ब्रुसबाङका चेपाङलाई चुनावमा आश्वासनको पोकैपोका



धादिङ । 

ब्रुसबाङ दक्षिणी धादिङको मानिस बसोबास भएको सबैभन्दा उच्च भागका रूपमा चिनिन्छ । यहाँ चेपाङ समुदायको मात्र ३३ घर रहेको छ ।
हरेकपटकका चुनावमा उम्मेदवारहरू ब्रुसबाङ पुग्नै सक्दैनन् । अलि तल भञ्ज्याङमा चेपाङहरूलाई बोलाउने र आफ्नो कुरा सुनाएर आफूलाई भोट माग्छन् । आफूहरूलाई दिए अर्को वर्ष चेपाङहरू धनी पार्ने कार्यक्रम ल्याउने कुरा सुनाउने भाषण गर्छन् । गाउँमा विकास गर्छु भन्नेहरू चुनाव सकिएपछि गाउँ क्षेत्रमा पुग्दै पुग्दैनन् । चुनावको समयमा दिइएको फोन नम्बर चुनाव सकिएपछि लाग्दै नलाग्ने बनाइएकाले फोनसमेत गर्न नसकेको गाउँबासीको गुनासो छ ।

२०४८ मा जे समस्या थियो अहिले पनि उस्तै छ । ब्रुसबाङका वस्तुले पनि पालो गरेर दुई तीन दिनमा मात्र पानी खान पाउँछन् । १२ वर्ष पहिले गाउँमा पानी ल्याउनका लागि जिल्ला विकास समितिले गरेको सर्बेअनुसार ४५ लाख रुपियाँ लाग्छ । तर, १५ लाख रुपियाँभन्दा बढी रकम गाउँमा अनुदान नआएकाले पानी लिफ्ट गर्न सकिएन । गाउँबाट तीन घण्टा तल कुवामा पुगेर मात्र तिर्खा मेटिने गरी पानी खान पाइने अवस्थामा अहिले पनि सुधार नभएपछि गाउँबासी भोट दिनका लागि जाने चाहना नै मरिसकेको सोमबहादुर चेपाङको भनाइ छ ।

२० वर्षअघि समाचार लेख्न ब्रुसबाङ पुग्दा चरम गरिबीको शिकार भएका चेपाङ समुदायको पीडा सुनाउँदा धेरैका आँसु रसाएका थिए । अहिले व्यवस्था परिवर्तन भए पनि पनि चेपाङहरूको अवस्था परिवर्तन भएको छैन । समयले कोल्टे फे¥यो । देशमा गणतन्त्र आयो । नयाँ संविधानसभाले संविधान बनायो । आमूल परिवर्तन भयो भनिएको चेपाङले भने अहिले पनि त्यस्तै समस्या भोगिरहेको सन्तबहादुर चेपाङको भनाइ छ ।

हरेक चुनावमा आउने आश्वासनको पोको सुनेर सपनामा विकास देखेका तर विपनामा आधा पेट खाएर वा भोकै अभावमा बाँच्नुपरेको पीडा कहिल्यै समाधान भएको छैन । यस वर्ष पनि पुराना नेता भोट माग्न गाउँ आए अनि भने– ‘गाउँको विकास हामी गर्छौं भोट दिनुपर्छ ।’ भोट मागेर केही चेपाङसँग फोटो पनि खिचाए । यसअघिका वाचा पूरा नभएको गुनासोका बारेमा नेताहरूले एक शब्द पनि बोल्न सकेनन् ।

चेपाङ समुदायले दुःख पाए, पानी खान पाएनन्, भोकै छन् वा सिस्नो खोले खाएर जीवन धानिरहेका छन् भन्ने समाचार लेख्दा धादिङका नेताहरू पत्रकारहरूमाथि खनिन्थे । मैले लेखेको समाचारमाथि पटकपटक हालका मुख्यमन्त्री तथा ३६ वर्षदेखि चुनाव लड्दै आएका राजेन्द्रप्रसाद पाण्डे विज्ञप्ति नै निकालेर खण्डन गर्नुहुन्थ्यो । चेपाङ समुदायका लागि आफू पदमा पुगेपछि धेरै काम भएको बताउने र आफ्नो विपक्षमा लाग्नेहरूलाई धम्की दिने गर्नुहुन्थ्यो ।

त्यतिखेर राजनीतिमा चम्किएर गाउँतिर जान छाडिसकेका नेता थिए पाण्डे । धादिङ हामीले बनाएका हौँ भनेर भाषण गरेको धेरै सुनियो । ती चेपाङहरू नेताका भाषणमा ताली बजाए । कार्यक्रम सकिएपछि ती चेपाङका मागको लामो लिस्ट हुन्थ्यो– ‘पेटभर खाने व्यवस्था गर्नुप¥यो, खानेपानी छैन, विद्यालय जानका लागि लुगा छैन । विद्यालयमा पढ्नका लागि खर्च लाग्छ । पैसा छैन ।’

ब्रुसबाङमा प्रयास नेपाल, फोकस नेपाल, शान्ति नेपाललगायतका संघसंस्थाले करोडौं खर्च गरिसकेको बताएका छन् । तत्कालीन जिविस र चेपाङ संघले पनि चेपाङको ठूलो रकम खर्च गरेको बताउँदै आएको छ तर ब्रुसबाङबासीले कहिल्यै पनि आफ्ना लागि काम भएको देख्न पाएका छैनन् ।
पटकपटक बस्ती सार्ने र उनीहरूलाई जग्गा समेत दिने भनेर राजेन्द्र पाण्डे मन्त्री भएको बखत प्रतिबद्धतासमेत गर्नुभयो । पहिलोपटक जिल्ला समन्वय समिति प्रमुख भएका जगन्नाथ नेपालले आफैँ ब्रुसबाङ पुगेर स्थानीय सरकार, समेतको सहभागितामा बस्ती सार्नका लागि आफूले पहल गर्ने बताउनुभएको थियो ।

अधिकारविहीन जिल्ला समन्वय समितिमा तत्कालीन जिविसबाट बाँकी हुन आएको रकमबाट बस्ती सार्नका लागि जग्गा खरिदसमेत गरिएको थियो । यस्तो काममा अरूले जस लिने डरले राजनीतिको मुख्य भूमिकामा रहेका राजेन्द्र पाण्डे गाउँ नजिकै पुगेर आफूले बस्ती सार्न सघाउने बताउनुभएको थियो ।राजेन्द्र पाण्डेलाई गाउँबासीले पटकपटक ज्ञापनपत्रसमेत बुझाए तर अहिलेसम्म भोकमरीको चपेटामा परेको ब्रुसबाङ जस्ताको तस्तै छ । पुराना समस्या अहिले पनि समाधान भएको छैन । जीवन जीविकाको सवाल चुनावको बेला आश्वासनको रूपमा मात्र आउने र चुनाव सकिएपछि हराउने गरेको सोम चेपाङले बताउनुभयो ।

बस्ती स्थानान्तरण नहुँदा जीविकोपार्जन र शिक्षा आर्जनमा समस्या भएको पत्रकार उद्धव चेपाङको भनाइ छ । दक्षिणी धादिङको बेनिघाटरोराङ र गजुरी गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदाय हरेक वर्षको चुनावको बेला आश्वासन पाउने गरेपछि अहिलेसम्म ठोस योजना र विकास नहुँदा अवस्थामा परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्