रोकिएन विदेश जाने क्रम



पछिल्लो समय नेपालबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । केही वर्षयता नेपालीमा विदेश जाने मोह देखिएको छ । माध्यमिक शिक्षा उत्तीर्ण हुन नपाउँदै विद्यार्थीले विदेश जाने सपना देख्छन् ।

नेपालमा रोजगारी, व्यापार व्यवसाय गर्ने विचार थोरैमा मात्र छ । उच्च शिक्षा र राम्रो आम्दानी हुने देखेपछि अमेरिका, अस्ट्रेलियालगायत युरोपका विभिन्न मुलुक जाने नेपालीको संख्या उल्लेखीय रुपमा बढेको छ । यसको मध्यनजर गर्दै कन्सल्टेन्सीहरु पनि धमाधम खुलेका छन् । पाइलैपिच्छे कन्सल्टेन्सीका बोर्ड झुन्ड्याइएको भेटिन्छ । तर, ती कन्सल्टेन्सी सरकारबाट दर्ता भएका हुन् कि होइनन् ? यसको नियमन हुने गरेको छैन । पछिल्लो समय कन्सल्टेन्सीको ठगीधन्दा मौलाएको कुरा व्यापक आइरहेको छ ।

कन्सल्टेन्सीले विदेश पठाउँछु भनेर पैसा लिने तर यहीँ अलमल्याएर राखिदिने । यहाँबाट राम्रो मुलुक जानका निम्ति मोटो रकम बुझाइसकेकाहरु यतिखेर तनावमा परेका छन् । कन्सल्टेन्सीले विदेश पनि नपठाउने, पैसा पनि फिर्ता नदिने । पढेलेखेकैलाई कन्सल्टेन्सीले ठगेको छ भने नपढेका, अक्षर नचिन्नेलाई म्यानपावर कम्पनीले कति ठगेको होला ? उच्च शिक्षा हासिल गर्न जानेहरुलाई नै कन्सल्टेन्सीका सञ्चालकले उल्लु बनाइरहेका छन् ।

आज र भोलि भन्दै तिनलाई झुलाउने काम भइरहेको छ । ऋणधन गरेर, जायजेथो बेचेर २० देखि २५ लाख बुझाउनेहरु छन् । तर, अहिले कन्सल्टेन्सीकै सञ्चालक भागेर हिँडेका छन् । ऋण लिएको ठाउँमा ब्याज तिर्दाको हैरानी छुट्टै छ । छोराछोरीले बाहिर गएर कमाउलान् भनेर बाबुआमाले ऋण त लिए । तर, अहिले त्यो पैसा ‘निल्नु न ओकल्नु’ भएको छ ।

सबै डकुमेन्ट र पैसा बुझाएको एक महिनामा उडाउँछु भनेर सञ्चालकले आश्वासन त दिए । तर, तीन महिना बितिसक्दा पनि यहीँ झुलिएर बस्नुपरेकाहरु यत्तिकै भेटिन्छन् । एकातिर पढाइ बिग्रियो, अर्कोतिर भएको जागिर पनि छुट्यो । विदेश जाने त हो भनेर कलेज भर्ना गरेनन् । खाइरहेको जागिर पनि छोडेर अहिले बेराजगार भएर बस्नुपर्ने बाध्यता छ । विदेश जानका लागि पैसा दिइसकेका विद्यार्थीहरु मर्कामा परेका छन् ।

कन्सल्टेन्सीले विदेश पठाइदिन्छु भनेर ७ अर्ब बढी रकम लिएको बताइन्छ । विद्यार्थीहरु पैसा बुझाएको एक वर्ष बितिसक्दा पनि नपठाएको विद्यार्थीको गुनासो छ । दैनिक कन्सल्टेन्सीको चक्कर लगाउन बाध्य छन्, विद्यार्थीहरु । आज, भोलि गर्दागर्दै वर्षदिन बितिसक्दा पनि कन्सल्टेन्सीहरुले विदेश पठाउन चासो देखाएका छैनन्, जसले गर्दा विद्यार्थीहरु रन्थनिएका छन् ।
नेपालमा पछिल्लो समय देखिएको बेथिति हो यो । जो कोही पनि विदेश जाने सपनाको पछि दौडिदिएका छन् । जति पैसा विदेश जान खर्च लाग्छ, त्यति नेपालमा लगानी गर्ने हो भने एउटा व्यवसाय सञ्चालन गर्न सकिन्छ । तर, त्यो सोच हाम्रा देशका विद्यार्थीमा छैन । अरु गएको देखेपछि आफूलाई पनि जानुपर्ने । यस्तो चलन छ नेपालमा । देखासिकी गर्ने बानी व्यवहार अझै पनि हट्न सकेको छैन ।

आफ्नो मातृभूमिलाई घृणित बनाउँदै विदेशतिर दौडाउनु कति लज्जास्पद विषय हो । नेपालमा रोजगारीको अवसर छैन, व्यापार व्यवसाय गर्न सकिँदैन, राजनीति ठीक छैन भन्ने आरोप लगायो । तर, गरे त यहाँ पनि सबै कुरा सम्भव छ । कतिपयले विदेश छोडेर नेपाल आएर मासिक लाखौं कमाएका घटनाहरु छन् । तर पढेलेखेकालाई त यी काम गर्न लाज लाग्छ । बरु, विदेशमा गएर भाँडा धुन, पसलमा काम गर्न र खेती गर्न तिनलाई केही हुँदैन । आफ्नै मुलुकमा त्यति लगानी गरेर एउटा सानो उद्योग खोल्ने हो भने कतिले रोजगारी पाउँथे ।

उद्योग खोल्नलाई राजनीतिले रोकेको छ ? जतिखेर पनि विदेश जाने ढिपीबाहेक अरु केही गर्न जान्दैनन्, नेपाली । भनिन्छ नि, ‘नानीदेखि लागेको बानी छुटाउन गाह्रो हुन्छ ।’ यो पनि त्यस्तै हो ।बाबुआमाबीच नै आफ्ना छोराछोरीलाई बाहिर पठाउन होडबाजी चल्ने गरेको छ । सानैदेखि विदेश जाने सपना देखाउने पनि अभिभावक नै हुन् । अक्षर चिन्दादेखि सोही कुरा सिकाएपछि उसले ठूलो भएर पनि त्यही नै गर्छ ।

पछिल्लो समय बाबुआमाहरु नै आफ्नो छोराछोरी विदेश छन् भनेर धाक लगाउने गर्दछन् । विदेशमा छोराछोरीले कति हन्डरठक्कर खाइरहेका छन्, त्योचाहिँ थाहा छैन ।नेपालमा पनि ठूलठूला विश्वविद्यालय, कलेज, स्कुल खुलेका छन् । तर, पढ्नकै लागि भनेर वार्षिक ९० अर्ब बढी रकम बाहिरिने गर्दछ । त्योसँगै शिक्षित जनशक्ति पनि सबै बाहिरिन्छन् । त्यहाँ पढ्छन्, अनि उहीँको पीआर पाएपछि त्यतै सेटल हुन्छन् । पीआर पाएपछि कतिपयले बाबुआमासहित यहाँ भएको सम्पत्ति पनि बेचेर लान्छन् । कमाएर नेपाल ल्याउनुको साटो उल्टो यहाँबाट लैजाँदै छन् ।

यसरी त बर्सेनि खर्बौं रकम यहाँबाट बाहिरिँदै छ । यता, जन्मथलो छोडेर बाहिर जान नचाहने बाबुआमालाई साह्रो पीडा छ । छोराछोरी छ भनेर के गर्नु, मर्ने बेलामा एक घुट्की पानी खुवाउने कोही पनि हुँदैनन् । पहिले हाँसीखुसी पठाउँछन्, पछि आफैंलाई बोझ बन्छ । बुढेसकालको सहारा नै आफूसँग नभएपछि बूढाबूढीको बिचल्ली हुन्छ । स्याहारसुसार गर्नका लागि अन्तिममा अर्कैको सहारा माग्नुपर्छ ।

माध्यमिक शिक्षा भनेको ठूलो पढाइ हो । क्षमता भएकाले त्योभन्दा कम पढाइमा देश हाँकिरहेका छन् । देश र नेतालाई दोष लगाउनुको साटो तिनलाई चुनौती दिएर हिँड्नसक्नुप¥यो । पहिले आफूबाट शुरु गर्नुप¥यो । तर, आफू केही गर्न नसक्ने अनि देशलाई मात्र आरोप लगाएर हुँदैन । मासिक तीन–चार लाख कमाउने देखेपछि बाबुआमा पनि मख्ख पर्छन् ।

यत्रो आम्दानी हुने भएपछि बाबुआमाले नै ऋण खोजेर छोराछोरी पठाउनतिर लाग्छन् । तर, पछि छोराछोरीले पैसा नपठाउँदा मात्र तिनले सबक सिक्छन् । छोराछोरी बाबुआमा बिर्सिएर उहीँ सेटल हुन्छन् । घर किन्छन्, गाडी किन्छन्, आरामको जिन्दगी बिताउँछन् ।

अभिभावकलाई यहाँको ऋणले सताउनु सताउँछ । भएको जायजेथा बेचेर ऋण तिर्नुपर्ने अवस्थासमेत बन्छ ।पहिले-पहिलेका बूढापाकाले भन्थे, ‘चोक्टा खान गएको बूढी झोलमै डुबेर मरी ।’ यहाँ पनि त्यस्तै भएको छ । विदेशमै सेटल हुनेले नेपालको सम्पत्ति बेचेर लैजान नपाउने भनेर सरकारले नियम बनाउनुपर्छ । कसैले नेपाली नागरिकता त्याग्छ भने उसले नेपालमा भएको सम्पत्ति पनि त्याग्न सक्नुपर्छ ।

यो नियम लागू ग-यो भने कसैले पीआर नै लिँदैनन् । जसरी भए पनि नेपाल फर्किन्छन् ।पढ्ने नाममा विदेश जाने चल्तीले गर्दा नेपालको अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ । पढ्न जाने क्रम सरकारले बन्द गरिदिए पनि हुन्छ । के नेपालको पढाइ राम्रो छैन ? नेपालमा पढाउन सक्ने शिक्षक छैनन् ? यसले त नेपालको शैक्षिक गुणस्तरमाथि आंैला उठाएको छ । माध्यमिक शिक्षासँग यहाँको पढाइ राम्रो हुने त्यसपछिचाहिँ नराम्रो हुने ? यही भूमिमा जन्मिने अनि यही मुलुकको बेइज्जत गर्ने ?

अर्काको देशमा पुगेर नेपालमाथि दाग दगाउन यिनलाई लाज लाग्दैन ? सरकारले जथाभावी कन्सल्टेन्सी खोल्ने काममा प्रतिबन्ध लगाउनुपर्छ । राजनीतिक दलको झोला बोकेर, गुन्डा पालेर, प्रहरी प्रशासनलाई हात लिएर ठग्ने काम भइरहेको छ । विज्ञापनको माध्यमबाट सीधासाधी जनता फसिरहेका छन् । नेपालको पढाइ गुणस्तरीय छ । यहाँ पनि रोजगारीका अवसर छन् ।
– समिर केसी ।

प्रतिक्रिया दिनुहोस्