पैसा सापटी दिएपछि बोलचाल हरायो



पैसा सापटी दिएपछि बोलचाल हरायो
पैसा सापटी दिएपछि साथी हरायो

लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमै १० लाख बढीले हेरेका छन्।

आफन्त, नातेदार र साथीभाइले अनेकन बहानामा पैसा सापट लिने र तिर्ने बेलामा हजारौं बहाना बनाएर लापत्ता हुने विषयमा उनले गायिका रचना रिमालका साथ गाएको यो गीतलाई रिलिज भएलगत्तै दर्शक स्रोताले अत्यधिक मन पराएका छन्। आफन्त र साथीभाइलाई सहयोग र उपकार गर्ने क्रममा मानिसहरु कसर आफैँ बर्बाद हुन्छन् र समस्यामा पर्छन् अनि पैसा फिर्ता नगरी उनीहरुले कसरी दुःख दिन्छन् भन्ने विषयमा गाइएको गीतमाथि भिडियो पनि सोहीअनुसार फिल्मी शैलीमा तयार पारिएको छ। गीतमा खासगरी दुई मिल्ने दम्पतीबीच पैसा सापटीका कारण आएको दरारको कथा प्रस्तुत गरिएको छ भने सोही कारण जेलनेलको अवस्थासमेत सिर्जना भएको भिडियोमा देखाइएको छ।

१७ मिनेट लामो भिडियो गायक पंगेनीले आप्mनै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। मानिसको जीवनमा सबैलाई पर्ने यथार्थ घटनामा बनाइएका कारण छोटो समयमै पनि रुचाइएको गीतमा रचना र संगीत पनि गायक पंगेनीकै छ भने संवादसमेत राखिएको गीतको भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। गीतको भिडियोलाई हास्य अभिनेता तथा मोडल सागर लम्साल (बले), पुराना फिल्मकर्मी तथा टिकटक स्टार सन्तोष पौडेल (बटुकजी), अनु रेग्मी, नन्दा बस्याल, भेष केसी, अनुप विष्ट, विजय शर्मा गैरे, अस्मिता श्रेष्ठ, सीता अधिकारी, सेजनी शर्मा, अहान वशिष्ठलगायतले अभिनय गरेर जीवन्त तुल्याएका छन्। भिडियोको छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीले गरेका छन्। गीतमाथि एक मिलियनभन्दा बढी टिकटक बनेको छ।

प्रतिक्रिया दिनुहोस्