भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुस् : प्रधानमन्त्री देउवा

0
Shares

काठमाडौं । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहलाई भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्न निर्देशन दिनुभएको छ । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहबाटै भ्रष्टाचार शून्य बनाउन लागि पर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताउँदै उहाँले स्थानीय तहको क्षमता विकास भए मात्रै नागरिकले सहज र सरल सेवा पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘स्थानीय तह भनेको स्थानीय सरकार नै हो, त्यसकारण स्थानीय सरकार आफैंमा व्यवस्थित र क्षमतावान हुनुपर्छ ।

अनि मात्रै जनताले सरल र सहज रूपमा सेवा पाउनेछन् ।’ उहाँले स्थानीय तहको क्षमता विकासका लागि गाउँपालिका राष्ट्रिय महासंघलाई सहजीकरण गर्नुपर्ने र हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले सहज रूपमा शिक्षा, स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तक्रिया हुन आवश्यक रहेको बताउनुभयो ।

जनतालाई विना झन्जट र बिना ढिलासुस्ती सेवा दिने कुरामा स्थानीय तहहरू कहीँ चुक्नु नहुने भन्दै उहाँले सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अबलम्बन गर्न सबै स्थानीय सरकारलाई आग्रह पनि गर्नुभयो ।