नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित



काठमाडौं।

नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन् । बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्।

यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको पक्षमा संघीय संसदका १०४ र प्रदेशसभाका १६९ जना सदस्यले मत दिएका थिए । यसैगरी, जसपाकै प्रमिलाकुमारी यादवलाई संघीय संसदका एक जनाले मत दिँदा प्रदेशसभाबाट शून्य मत परेको थियो । साथै जनमत पार्टीकी ममता झाले संघीय संसदका २३ जना सदस्य र प्रदेशसभाका १५ जना सदस्यबाट मत पाएकी हुन् ।नेपालको पहिलो उपराष्ट्रपतिमा परमानन्द झा र दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्