गोरखा।
उप-प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले त्रिशूली नदीमाथि रहेको ‘रिभर फन जिपलाइन’मा जिपलाइन गरेका छन् ।
बाह्र वर्ष देखि रिसोर्ट व्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरी निर्माण गरेको जिपलाइनमा आज श्रेष्ठले जिपलाइन गरेका हुन् ।
खेल्नु अगाडि डर लागेजस्तो भए पनि जिपलाइन उडान रोमाञ्चक भएको श्रेष्ठले प्रतिक्रिया दिए । पछिल्लो समय एड्भेन्चर गतिविधिले आन्तरिक पर्यटन प्रवर्द्धनमा निकै सघाएको श्रेष्ठले बताए ।
५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशूली नदी माथि पर्ने कारण झनै साहसिक र रोमाञ्चक रहेको रिभर फन बिच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए । नदी माथिको रोमाञ्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमुना भएको अधिकारी बताउँछन् । रिभर फनमा जिपलाइन खेल्न प्रति व्यक्ति १ हजार र फोटो भिडियोको थप तिन सय लाग्ने बताइएको छ ।
१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए । रिसोर्टमा ९५ मिटर स्काइ रोप साइक्लिङ समेत रहेको छ ।
मिनी जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ रहेको छ ।
जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया