सांसदको कार्य प्रारम्भअघि किसुनजीको सम्झना



काठमाडौँ ।

नेपाली काँग्रेसका सांसदहरूले सन्त नेता कृष्णप्रसाद भट्टराइलाई सम्झिएर आगामी पाँच वर्षको कार्यकाल थालनी गरेका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम सांसदहरु सपना राज भण्डारी,कुसुम थापामगर र सीता मिजारले सांसदको जिम्मेवारी सम्हाल्नुअघि भट्टराईको शालिकमा माल्यार्पण गर्नुभयो ।

नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गरेर सांसदको कार्यकालको थालनी गरेको सांसद गौतमले बताउनुभयो । गौतम सहित प्रतिनिधिसभा सदस्यहरु सपना राज भण्डारी,कुसुम थापामगर र सीता मिजार बिहीबार संसद् सचिवालयमा सांसदको शपथ लिएर भट्टराईको शलिकमा माल्यार्पण गर्न ललितपुरस्थित बाडेंगाउँ पुग्नुभएको थियो ।

शन्त नेता भट्टराईको राजनीतिक निष्ठा र आदर्शलाई सम्झेर आगामी पाँच वर्षे कार्यकाल सुरु गरेका सांसदहरूले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । किसुनजीको राजनीतिक निष्ठा र आदर्शलाई मान्ने र जनताको सेवामा सधै समर्पित हुने हाम्रो लक्ष हो’, सांसद गौतमले भन्नुभयो, ‘हामी सांसदको शपथ लिनासाथ स्व. नेता किसुनजीको सम्झनामा उहाँको शालिकमा पुगेर, उहाँलाई सम्झिएर पाँच वर्षे सांसदको कार्यकाल सुरु गरेका छौं ।’

पछिल्लो समयमा निष्ठाको राजनीतिक हराउँदै गएको भन्दै गौतमले भट्टराईको प्रेरणा र आदर्शलाई मान्दै उहाँले देखाउनुभएको बाटोमा नेपाली राजनीतिलाई लैजाने शक्ति सबैमा प्राप्त हुनुपर्ने बताउनुभयो । स्व कृष्णप्रसाद भट्टराईलाई सम्झेर कामको थालनी गर्दा राजनीतिक मूल्य मान्यता र अदर्शलाई कायम राख्न सकिने र जनताको सेवक भएर काम गर्ने शक्ति प्रदान हुने त्याहा पुगेका काँग्रेसका सांसदहरूले विश्वास व्यक्त गरेका छन् ।

२०१५ सालमा ३४ वर्षकै उमेरमा प्रथम जन निर्वाचित संसदको सभामुख हुनुभएका स्व. भट्टराईले २०४६ सालमा पञ्चायत ढलेर बहुदल आएपछि अन्तरिम सरकारका प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँकै पालामा २०४७ सालको संविधान आयो जसले त्यति बेलाका शक्तिशाली राजालाई संवैधानिक दायरामा ल्याएको थियो । बाडेगाउँस्थित किसुनजी निवासलाई नेपाली कांग्रेसको राजनीतिमा लागेका नेता कार्यकर्ताहरूले राजनीतिक तीर्थको रुपमा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्