नेपालको अधुरो विकास र प्रधानमन्त्रीको प्रतिबद्धता



हाम्रो मुलुकमा कुरा अनि दोषारोपण धेरै हुन्छ तर काम थोरै हुन्छ । यसका धेरै कारणहरु छन् । जस्तै– शिक्षाको कमी, बाबुआमाबाट राम्रो संस्कारमा कमी, सानो सोच अनि मनको विचलन । यस्ता कुरामा हामीले निकै ध्यान पु¥याउनुपर्छ । हामीले कसैलाई दोष नदिई कम गर्दै लैजानुपर्दछ अनि मात्र मुलुक राम्रो हुँदै जाने हो ।

यो देशमा नेताहरु मन्त्री तथा प्रधानमन्त्री हुन एकदम हुरुक्क हुन्छन् तर कुर्सीमा गइसकेपछि यिनीहरु ब्याट्री सिद्धिएको घडीजस्तै भएर जान्छन् । उदाहरणका लागि माथिबाट निर्देशन त दिइराखेका हुन्छन् तर कार्यान्वयन हुँदैन । यसको मुख्य कारण स्वार्थ र अनुशासनहीनता नै मान्न सकिन्छ । यदि शुरुमा नै मन्त्री तथा प्रधानमन्त्रीहरु निःस्वार्थ र कडा भइदिएको भए शायद यस्तो हुँदैननथ्यो होला ।

यो मुलुकमा गलत गर्ने, जनताप्रति बफादार भएर कार्य नगर्ने तथा भ्रष्टाचारमा लुब्ध हुनेहरुलाई हायर एन्ड फायर गर्नुका साथै सजायको भागीदार बनाउनुपर्दछ । यदि यति कार्य पनि मन्त्री, प्रधानमन्त्रीले गर्न सक्दैनन् भने उनीहरु सरकारी कुर्सीमा बस्नलायक छैनन् । जसलाई अर्को शब्दमा नालायक भनिन्छ । तर अब यस्तो नहोला भन्ने आशा गरौं । वर्तमान प्रधानमन्त्रीले द्रुत विकासका कुरालाई लिएर जनतालाई जुन आश्वासन दिइराखेका छन्, त्यो भने हेर्न बाँकी नै छ ।

अहिलेको परिप्रेक्ष्यमा थाती रहेका अधुरा पूर्वाधार विकासका लागि सरकार अग्रसर हुनु जरुरी छ । गाउँ–गाउँका खोलामा पुल, तराईका खोलामा बाँध निर्माण अनि विभिन्न राजमार्गहरुको निर्माण अझै अधुरो रहेको देख्न सकिन्छ । यी कुराहरुले अझै गति लिन सकिराखेका छैनन् । हाम्रो मुलुकमा पहाडी भागहरु धेरै छन् । त्यस कारणले गर्दा प्रायः पहाडी भागमा एक ठाउँबाट अर्को ठाउँमा जाँदा समय लाग्ने र मानिसहरुलाई कष्ट हुने कारणले गर्दा थप पुलहरु निर्माण हुनु जरुरी छ । प्रायः गाउँमा अझै पुलको कमीले गर्दा मानिसहरु तुइन प्रयोग गर्न बाध्य छन् । गाउँले तथा पहाडियाहरुको जीवन तुइनमा झुन्डिई वारपार गर्दा बितेको छ । कतिपय तुइनबाट खसेर इहलीला नै समाप्त भएका घटना पनि छन् । पूर्वप्रधानमन्त्रीहरुले यसमा जोड दिएका पनि थिए, कतै केही समस्या समाधान भयो पनि होला । पहाडी भागहरुमा केही पुलको निर्माण भयो पनि होला । तर समग्रमा तुइन समस्या निर्मूल हुन सकेको छैन । त्यसकारण देशमा भएको राष्ट्रधनलाई ठप्प पारिराख्नुभन्दा यो क्षेत्रमा पनि रकम खन्याउनु बेस हुन्छजस्तो लाग्छ ।

अब तराईमा बाँधहरुको कुरा गर्ने हो भने सरकारले यो क्षेत्रमा पनि मानिसहरुको कष्टकर जीवनलाई हेरी रकम खर्च गर्नु जरुरी छ । कारण तराईको ठाउँ–ठाउँमा सरकारले बाँध बनाइदिने हो भने यहाँका जनताको वर्षातको समयमा डुबानले गर्दा बेहाल हुँदैनथियो । यी कुराहरुमा तराईका प्रदेश सरकारहरु अब समस्यालाई कसरी हल गर्ने भन्ने कुरामा तातिनुपर्दछ । यस्ता कुराका लागि रकममा कन्जुसी नगरी अघि बढ्नुपर्दछ । चाहिएको खण्डमा केन्द्रीय सरकारको सहयोग लिनुपर्दछ ।

हामी प्रायः नेपालका पहाडी भागका वृत्तचित्रहरु हेर्ने गर्छौं, ती ठाउँहरुमा अझै पनि कतिपय पहाडी भागका राजमार्गहरु जीर्ण अवस्थामा परिराखेको हामी देख्छौं तर यस्ता राजमार्गहरु बनाउन हामीसँग रकम हुँदा पनि सरकार तथा सम्बन्धित निकायहरु यसतर्फ सुस्त देखिराखेको हामी पाउँछौं । एक हिसाबले भन्ने हो भने फलपूmल तथा कृषि व्यवसायलाई फस्टाउन दिनमा नयाँ राजमार्गहरुले एकदम टेबा दिने गर्दछ । सरकारले यी कुराहरुमा लगानी गरिदिनु नै एक हिसाबले मुलुकको द्रुत विकास हुनु हो ।

वास्तवमा भन्ने हो भने मुलुकमा पहिलाको हेरी प्रायः सबै कुरामा विकास भई पनि राखेको छ, खाली मानिसहरुको आफ्नो सोचाइ फरक मात्र हो । एउटा यो कुराचाहिँ सही हो कि जनताका लागि सस्तो, सुलभ जीवनयापन र सुविधाको हिसाबले हामी अलि पछि परिराखेका छौं । यो पनि समयले ठीक गर्दै लैजानेछ, खाली हामीले स्वार्थ, अल्छीपना, सानो सोचलाई परिवर्तन गर्नु जरुरी छ । अन्यथा यो देशमा पुल, बाँध, अधुरा राजमार्गको पनि विकास भइसक्थ्यो होला ।

अब भने देशमा नयाँ सरकार, नयाँ अनुहार र कम उमेरका व्यक्तिहरुले देश चलाउने अवस्था आएको छ । आशा गरौं, यिनीहरुले पनि नयाँ सोच र सरसल्लाह गरी अघि बढ्नुपर्दछ, सिर्फ यति मात्र हो कि यी कुराहरुका लागि व्यक्ति, समाज, सम्बन्धित निकायको पनि समन्वय हुनुपर्दछ ।

अन्त्यमा एउटा के उल्लेख गर्न चाहन्छु भने, जिन्दगीभर नै भागवण्डाको खेलमा अल्झिरहनुभन्दा देशमा रहेका राम्रा बुद्धिजीवी र क्षमता भएका युवापुस्ताहरुबाट सरकारले फाइदा लिन सक्नुपर्दछ । यसका लागि साम, दाम, दण्ड, भेद सबै गर्न तयार हुनुपर्दछ सरकार । नेपालको अधुरो विकासलाई पूरा गर्न प्रधानमन्त्रीले पनि प्रतिबद्धताका साथ कार्य गर्नुपर्छ भने अरु सबैले अहिलेको सरकारलाई सहयोग गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्