जोगाउन सकिने पनि उनले बताए ।

त्यसैगरी १२ जना स्कुल बसका चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यकामा शुक्रबार बिहान गरिएको विशेष चेकिङका क्रममा १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १२ ओटा स्कुल बसका चालकहरू आज कारबाहीमा परेका हुन् ।

जसमा बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ११ जना चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

काठमाडौं उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको छ ।

योसँगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २६२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्