सुदूरपश्चिममा १ सय ९ उम्मेदवारको धरौटी जफत

महिलाभन्दा पुरुषको डबल प्रतिनिधित्व



 धनगढी।

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी समक्ष प्रदेशसभा सदस्य निर्वाचन परिणाम प्रतिवेदन पेस गरेको छ। शनिबार निर्वाचन आयोगकी आयुक्त डाक्टर जानकी तुलाधरको नेतृत्वको आयोगको टोलीले प्रदेश प्रमुख जोशीलाई प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन पेस गरेको हो।

आयुक्त तुलाधरले प्रदेशसभातर्फको निर्वाचनको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले जानकारी दिनुभयो। निर्वाचन आयोग प्रतिवेदन बुझाएसँगै अब निर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण, प्रदेश सरकार गठन लगायतका प्रक्रिया अघि बढ्ने भट्टले बताउनुभयो।

प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा समानुपातिकतर्फका २१ समेत गरेर ५३ जना प्रदेशसभा सदस्यहरु निर्वाचित हुनुभएको छ। संविधानअनुसार निर्वाचन आयोगले अन्तिम मत परिणाम बुझाएको २० दिनभित्र प्रदेशसभाको बैठक आह्वान गर्नुपर्ने हुन्छ।
बैठक आह्वान गर्न पूर्व ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु हुनेछ। ज्येष्ठ सदस्यद्वारा अन्य निर्वाचित प्रदेशसभा सदस्यहरुलाई  पनि शपथ खुवाइन्छ। सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले प्रदेशसभाका बैठकको अध्यक्षता ग्रहण र सञ्चालन गर्ने संवैधानिक व्यवस्था पनि रहेको छ।

६६ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला

मंसिर ४ मा भएको निर्वाचनबाट सुदूरपश्चिममा ६६ दशमलव ०३ प्रतिशत (३५ जना) पुरुष र ३३ दशमलव ९७ प्रतिशत (१८ जना) महिला निर्वाचित हुनुभएको छ। प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ३२ जना र समानुपातिक तर्फ २१ जना निर्वाचित भएको यस प्रदेशसभामा ६ राजनीतिक दलको प्रतिनिधित्व भएको छ।

आयोगका अनुसार सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९ जना, एमाले १० जना, माओवादी केन्द्र ११ जना, नागरिक उन्मुक्ति ७ जना, नेकपा एस ४ जना, राप्रपा १ जना र स्वतन्त्र १ जना सदस्य निर्वाचित हुनुभएको छ। प्रदेशसभा निर्वाचनमा भाग लिएका दलमध्ये यस प्रदेशमा २८ राजनीतिक दलका १ सय ९ जना उम्मेदवारको धरौटी जफत भएको बताइएको छ।

यस्तै सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता रहेकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नौ लाख ५८ हजार ८४५ (५७.८३ प्रतिशतले) ले मतदान गनुभएकोमा नौ लाख १३ हजार ८७८ अर्थात् ९५.३१ प्रतिशत मत सदर भएको थियो। त्यसमध्ये ४४ हजार ९६७ अर्थात् ४.६९ प्रतिशत मत बदर भएको थियो।

यस्तै समानुपातिकतर्फ नौ लाख ५७ हजार २६९ (५७.७४ प्रतिशत) ले मतदान गरेकोमा आठ लाख ९६ हजार ३५९ (९३.६४ प्रतिशत) मत सदर भएको थियो। समानुपातिकमा ६० हजार ८७४ अर्थात् ६.३६ प्रतिशत मत बदर भएको थियो।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्