जनताको बचतमा सीमित व्यापारीको रजगज



नेपालका ठूला व्यापारीहरुले नेपाली पैसा विदेशी बैंकमा राख्दा यहाँको बैंक हायलकायल बनेको छ । व्यापार गर्ने भनेर नेपालका बैंकबाट कर्जा लिए तर त्यसको दुरुपयोग गरियो । लिएको कर्जा व्यापार व्यवसायमा नभई विदेशी बैंकमा लगेर राख्ने काम भयो । व्यापारका लागि भन्दै करोडौं कर्जा लिने व्यापारीहरु छन् ।

बैंकहरुले पनि सर्वसाधारणलाई कर्जा नदिने तर ठूला व्यापारीलाई जति भयो उति रकम कर्जा दिने । बैंकहरु सबै ठूला व्यापारीको कब्जामा छन् । पछिल्लो समय ठूला व्यापारीहरुले आफ्नो बचतसहित कर्जा लिएको रकमसमेत विदेश लिएर गए । नेपालका नामी उद्योगपति वा व्यापारीहरु अब नेपाल छोडेर विदेश नै जान्छन् भन्ने खूब चर्चा चुलिएको छ । उतै बस्छन् र व्यापार व्यवसाय सञ्चालन गर्छन् भन्ने कुराले बजार तताएको छ ।

राम्रो कारोबार र चिनजानको आधारमा बैंकहरुले विना धितो करोडौं रुपियाँ ओटी कर्जा दिएका छन् । व्यापारीहरुले बैंकबाट पैसा निकालेर विदेश लगिसकेको कुराबारे सरकार अनभिज्ञ छ । यता, सर्वसाधारणमा पनि कुनै जानकारी छैन । बैंकबाट कसले कति कर्जा लिएको छ ? कसको कति बचत छ ? भनेर नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले चेकजाँच गरेको छैन । नेपालको पैसा सबै विदेशिसकेको छ । बैंकका सञ्चालकहरु गैरजिम्मेवार हुँदा आज मुलुकको अर्थतन्त्र शिथिल बनेको छ ।
आर्थिक प्रलोभनको पछाडि दौडिँदा नेपालमा हुनुपर्ने रकम सबै बाहिरियो ।

एक वर्षको अवधिमा कुन व्यापारीले कति रकम बैंकबाट निकाल्यो ? त्यो रकम कहाँ गयो ? यसको विवरण सरकारले सार्वजनिक गर्नुपर्नेमा अर्थविद्हरुको जोड छ । यसबारे जनताले पनि त पत्तो पाउनुप-यो । पहिले नेपाली नागरिक विदेश पलायन हुन्थे, अब पैसाको पालो आयो । जसले गर्दा यहाँका वित्तीय संस्थाहरु टाट पल्टिएका छन् । जथाभावी कर्जा दिँदा आज बैंकको अवस्था गम्भीर बनेको छ । नेपालका प्रतिष्ठित व्यक्तिहरुको कुन–कुन विदेशी बैंकमा कति रकम छ ? यसको विवरण सरकारले सार्वजनिक गर्नुपर्छ ।

यसमा नेता, व्यापारी, सरकारी कर्मचारी सबै पर्न सक्छन् । किनकि प्रायजसो प्रतिष्ठित व्यक्तिहरुले आफ्नो कालो कर्तुत विदेशमै लगेर लुकाएका छन् । नेपालमा व्यापार गर्ने, यहाँ बसेर कमाउने । निजी बैंकबाट व्यापार थप बढाउने भनेर कर्जा लिने अनि विदेशमा लगेर राख्ने । यो क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । यस्तो गतिविधि बढेसँगैं जनताको रकम जोखिममा परेको छ । सरकारले नियमन नगर्ने हो भने खाई–नखाई बैंकमा लगेर राखेको पैसा सबै डुब्न पनि बेर लाग्दैन । अहिले जति पनि निजी बैंकहरु सञ्चालनमा छन्, ती सबै व्यापारीकै हाताभित्र छ ।

अधिकांश बैंक व्यापारीले खोलेका छन् भने धेरै शेयर पनि उनीहरुकै नाममा छ । बैंक सञ्चालन गर्नेहरुले कमाएको रकम कहाँ गयो भनेर सरकारले छानबिन गर्नुपर्छ । विदेशी बैंकमा छ कि नेपाली ? यसको खोजतलास हुनुपर्छ । नेपालको पैसा विदेश जानबाट रोक्न नसक्नु सरकारको कमजोरी हो । अझै पनि यसलाई बढावा दिइरहने हो भने नेपालको अर्थतन्त्र ढिलो–चाँडो श्रीलंका हुन्छ । यसले निम्त्याउने परिस्थिति झनै गम्भीर हुन सक्छ । बैंकहरु टाट पल्टिसकेका छन् भन्ने कुरा थाहा पाइसकेका जनता यतिखेर आफ्नो पैसा निकाल्न बैंकमा लाइन बसेका छन् ।

आफ्नो बचत निकाल्नका लागि उनीहरु दौडधूप गरिरहेका छन् । पैसा जम्मा गर्ने जनता तर चलाउने सबै व्यापारी । अब यो पैसा फिर्ता हुने सम्झावना निकै न्यून छ । किनकि यो रकम सबै विदेश पुगिसकेको छ । पैसा फिर्ता नहुनेबित्तिकै बैंकले कर्जा लगानी गर्न पनि सक्दैनन् । बचतकर्ताको रकम दिन पनि सक्दैनन् । व्यापारीको गुट मिलेर वित्तीय संस्था सञ्चालनमा ल्याउने अनि व्याजको प्रलोभन देखाएर जनता ठग्ने । जनताले बचत गरेको रकम आफूखुशी लगानी गर्ने । आफ्नो व्यापार व्यवसाय ठूलो बनाउन मनलाग्दी लगानी गर्ने । विदेशी बैंकमा लगेर थुपार्ने अनि जनतालाई रुनु न हाँस्नु बनाउने ।

बैंकले जनतालाई दिनसम्म दुःख दियो । बैंकले गर्दा अर्थतन्त्रलाई थप चाप परेको छ । यसको मार पूरा मुलुकलाई परेको छ । अहिले बैंकले एकदेखि पाँच लाखको चेक साट्न नसक्ने अवस्था छ । तर, एउटैं व्यक्तिको बैंकमा करोडसम्म बचत छ । अब उनीहरुलाई कसरी रकम फिर्ता गर्ने ? नयाँले लगेर पैसा राख्ने छैनन् । पुरानाले त आफ्नो पैसा छिटोभन्दा छिटो खोजिहाल्छन् । १४ देखि १६ प्रतिशतसम्म व्याज दिन्छु, पैसा ननिकाल्नुस् भनेर बैंकका सञ्चालकहरुले हात जोड्दा पनि जनताले सुनेका छैनन् । यतिखेर सबैलाई ब्याजभन्दा धेरै सावाँ प्यारो भएको छ ।

साउन लागेपछि बैंकबाट पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ । एक महिनाको अवधिमा एक खर्ब ५० अर्बभन्दा बढी रकम निकालिएको छ । यति थोरै अवधिमा यत्रो रकम निकाल्नु शायद पहिलोपटक होला । बैंकबाट रकम त बाहिरियो तर डिपोेजिट गर्ने शून्य छन् । राख्ने ठप्प हुँदा निकाल्नेको भीड छ । पाँच लाखको चेक साट्नुप-यो भने तीन दिनअघि नै सुसुचित गराउन बैंकले आग्रह गर्दै आएको छ । कि त एक–एक लाख गरेर निकाल्न भनिरहेका छन् । बैंकमा के कारणले समस्या आयो ? भनेर छानबिन गर्न सरकारले समिति गठन गरेको छैन ।

कति बैंकहरुले त विज्ञापन दिएर जनताको पैसा तान्न खोजिरहेका छन् । हिजो पैसा राख्ने बेलामा सजिलोका साथ लियो । तर, निकाल्ने बेलामा झमेला खडा भएको छ । विभिन्न बहाना बनाएर झुलाउने कामले प्राथमिकता पाएको छ । बैंकहरुले पैसा फिर्ता नदिनका लागि योजना नै तयार पारेका छन् । आफ्नो पैसा सुरक्षित होला भनेर जनताले बैंकमा लगेर राखे । अहिले सबैलाई थकथकी लागेको छ । वित्तीय संस्थामा रकम भएकाहरुको भोक र निद्रा हराएको छ । पैसाचाहिँ जनताको तर कमाउनेचाहिँ केही सीमित व्यापारीहरु । सीधासाधा जनताले धितो राख्छु कर्जा चाहियो भन्दा पनि बैंकले दिएनन् । तर, व्यापारी र तिनका आफन्तले धितो नराखी सजिलो कर्जा पाए । जसको नतिजा बिस्तारै देखिँदै छ । बैंक, फाइनान्स र सहकारीलाई जनताले हेर्ने दृष्टिकोणमा नै परिवर्तन आएको छ ।

जनताले जति विश्वास गरेका थिए त्यो घट्दै गयो । अहिले वित्तीय संस्थालाई जनताले विश्वास गर्न छोडेका छन् । आफ्नो खातामा भएको रकमसमेत बैंकका कर्मचारीहरुले हिनामिना गरेको कुरा यसअघि पटक–पटक उठेका थिए । हस्ताक्षर मिलाएर रकम निकालेको विषय बाहिर आएका पनि थिए । त्यतिखेर जनता चुप रहे पनि अब त्यस्तो अवस्था छैन । चाँडो नाफा कमाउने लोभमा परेर बैंकले जथाभावी कर्जा लगानी ग-यो । सोचविचार नै नगरी गलत क्षेत्रमा धमाधम कर्जा प्रवाह गरियो । विशेषतः बैंकको लगानी चार क्षेत्रमा छ । जलविद्युत्, घरजग्गा, शेयर र गाडी । अहिले यी चारै क्षेत्र डुबिसकेका छन् । अब न कर्जा उठाउन सक्छ, न धितो लिलाम गर्न खोजे पनि बिक्री हुन्छ । हिजो बैंकले कर्जा दिने बेलामा मूल्य उचाइमा पुगेको थियो । तर, अहिले बजारमा मन्दी छाएको छ । हालको अवस्था नियाल्ने हो भने सहकारी सबैभन्दा धेरै जोखिममा छ । दिनहुँ सहकारीहरु कुलेलम ठोकिरहेका छन् । मुलुकमा यत्रो संकट आँउदाखेरि सरकार किन मौन छ ? अब पनि सरकार जिम्मेवार नहुने हो भने ठूलो दुर्घटना हुन्छ । सडकछाप हुनेको संख्या सीधै उकालो लाग्न सक्छ । सरकार जिम्मेवार हुनुप-यो, जनता सचेत ।
– अनुसा थापा ।

प्रतिक्रिया दिनुहोस्