रुपन्देहीका शैक्षिक संस्था देशकै उत्कृष्ट  : पूर्वअर्थमन्त्री पौडेल



बुटवल।

रुपन्देहीका सामुदायिक विद्यालयहरूले आफ्नो शैक्षिक कार्यक्रमहरूलाई देशकै उत्कृष्ट नमूना प्रस्तुत गरेको पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताउनु भएको छ ।उहाँले आगामी दिनहरुमा देशको शैक्षिक गतिविधिमा रुपन्देहीले नेतृत्व लिन सक्ने क्षमता विकास गर्दै लाने निश्वास व्यक्त गर्नु भयो ।

कान्ति माध्यमिक विद्यालय बुटवलको ६९ ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ को अवसरमा बोल्दै पौडेलले देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने क्षमता विकास गरेको भन्दै खुसी व्यक्त गर्नु भयो ।

रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास , विकास तथा सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो ।

रुपन्देहीको बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिएको यस कान्ति माध्यमिक विद्यालयले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरूको पठन पाठनलाई ध्यान दिँदै बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्नका लागि अगाडि बढ्नु पर्ने यसका लागि आफूहरू सधैँ तयार रहेको कुरा कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयहरुलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रुपमा विकास गर्दै लैजाने ध्येयका उप महानगरपालिकाले कार्यक्रम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्राचार्यहरु, रुपन्देही जिल्लामा सक्रिय रहेका सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका समाजसेवी, अभिभावकहरू, विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्