विमानस्थलमा भीमबहादुर रावल र मुख्यमन्त्री रावलबीच जम्काभेट



धनगढी  । 

नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावल र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच जम्काभेट भएको छ। बिहीबार दिउँसो धनगढी विमानस्थलमा रावलद्वयको जम्काभेट भएको हो।

भेटमा नेता रावलले मुख्यमन्त्री रावललाई बधाई दिएका थिए। त्यसपछि मुख्यमन्त्री रावलसँग विश्वासको मत लिनेबारे जिज्ञासा राख्नुभएको थियो। मुख्यमन्त्री रावल बिहीबार काठमाडौँबाट धनगढी आउने क्रममा उहाँहरूको भेट भएको हो। नेता रावलसँग धनगढी विमानस्थलको विशिष्ट कक्षमा उहाँहरूबिच केही कुराकानी पनि भएको थियो। भेटमा नेता रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत कहिले लिँदै हुनुहुन्छ ? भनेर प्रश्न गर्नुभएको थियो। त्यसको प्रतिउत्तरमा मुख्यमन्त्री रावलले गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि विश्वास मत लिने बताउनुभएको थियो ।

यस्तै उहाँले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको कुरा पनि प्रकट गर्नुभएको थियो । गृह जिल्ला अछाम पुगेर श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौँतर्फ फर्किरहनुभएका रावलले मुख्यमन्त्रीसँग आफ्नो जिल्लाका समस्याका बारेमा समेत कुराकानी गर्नुभएको थियो। विशेष गरी उहाँले बाढी पहिरो प्रभावितहरूका लागि राहतको विषयमा केन्द्रित भएर प्रदेश सरकारबाट गर्न सकिने कामका लागि अनुरोध गर्नुभयो।

‘अघिल्लो वर्षको बाढीले अछाममा ठुलो क्षति भएको छ। त्यो क्षतिबारे जानकारी गराएर अघिल्लो सरकारसँग राहतका लागि अनुरोध गरिएको थियो,’ रावलले भन्नुभएको थियो, ‘तर अहिलेसम्म समस्या समाधान गर्न खासै पहल भएको छैन।

तपाई आउनुभएको छ। यो कुरालाई प्राथमिकता दिनुहोला।’जवाफमा मुख्यमन्त्री रावलले बुझेर आवश्यक पहलकदमी लिने बताउनुभएको थियो।नेकपा एमालेबाट २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले विश्वासको मत लिन बाँकी छ। उहाँले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

उहाँ निर्णायक नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर विश्वासको मत लिने मुडमा हुनुहुन्छ। सोही योजनाअनुसार नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रका प्रदेशसभा सदस्यसहित मुख्यमन्त्री रावल काठमाडौँ जानुभएको थियो।त्यस क्रममा रावलले काठमाडौँमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबिच भेटघाट गर्नुभएको थियो। उहाँले नेकपा एमालेका अध्यक्ष लगायत प्रधानमन्त्रीसँग भेट गरेको सचिवालयले जनाएको छ।

भूकम्पको क्षति विवरण माग

यस्तै मुख्यमन्त्री रावलले सुदूरपश्चिम फर्केपछि डिआइजी अशोक सिंहबाट भूकम्पको क्षतिको विवरण माग्नुभएको छ। उहाँले विमानस्थलमै विवरण लिनुभएको हो । उहाँले डिआइजी सिंहलाई भूकम्पको केन्द्रबिन्दु बाजुराको बिच्छ्याको पछिल्लो अवस्था, त्यहाँ प्रहरी पुगे-नपुगेको जानकारी तथा क्षतिको जानकारी लिनुभएको थियो।

डिआइजी सिंहले बिच्छ्यामा केही भौतिक संरचनामा सामान्य क्षति भएको र केही भेडा मरेको तर मानवीय क्षति भने नभएको जानकारी मुख्यमन्त्री रावललाई गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्