रोनाल्डोको प्राणभन्दा प्यारो फुटबलमोह



कोही पनि ब्यक्ति सुरुमा नै सर्वज्ञ भएर आएका हुँदैनन् । हामीलाई यो ज्ञात हुनुपर्छ की हामी सबै शून्यबाट नै उदाउनु पर्छ भनेर । अनि त्यही शून्यलाई अनन्तमा बदल्न कोही ब्यक्तिले यति धेरै मेहनत गर्छन् कि जसका कारण उनीहरु राताराता आफ्नो क्षेत्रका विख्यात भइदिन्छन् । त्यस्तै कडा मेहनत र परिश्रमले विश्वभर सुप्रसिद्धी कमाउने मध्येका एक ब्यक्ति हुन् फुटबलर क्रिस्टियानो रोनाल्डो ।

फुटबल संसारमा सबैभन्दा महँगा मध्येका एक खेलाडीको रुपमा परिचित छन् उनी । भनिन्छ, जोखिमबाट बच्नु छ भने जोखिम नै मोल्नुपर्छ, यही भनाईलाई सार्थकता दिएका छन् रोनाल्डोले पनि । वास्तवमा रोनाल्डो मुटु रोगी थिए । जसले गर्दा उनलाई ज्यानकै जोखिम पनि थियो । मुटु रोगकै कारण बाल्यकालमा डाक्टरले उनलाई बाँच्न चाहन्छौ भने फुटबल खेल्न छोड समेत भनेका थिए । तर, आफ्नो लक्ष्यमा अविचलित रोनाल्डोले डाक्टरको सुझावलाई समेत लत्याएर फुटबललाई नै निरन्तरता दिए ।

डाक्टरको कुरा सुनेपछि बडो मुश्किलका साथ १५ बर्षको उमेरका रोनाल्डोले फुटबल खेल्न पाइंन भने त्यत्तिकै पनि मरिन्छ, त्यसैले त्यत्तिकै मर्नुभन्दा फुटबल खेलेर नै मर्न चाहन्छु भनेर डाक्टरलाई जवाफ दिएका थिए । हो, यस्तो पागलपन थियो एउटा गरीब मालीको छोराको फुटबलप्रति, उनै केटो अहिले विश्व फुटबलकै सर्वाधिक गोलकर्ता बनेका छन् ।

कतिपय फुटबल खेलाडी खेल्दा खेल्दै ह्दयघातका कारण मैदानमा ढलेको र मृत्यु भएका समाचार हामी सुन्ने गर्छौ । अझ मुटुको उपचार गराईसकेका त्यस्ता खेलाडीहरुले त डाक्टरको सल्लाह र सुझावपछि फुटबलबाट दूरी पनि बनाएका छन् । यस्तै भोगाईको नजिकबाट गुज्रिएका थिए रोनाल्डो पनि । कुनै समय फुटबल र प्राणमध्ये कुन रोज्ने भनेर दोधारमा परेका थिए उनी । तर, विचलित भएनन् उनी । उनले प्राणलाई दाउमा राखेर फुटबललाई निरन्तरता दिए । जसको नतिजा अहिले उनी स्वस्थ त छँदै छन्, त्यसमाथि फुटबलबाट पनि नसोचेको सफलता बटुल्न सफल भएका छन् ।

सानै उमेरदेखि फुटबलमा लगाव भएका रोनाल्डो आठ वर्षको उमेरदेखि यो खेलसँग जोडिएका थिए । रोनाल्डोले सानै उमेरमा मुटुमा समस्या भएपनि फुटबलबाट कहिले अलग्गिने सोचेनन् । बरु उनले १५ वर्षको उमेरमा फुटबलका लागि मुटुको शल्यक्रिया गरेका थिए । यदि उनले डाक्टरको सल्लाह मानेर फुटबल छोडेको भए सहज जीवनयापन गर्न त सक्दथे तर, जीवनभर फुटबल खेल्न पाईन भन्दै चुकचुकाएर बांच्नुपर्ने हुन्थे । उनले फुटबलको लागि आफ्नो ज्यानको परवाह गरेनन् । फुटबलप्रतिको यही पागलपनले आज उनी विश्व फुटबल इतिहासमा अहिलेसम्मकै सर्वाधिक गोलकर्ता भएर चिनिएका छन् ।

रोनाल्डोको जीवनीमा आधारित लेख अनुसार बाल्यकालमा रोनाल्डोको पानी चुहिने सानो घर थियो । वर्षातको समयमा जब रोनाल्डोसहित उनका परिवार त्यो घरमा बसिरहेका हुन्थे, त्यो घरको छानोबाट पानी चुहिरहेको हुन्थ्यो । त्यस्तो बेला उनले आफ्नो बुवासँग म छिट्टै नै महल किन्नेछु, त्यसपछि हामी पानी चुहिने घरमा बस्नु पर्ने छैन भन्ने गर्थे । त्यस्तो समयमा रोनाल्डोको काल्पनिक जस्तै लाग्ने कुरा सुन्ने गरेका उनको बुवाले भन्दथे, बाबु तिमीले भविष्यमा धेरै मेहनत र संघर्ष ग¥यो भने महल त कति किन्न सक्छौ कति । जुन कुरालाई रोनाल्डोले अहिले सत्य सावित गरिदिएका छन् । नाबालग छोरालाई बुवाको त्यो प्रेरणादायी बोली आशिष सरह बन्यो । सानैदेखि आफ्नो लक्ष्यलाई शिरमा राखी काम गरेका रोनाल्डो वास्तवमै अहिले थुप्रै महंगा महलका मालिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्