अबको कोरोना भेरियन्ट्सलाई कम नसोचौं



चीनमा कोरोना बढ्न लागेको समाचार आइरहेको छ । यसको असर फेरि नेपालमा भयावहरुपमा नपर्ला भन्न सकिन्नछ । त्यसका लागि अहिलेदेखि नै सतर्कता अपनाउन जरुरी छ । यहाँ जतासुकै विनामास्क भीड गरेको देखिएको छ । उपत्यकामा सञ्चालित कालिमाटी तरकारी वा फलफूल बजारमा एकचोटिमा ४ देखि ५ सयको संख्यामा उपभोक्ताहरु हुन्छन् ।

तीनकुने, बल्खु र धुम्बाराहीमा अवस्थित तरकारी बजारमा पनि खरिदबिक्री कर्ताको निकै भीड देखिन्छ । सो क्षेत्रमा तरकारी किन्न आउनेदेखि लिएर बेच्नेको मुखमा मास्क छैन ।यता, सामान लोड–अनलोड गर्ने मजदुरहरुले पनि मुखमा मास्क लगाएका छैनन् । कालिमाटीबाट तरकारी किनेर आफ्नो पसलमा लानेहरुले कुनै स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन । कोरोनाले यत्रो विकराल रुप लिइसक्दा पनि सबैलाई एउटा सामान्य मास्क लगाउनसमेत धो–धौ परेको छ ।

यी तरकारी बजारहरु कोरोना उत्पादन गर्ने कलकारखानाजस्ता हुन् । सरकारले विज्ञप्ति त जारी गरेको छ तर फितलो अनुगमनका कारण सबैले आफ्नो मनोमानी चलाएका छन् । भीडभाड गरेर तरकारी बेचिरहेका तरकारी बजारहरुमा भीड घट्लाभन्दा बढेको छ । सरकारले यी बजारहरु बन्द गर्न ढिलो ग¥यो भने कोरोनाले भव्य रुप लिने निश्चित देखिएको छ ।

शहर बजारमा सञ्चालित तरकारी बजारहरुमा भीड नियन्त्रण गर्ने उपायहरु अवलम्बन गर्न ढिला भइसकेको छ । अर्को, कोरोना फैलाउने कारखाना कपाल काट्ने र फेसियल गर्ने सैलुन पनि हो । यहाँ पनि सुरक्षाका उपाय अपनाउनु जरुरी छ । यता, ब्युटिपार्लर, कबाडी संकलन गर्ने, ठेलागाडा व्यवसायी, हार्डवेयर पसलहरु, ड्राइभिङ सेन्टर, सवारी मर्मत गर्ने वर्कसप र अन्य व्यापार व्यवसायीहरु पनि कोरोना उत्पादन गर्ने कारखाना बनेका छन् । त्यस्तै, अन्य पसललाई पनि सुरक्षाका उपाय अवलम्बन गर्न लगाउनु जरुरी छ ।

अहिलेदेखि नै कोरोना महामारी नेपालमा भित्रिन नदिन विमानस्थलसहित मुलुकका सबै नाकाहरुमा कडाइ गर्नु सरकारको कर्तव्य हो । चीनमा ३ करोड मानिसमा नयाँ कोरोना भेरियन्ट्स देखिइसकेको समाचार छ । यो कोरोना भेरियन्ट्सलाई कम नसोचौं । यो नेपालमा आइपुग्यो भने तहल्का मच्चाउनेछ । त्यसैले समयदेखि नै सतर्क हुनु जरुरी छ ।
– रमेश चालिसे, ललितपुर ।

प्रतिक्रिया दिनुहोस्