छोएर र हेरेर नै निको बनाउँछु भन्दै लाखौँ असुली

एक लाख २३ हजार रुपैयाँ जफतसँगै हाजिर जवानीमा छाडियो व्यवसायी केसीलाई



छोएर वा हेरेर निको पार्ने भन्दै अवैध तरिकाले रकम असुलीको आरोपमा नियन्त्रणमा लिइएको व्यवसायी भरत केसीलाई बिहीबार हाजिर हुने गरी छाडिएको छ ।

पोखरा महानगरपालिका १७ स्थित पावर हाउस रिसोर्टमा एक कार्यक्रम सञ्चालन गर्दै झापाका भरत भण्डारीले छोएर वा हेरेर नै सबै रोग निको बनाइदिने भन्दै गैर कानुनी रुपमा रकम असुली गरेको सूचनाको आधारमा प्रहरीले भरत केसीलाई नियन्त्रणमा लिएको थियो । पोखरा उद्योग वाणिज्य संघका सदस्य समेत रहेका केसी आफै अस्पताल संचालक हुन् । तर केही महिनाअघि आफूले पनि टिकटकको मार्फत सीमान्त गुरु भनिने भरत भण्डारीसँग वार्तालाप गरे पश्चात् निको भएकाले पोखरामा बोलाएको बताए ।

प्रहरीकै सुरक्षामा गैर कानुनी तरिकाले रोगीहरूसँग प्रति व्यक्ति एक हजार रुपैयाँका दरले उठाउँदै आएको भेटिएको थियो ।

उक्त विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारीलाई ढोरपाटन संवाददाताले फोनमार्फत जानकारी गराएपछि अनुगमन समेत गरिएको थियो । सहायक जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा र वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी खटिइ अनुगमन गरेको थियो ।

उक्त समयमा शिविर संचालनका लागि कुनै पनि कानुनी प्रक्रिया नदेखिएपछि केसीलाई नियन्त्रणमा लिइएको थियो । घटनास्थलमै सोधपुछ गर्दा केसी आफैले सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी प्राप्त गरेको थियो । तर प्रमुख जिल्ला अधिकारीले भने प्रहरीले भीड देखेपछि मात्रै के भएको भनेर हेर्न गएको बताएका थिए । सोही कुरा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीले समेत बताएका थिए  । दुवै प्रमुखले प्रहरी सुरक्षा दिन नभई भीड देखेर गएको सुनाए । तर वास्तविकता भने अर्कै थियो । त्यहाँ जिल्ला प्रशासन कार्यालयकै सिफारिसमा प्रहरी खटाइएको थियो । सिडिओ र एसपीको भनाई नै गलत देखिएको छ ।

अनुगमनकै क्रममा शिविर संचालनका लागि आवश्यक कागजात माग गर्दा नभेटेपछि केसीलाई पक्राउ गरिएको हो । सहायक जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार नियन्त्रणमा लिएका केसीलाई बिहीबार कार्यालय समयमा हाजिर हुने गरी छाडिएको छ । उनलाई हाजिर जवानीमा छाडिएको हो ।
‘त्यहाँ रकम लिने गरेको भेटियो । तर कुनै रसिद वा कानुनी रुपमा देखिने कागजात भने थिएन । एक सय २३ जनाबाट रकम लिएको देखियो’ उनले भने,‘कुल एक लाख २३ हजार रुपैयाँ लिएको कारण त्यो रकम जफत गरिएको छ । अब त्यहाँ कुनै पनि त्यस्ता गतिविधि हुँदैन । हामीले थप अनुसन्धान गरिरहेका छौँ ।’ ढकालका अनुसार प्रारम्भिक अनुसन्धानबाट उक्त कार्य गैर कानुनी ठहरिएको देखिएको छ ।

छोएरै निको हुन्छ भन्ने टिकटकमा देखिएपछि कास्की बाहिरबाट समेत बिरामीहरू आएका थिए । एक हजार रुपैयाँ तिरेर भरत भण्डारीलाई भेटेकी एक महिलाले घुँडा, पैताला दुख्ने गरेको बताइन् । उनले आफूलाई पाँच दिनमा निको हुने बताएको सुनाइन् । ‘पाँच दिनमा निको हुन्छ भन्नुभएको छ । मेरो घुँडा, पैताला दुख्ने गरेको छ । टिकटकमा देखेर आएको हुँ’ उनले भनिन् । तनहुँबाट आएकी एक बालिका आफूले ठूलो आशा लिएर आएको बताइन् । उनले छोएर निको हुन्छ भनेपछि आफू आएको सुनाइन् । सीमान्त गुरु भनिने भरत भण्डारीले आफूले कुनै विद्या नसिकेको तर आफूले छोएपछि कसरी सन्चो हुन्छ भन्ने कुरा आफैलाई थाहा नभएको बताए । उनले यो कुरा आफूले नभई आफूसँग आएका बिरामीले नै बताएको सुनाए । ‘मैले कुप्रचार गरेको छैन तर म सँग आउने बिरामी आफैले सन्चो हुन्छ भनेका हुन् । मैले छोएपछि कसरी हुन्छ मलाई पनि थाहा छैन’ उनले भने ।

भण्डारीले विगत ९/१० महिनाअघि देखी टिकटक लाइभमा सहभागी भई विभिन्न प्रकारको दिर्घरोग, प्यारालाईसिस, नशा सम्बन्धी, छारे रोग, डिप्रेसन, काप्ने, शरीरको जोर्नी दुख्ने, नबोलेका बच्चाहरु बोल्ने, ग्रहदशा, तथा भविष्यवाणी गराउने र सबै भक्तहरु सन्तुष्ट भएको प्रचार गर्दै आएका छन् । उनले हालसम्म सेर्खेतमा ९ दिन बस्दा दुई हजार एक सय बिरामीको उपचार गरेको र ९५ प्रतिशत बिरामी ठिक भएको समेत प्रचार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्