न्युजिल्यान्ड सेमिफाइनलको संभावना बलियो बनाउँदै



मेलबर्न, (एजेन्सी) ।

अस्टे«लियामा जारी टी २० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सेमिफाइनलको संभावनालाई बलियो बनाइरहेको छ । शनिबार सिड्नीमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले हराएपछि अन्तिम चारमा पुग्ने संकेत गरेको हो । न्युजिल्यान्डले पहिले ब्याटिङ गरेर ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । टोलीका लागि ग्लेन फिलिप्सले शतक प्रहार गरे । अन्य खेलाडीको भने प्रदर्शन साधारण रहेको थियो ।

फिलिप्सले ६४ बलको सामना गर्दै १ सय ४ रन बनाए । उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए । यो जारी विश्वकपमा दोस्रो शतक हो भने न्युजिल्यान्डको तर्फबाट टी २० विश्वकपमा दोस्रो नै शतक हो । जारी विश्वकपमा यसअघि दक्षिण अफ्रिकाका राइली रुसोउले बंगलादेशविरुद्ध १ सय ९ रन हान्दै शतक प्रहार गरेका थिए । टी २० विश्वकपमा शतक प्रहार गर्नेमा ब्रेन्डन म्याककुलुम न्युजिल्यान्डका पहिला ब्याटर हुन् ।यस विश्वकपमा कप्तान केन विलियमसनको खराब लय जारी छ । उनले ८ रन मात्रै बनाए । दुबै ओपनर आउट भएपछि विलियमसन पनि पभेलियन फर्कदा न्युजिल्यान्डको स्कोर ३ विकेटको क्षतिमा १५ थियो । तर, फिलिप्सले यो खराब स्थितिबाट उकासेका थिए । यद्दपि उनी १२ र ४५ रनमा आउट हुनबाट जोगिएका थिए । श्रीलंकाको लागि कसून रजिथाले सर्वाधिक दुई विकेट लिए ।

जवाफमा श्रीलंकाले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन बनाएको थियो । न्युजिल्यान्डका तीव्रगतिका बलर ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट हात पारेर श्रीलंकाको ब्याटिङ ध्वस्त बनाए । त्यस्तै मिचेल सेन्टनरले २ विकेट लिएर विपक्षी टोलीलाई थप समस्या पारेका थिए । एशिया कप विजेता टोली श्रीलंकाका लागि शनाकाले सर्वाधिक ३५ रनको योगदान दिएका थिए ।

समूहमा ६ टोली रहेकोमा न्युजिल्यान्ड ३ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अन्य टोलीमा इंग्ल्यान्ड, आयोजक अस्टे«लिया र आयरल्यान्डको समान ३ अंक छ भने श्रीलंका र अफगानिस्तानको ३ खेलबाट २ अंक छ । यस समूह १ मा श्रीलंकाको अन्तिम चारमा पुग्ने झिनो संभावना छ । श्रीलंकाले बाँकी दुबै खेल जितेमा ६ अंक हुनेछ र त्यतिबेला अन्य टोलीको अवस्थामा निर्भर हुनेछ । श्रीलंकाले मंगलबार अफगानिस्तानविरुद्ध खेल्नेछ ।

न्युजिल्यान्डले भने मंगलबार नै इंग्ल्यान्डसँग खेल्नेछ । यदि यसमा जित हासिल गरेमा न्युजिल्यान्ड अन्तिम चारमा पुग्ने पक्का हुन्छ । यदि यसमा इंग्ल्यान्ड जितेमा दुबै टोलीको समान ४ खेलबाट समान ५ अंक हुनेछ । यतिबेला दुबै टोलीका लागि अन्तिम खेल निर्णायक हुनेछ । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड प्रतियोगितामा रहिरहन दुबै खेल जित्न आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्