राजनीतिमा इमानदारिताको खडेरी



काठमाडौं क्षेत्र नम्बर ४ का जनतालाई नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले योचोटि पनि नराम्ररी बेकुफ बनाए । ‘मलाई चुनाव जिताएर पठाउनुस्, म देशको प्रधानमन्त्री हुन्छु’ भनेर भोट माग्ने उनी नै हुन् । तर, संसदीय दलको नेता त चुनिन सकेनन् ।

जनतालाई भुङ्ग्रामा राखेर गगन आफू सांसद बने । उनीसँग नैतिकता छ भने उनले तत्काल काठमाडौं क्षेत्र नम्बर ४ का जनतासँग माफी माग्नुपर्छ । उनीसँग नैतिकता भन्ने चीज नै छैन । नैतिकता नै नभएको व्यक्तिले के जनतासँग माफी माग्छन्, के पद छोड्छन् ? २०६४ सालमा मनोनीत सांसद भएको व्यक्ति त्यसपछि निरन्तर चुनाव जित्दै आएका छन् । उनलाई काठमाडौं क्षेत्र नम्बर ४ कै जनताले भोट दिएर पदमा पु¥याए । तर, बदलामा जनताले के पाए ? उनी पटक–पटक सांसद भए तर एउटा सिन्कोसमेत भाँचेनन् ।

उनको क्षेत्र कुनै दुर्गम जिल्लाभन्दा कम छैन । न विकास छ, न सद्दे बाटोघाटो । बर्खामा घरभित्रै खोलो पस्छ । हिलम्मे र धुलाम्मे बाटो त जनताका लागि नौलो कुरा रहेन । गुठी, सरकारी, सार्वजनिक सबै जग्गा व्यक्तिको नाममा गइसकेको छ । खोजतलास गर्न उनले चासोसमेत देखाउँदैनन् । हरेक चुनावमा नयाँ बहाना बनाउने, जनता फसाउन एकएकवटा पासो फ्याँक्ने अनि पदमा पुगिरहने । योचोटिको चुनावमा प्रधानमन्त्री बन्छु भनेर घरघर पुगी जनतालाई भोट मागे । जनताले गरिखाऊ भनेर भोट दिए तर संसदीय दलमै निर्वाचित हुन सकेनन् ।

प्रधानमन्त्रीको त कुरै छोडौं । यस क्षेत्रका जनताको मत २०७० सालदेखि खेर गइरहेको छ । बेकारमा भोट हाल्नुमात्र भइरहेको छ । दिनभर लाइन बसेर भोट हाल्नु फोगट्टे भएको छ । काठमाडौं क्षेत्र नम्बर ४ राजधानीको मुटुमा पर्छ । तर, यहाँको विकास हे¥यो भने जुम्ला, हुम्लाजस्तै देखिन्छ । बर्खामा कपनमा बसी नसक्नु हुन्छ । घरभित्र खोलो पसेर जनताको रुवाबासी हुन्छ । हिजो खोलाको जग्गा मिचेर कमिसन खाँदै घर बनाउन दिए । अहिले त्यसको असर सबैले भोग्नुपरेको छ ।

गगनले अहिलेसम्म जनतालाई कतिचोटि ढाँटे ? यसको लेखाजोखा गरिसाध्य छैन । विद्यार्थी नेता हुँदादेखि नै उनले असम्भव कुराहरु पनि भन्ने गर्थे । भाषामा समेत नरमपना देखिँदैन । भाषामा सभ्यता, नम्रता भन्ने चीज नै छैन । यस्तो व्यक्ति कसरी नेता बने ? नेतामा हुनुपर्ने गुण हुन जरुरी छ ।

यस्तै हुँदा देश विकास हुन नसकेको हो । नेपालमा भएका घटनाहरु अमेरिकाको कानसम्म पु¥याउने श्रेय यिनैलाई जान्छ । अमेरिकी परियोजना एमसीसी पनि गगनकै पहलमा पारित भयो । एमसीसीको विरोधमा त्यत्रो आन्दोलन हुँदा पनि गगनले एमसीसी पास गर्न जोडबल गरेका थिए । उनले संसद्मा उभिएर बोलेका थिए, ‘अमेरिकी सेनाले नेपालमा कब्जा ग¥यो भने मलाई चारपाटे मुडेर थानकोट कटाइदिनुस् ।’

थानकोटसम्म मात्र नेपालको भूमि छ ? नेपालमा ७७ जिल्ला छन् तर उनलाई थाहा नै रहनेछ । उनले काठमाडौं उपत्यकालाई मात्र नेपालको नाम दिएका छैनन् । जसले मुलुकमा कति जिल्ला छन् भन्ने थाहा छैन्, ऊ नेता बन्न सक्छ ? उनीसँग नेता बन्ने क्षमता छैन भन्ने त यहीँबाट स्पष्ट भइसकेको छ । गगन स्वास्थ्यमन्त्रीसमेत भए । तर, स्वास्थ्य क्षेत्रमा के नै उपलब्धि भयो ? स्वास्थ्य क्षेत्र सुधारमा उनले अलिकति पनि चासो देखाएनन् । बरु सरुवा–बढुवा गरेर सम्पत्ति जोड्ने काम उनीबाट भयो । त्यस्तै, स्वास्थ्य सामग्री खरिदमा समेत उनले व्यापारीसँग कमिसन खाए ।

गगनको सम्पत्ति कति छ ? कसले खोज्ने ? सरकारले खोजीनीतिमा चासो देखाउँदैन । यत्रो सम्पत्ति कहाँबाट आयो ? उनको विदेशी र नेपाली बैंकमा करोडौं रकम भएको र थुप्रै स्थानमा घरजग्गा भएको सर्वसाधारणको भनाइ छ । मुलुकको राजनीतिक परिवर्तन गर्दासमेत गगनको कुनै योगदान छैन । न उनले कुटाइ खाएका छन्, न जेल नै बसे ।२०६४ सालअघि उनलाई कसैले पनि चिन्दैनथ्यो । त्यसपछि उनले मिडियालाई आफ्नो हतियार बनाए । २०६४ सालपछि सञ्चार क्षेत्रमा ह्वात्तै विकास भयो । अनलाइन, टेलिभिजन, पत्रपत्रिका र रेडियो खुल्ने क्रम बढ्यो, जसलाई उनले भ¥याङ बनाए । लेख लेखेर हुन्छ कि अन्तरवार्ता दिएर । जहाँ पनि पुगिहाल्थे । सामाजिक सञ्जालमा छिन्छिन्मा स्टाटस हालिरहन्थे । तर, सञ्चारकर्मीहरुले पनि यस्तालाई नै ठाउँ दिए । जसले हाउडे गफ दिन्छन्, उसैको पछाडि दौडिए सञ्चारकर्मी ।

दुर्गम जिल्लाबाट आएको सांसदबाट जनताले धेरै कुरा सिक्न पाउँथे होला नि ? उसले सांसद बन्न कति दुःख र कति हैरानी खेप्नुपर्ने हुन्छ ? यो कथाव्यथा त झनै राम्रो हुन्थ्यो होला नि ? तर, मिडियाले त्यसो गरेनन् । दुर्गम क्षेत्रबाट आएकालाई बोल्नेसमेत मौका दिएनन् । बरु गगन थापाजस्तो व्यक्तिको अघिपछि गरे ।

गगनको क्षमता त जनताले पटक–पटक देखिसकेका छन् । अझै पनि मिडियाले उनको गुनगान गाउनु भनेको जनता र मुलुकमाथिको घात हो । यस्तो व्यक्तिले देशको विकास गर्छ भनेर कलम चलाउनु जनतामाथि भ्रम छर्नु हो । उनलाई ‘युवा नेता’ भनिने गरिएको छ । २०१७, २०३६, २०४६, २०६२–६३ को आन्दोलनमा उनी कहाँ थिए ? यसको पृष्ठभूमि त मिडियाले केलाउनुप¥यो नि । हावादारीको भरमा गगन यस्तोउस्तो भनेर लेख्न मिल्छ ?कांग्रेसमा धेरै दुःख गरेका व्यक्तिहरु अझै पनि पछाडि परेका छन् । भर्खरै पलाएकोले म प्रधानमन्त्री खान्छु भनेर पाइन्छ ? राजनीतिक परिवर्तनको क्रममा पटक–पटक टाउको फुटेका नेताहरुले पालो पाएका छैनन् । संघर्ष गरेकाहरु कति वर्षदेखि लाइनमा उभिएका छन् । अनि काम केही नगर्ने, भाषणमात्र गर्नेले मलाई यो पद चाहियो भनेर पाउँछन् ?

मिडियाले नेता बनाउने हो ? २०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु ग¥यो । राजतन्त्र फ्याँक्ने र जनताको सरकार बनाउने भनेर माओवादी आन्दोलनमा उत्रिँदा गगन क्याम्पसमा रमाएर हिँडेका थिए । त्यतिखेरको आन्दोलनमा १७ हजार नेपालीले ज्यान गुमाएका छन् । कतिपयले छोराछोरी गुमाए कतिपयको वंश नै सखाप भयो । जिन्दगी बन्दुक नदेखेकाले राजनीतिक परिवर्तनका लागि बन्दुक उठाए ।

आफ्ना छोराछोरी, बुबाआमाको बलिदान गरे । १७ हजार शहीद भएर राजतन्त्र फ्याँक्नु सानो कुरा होइन । तर, यसको फाइदा गगन थापा, रवि लामिछानेजस्ताले उठाए । हिजो शहीद भएकाको आफन्तको हालत कसैले देखेको छ ? उनीहरु आज पनि भोका पेट हिँडिरहेका छन् । जागिर खान सकेका छैनन् । तिनका छोराछोरी अझै पनि शिक्षाबाट वञ्चित छन् । राजतन्त्र फ्याँकेको यही भएर हो ? शहीद भएकाको परिवारको अवस्था कस्तो छ ? कुन मिडियाले खोतल्छ ? उनीहरुको आर्थिक अवस्था कस्तो छ ? तिनका छोराछोरीले स्वास्थ्य, शिक्षा पाएका छन् कि छैनन् ? यो विषय कसैले बाहिर ल्याउँदैन । तर, गगनको अन्तर्वार्ता लिने भन्नेबित्तिकै क्यामरा तेस्र्याइहाल्छन् । कांग्रेसले सत्ता गुमाउनुमा गगनको ठूलो हात छ ।

माओवादी र देउवा पक्षकालाई भोट नदिने भनेर उनले अभियान नै चलाएका थिए । संसदीय दलको चुनाव हारेपछि गगनले माओवादीलाई कुनै पनि हालतमा सत्ता नदिने भनेर पार्टीका सभापति शेरबहादुर देउवालाई दबाब दिए । अँध्यारो कोठामा सम्झौता नगर्नु, माओवादीलाई कुनै पनि पद नदिनु भन्ने त गगन नै हुन् । उनको दबाबमा परेर देउवाले माओवादीलाई पद दिन चाहेनन् । जसका कारण माओवादीले नेकपा एमालेसँग गएर सम्झौता गरे । अहिले देउवामाथि हिलो छ्यापेर गगनले आफ्नो लागि ठाउँ फराकिलो बनाए । यस्तै हो भने कांग्रेसको पत्तासाफ हुन्छ । देउवाले अझै पनि ढिलो गर्ने हो भने कांग्रेस तहसनहस हुन्छ ।
– रुसा केसी

प्रतिक्रिया दिनुहोस्