लिभरपुलद्वारा नेपोली पराजित



लन्डन । 

इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ । परिवर्तित खेलाडीको रूपमा मैदान छिरेका उरुग्वेली फरवार्ड डार्विन नुनेजले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट प्रदान गरेपछि लिभरपुलले जित निकालेको हो ।

लिभरपुलले घरेलु मैदानमा नेपोलीलाई २–० ले पराजित गरेको हो । एक गोल मोहम्मद सलाहले गरे । लिभरपुलको दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएको थियो । एनफिल्डमा मंगलबार राति रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको ५३औं मिनेटमा नेपोलीले गोल गरेपनि गोलले भीएआरबाट मान्यता नपाउँदा नेपोली अग्रता लिनबाट चुक्यो । लियो ओस्टिगार्डले गोल गरे पनि उक्त गोलमा मुभमा भीएआरले अफसाइड देखाएको थियो ।

खेलको ८५औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । उनले नुनेजको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा नुनेजले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए । ७३औं मिनेटमा कर्टिस जोनको स्थानमा मैदान छिरेका नुनेजले क्लोज रेन्जबाट फिनिस गरेका थिए ।यस जितसँगै लिभरपुलले नेपोलीसँग अंक बराबरी गरे पनि गोल अन्तरमा पछि पर्दै लिभरपुल समूह ‘ए’ मा दोस्रो भएको छ । राम्रो गोलको आधारमा पराजित नेपोली समूहमा शीर्षस्थानमा रहँदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेपोली र लिभरपुलले समान ६ खेलबाट १५ अंक जोड्यो ।

यही समूहको अर्काे खेलमा आयाक्सले रेन्जर्सलाई ३–१ ले पराजित ग¥यो । यस जितसँगै आयाक्सले ६ खेलबाट ६ अंक जोड्यो । रेन्जर्सले भने अंकको खाता खोल्न सकेन ।त्यसैगरी, अर्को इंग्लिस क्लब टोटेनहम हट्सपरले पनि जितको नतिजा आत्मसात ग¥यो । टोटेनहमले घरेलु टोली मार्सेमाथि २–१ को पुनरागमन जित निकालेको हो । टोटेनहमको जितमा क्लेमेन्ट लेङ्लेट र पिएरे इमिल होज्वजर्गले गोल गरे । मार्सेका चान्सेल म्हेम्वाको गोल सान्त्वना बन्यो । मार्सेमा मंगलबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयमा चान्सेलको गोलबाट मार्सेले सुरुवाती अग्रता लिएको थियो । उनले जोर्डन भेरेटआउटको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ५४औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले इभान पेरिसिसको पासलाई सदुपयोग गरे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा पिएरे इमिलले ह्यारी केनको पासमा गोल गर्दै टोटेनहमलाई पुनरागमन जितसहित समूह विजेता बनायो ।अर्काे खेलमा जर्मन क्लब फ्रान्कफर्टले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि २–१ को पुनरागमन जित निकाल्दै समूह उपविजेताको रूपमा अघिल्लो चरणमा प्रवेश गरेको छ । फ्रान्कफर्टको जितमा दाइची कामदा र रान्डल कोलो मुएनीले गोल गरे । स्पोर्टिङका आर्थरको गोल सान्त्वना बन्यो ।

यो समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना रहँदा आ–आफ्नो खेलमा सफलता हात पार्दै टोटेनहम र फ्रान्कफर्ट अघिल्लो चरणमा प्रवेश गरेका हुन् । यस नतिजासँगै टोटेनहम ६ खेलबाट ११ अंक जोड्दै समूह विजेता बन्यो । फ्रान्कफर्ट १० अंक जोडेर दोस्रो हुँदा स्पोर्टिङ ७ अंकसहित तेस्रो तथा मार्से ६ अंक जोडेर पुछारमा रह्यो ।त्यसैगरी, समूह डी को अन्तिम खेलमा बायर्नले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै शतप्रतिशत सबै ६ खेलमा जित निकाल्न सफल भयो । म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा बेन्जामिन पाभार्ड र इरिक म्याक्सिम चुपो मोटिङले गोल गरे ।

खेलको ३२औं मिनेटमा पाभार्डले योसुवा किम्मिखको पासमा गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । ७२औं मिनेटमा चुपो मोटिङले अलफन्सो डाभिसको पासमा गोल गर्दै बायर्नको २–० को जित सुनिश्चित गरे ।यही समूहमा सबै ६ खेलमा जित निकालेको बायर्नले १८ गोल गर्दा दुई गोल मात्रै बेहोर्यो । यस जितसँगै बायर्नले समूहमा ६ खेलबाट १८ अंक जोड्यो । पराजित इन्टरले ६ खेलबाट १० अंक जोड्यो । बार्सिलोनाले ७ तथा भिक्टोरियाले अंकको खाता खोल्नै सकेन ।

फेरान टोरेस र राफिन्हा चम्कँदा क्याटलान क्लब बार्सिलोनाले पनि यस सिजनको यूईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा रोमाञ्चक जित निकाल्यो । लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको बार्सिलोनाले चेक रिपब्लिक क्लब भिक्टोरिया प्लेजेनलाई उसकै मैदानमा ४–२ को रोचक जित निकाल्दै यस सिजनको च्याम्पियन्स लिगको सुखद अन्त्य गरेको हो ।

अब यो सिजन बार्सिलोनाले युरोपा लिग खेल्नेछ । बार्सिलोनाको जितमा फेरान टोरेसले दुई तथा मार्काेस अलन्सो र पाब्लो टोरेले समान एक गोल गरे । भिक्टोरियाका थोमस चोरेले दुई गोल गरे पनि टोलीको हार टार्न सकेन । ब्राजिली राफिन्हाले दुई असिस्ट प्रदान गरे । डोसान एरिना प्लेजेनमा मंगलबार राति भएको खेलको छैटौं मिनेटमा मार्काेस अलन्सोको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । उनले अन्सु फातीको पासमा गोल गर्न सफल भएका थिए । खेलको ४४औं मिनेटमा फेरान टोरेसले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।

खेलको ५१औं मिनेटमा थोमस चोरेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । पाब्लो टोरेले पेनाल्टी बक्समा थोमस चोरेलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा उनी चुकेनन् । ५४औं मिनेटमा राफिन्हाको पासमा टोरेसले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई जिततर्फ अघि बढाए । खेलको ६३औं मिनेटमा थोमस चोरेले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याउँदा भिक्टोरियालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि पाब्लो टोरेले राफिन्हाको पासमा गोल गर्दै बार्सिलोनालाई ४–२ को सहज जित दिलाए ।

यस जितसँगै बार्सिलोना समूह ‘सी’ मा ६ खेलबाट सात अंक जोडेर तेस्रो स्थानमा रह्यो । पराजित भिक्टोरिया अंकविहीन हुँदै पुछारमा रह्यो । त्यस्तै, च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एट्लेटिको मेड्रिड अंक तालिकाको पुछारमा रहँदै यस सिजन युरोपबाट नै बाहिरिएको छ। च्याम्पियन्स लिग इतिहासमा एटलेटिको पहिलोपटक समूहको पुछारमा रहन पुग्यो ।

एफसी पोर्टोको मैदानमा २–१ को हार बेहोरेसँगै एट्लेटिको अंक तालिकाको पुछारमा रहेको हो । समूहको अर्को खेलमा क्लब ब्रुग र बायर लेभरकुसनले गोलरहित बराबरी खेल्दा एट्लेटिको पुछारमा नै रहन पुगेको हो । यस समूहबाट एफसी पोर्टो शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल रहयो ।

खेलको पाँचौं मिनेटमा नै मेहदी तारेमीले इभानिल्सनको पासमा गोल गरेका थिए । २४औं मिनेटमा स्टेफेन एस्ताकियोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । दुई गोलको अग्रता लिए पनि पोर्टोले लगातार आक्रमण जारी राख्दै विपक्षी गोलरक्षक यान ओब्लाकलाई व्यस्त राख्यो ।

इन्ज्युरी समयमा इभान मार्कानोले आत्मघाती गोल गरे पनि उक्त गोल निकै ढिलो भएको थियो । त्यसअघि, गोलरक्षक डिओगो कोस्टाले एटलेटिको म्याड्रिडका फरवार्डले गरेको प्रहार लगातार बचाएका थिए । यस नतिजाले पोर्टो ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रहँदै अघि बढ्यो । ६ खेलमा ११ अंक जोडेको क्लब ब्रुग दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश ग¥यो । बायर लेभरकुसनले ६ खेलमा ५ अंक जोड्दै एट्लेटिको मेड्रिडलाई पछि पा-यो । यद्यपि, दुवैको समान अंक जोडे पनि हेड टु हेडमा लेभरकुसन अघि रहेको हो ।

प्रतिक्रिया दिनुहोस्