नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई प्रदेश सरकारको सम्मान



पोखरा।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता ३ सय २५ जना खेलाडीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । असोज र कात्तिकमा गण्डकी प्रदेशमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीको प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्ले नगद, सम्मान पत्र र डाइट सहित सम्मान गरेको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्कडीले कुल १२१ पदक हासिल गरेको थियो । जसमध्ये ३२ स्वर्ण, ३१ रजत र ५८ कास्य पदक रहेका छन् । गण्डकी समग्रमा चौथो स्थानमा रहेपनि प्रदेशहरुमा भने प्रथम रह्यो ।

गण्डकीमा आयोजना भएको प्रतियोगितामा कुल ३६ खेल समावेश थिए । उक्त खेलमध्ये गण्डकीले २८ खेलमा पदक हासिल गरेको हो । जसमध्ये ७२ खेलाडीले स्वर्ण, ९२ खेलाडीले रजत तथा १६१ जना खेलाडीले कास्य पदक हासिल गरेका थिए ।

परिषदले एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार रुपियाँ प्रदान गरेको छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार, रजततर्फ ६ हजार र काश्य पदक विजेतालाई ४ हजार रुपियाँ प्रदान गरेको छ ।

त्यसै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश: १० हजार, ८ हजार र ६ हजार, व्यवस्थापकलाई ८ हजार, ६ हजार र ४ हजार प्रदान गरेको छ भने खेल संघहरु स्वर्ण पदक विजेतालाई नगद ४० हजार, रजत पदक विजेतालाई नगद ३० हजार र कास्य पदक विजेता संघलाई नगद २० हजार प्रदान गरेको हो ।

त्यसै गरी नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरीकी जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरेको छ । खेलाडी सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले गण्डकीले इतिहास रचेको बताए । उनले गण्डकीले पहिलो पटक पदकमा बागमती प्रदेशलाई हराएको सुनाए ।

गण्डकी प्रदेश खेलकुद परिषद्का निर्वतमान सदस्य सचिव तेज गुरुङले नेपालमै पहिलो पटक गण्डकीले खेल विज्ञान भित्र्याउन सफल भएको बताए । उनले अब दशौंको तयारीका लागि लाग्नु पर्ने बताए । उनले नवौंको साख दशौंमा समेत जोगाउनुपर्ने उनको भनाइ छ । उनले ४२ वर्षमा पहिलो पटक गण्डकीले इतिहास कायम गरेको बताए ।

नवौं राष्ट्रि खेलकुदमा कुल ३ सय ७१ स्वर्ण सहित आर्मी च्याम्पियन बन्न सफल भएको थियो । आर्मीले १७२ स्वर्ण, ११० रजत थता ८९ कास्य हासिल गरेको थियो । एपिएफ २ सय १९ पदक सहित दोस्रो स्थानमा रहेको थियो । एपिएफले ६५ स्वर्ण, ७२ रजत तथा ८२ कास्य हासिल गरेको हो ।

यस्तै नेपाल पुलिस क्लब १ सय ९५ पदक सहित तेस्रो स्थानमा रह्यो । पुलिसले ६१ स्वर्ण, ६१ रजत थता ७३ कास्य ल्याएको थियो । बागमति १ सय ४५ पदक सहित पाँचौ स्थानमा रहेको थियो । बागमतिले २४ स्वर्ण, ४७ रजत तथा ७४ कास्य ल्याएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्