मतदाता नामावलीमा दाबी विरोधका लागि आह्वान

काभ्रेमा ३ लाख १३ हजार १ सय बढी मतदाता



काभ्रे ।
मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १३ हजार १ सय ७७ मतदाताले भाग लिने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले उक्त मतदाता विरुद्ध दावी विरोध गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

‘मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत भाद्र १३ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा नमावली हेर्ने, त्रुटि सच्याउने, दोहोरो हटाउने, मृत्यु भएका ब्यक्तिका नाम हटाउने र दावी विरोध गर्न पाईनेछ’–जिल्ला निर्वाचन अधिकारी उमेश राईले भन्नुभयो–‘नागरिकता त्यागको हकमा भने भाद्र १३ गते देखि १६ गतेससम्म निर्वाचन कार्यालयको वेवसाईट, फेसबुक पेजमा रहेको निवेदनको ढाँचामा स्वयं उपस्थित भएर वा इमेल वा फ्याक्स मार्फत दिन सकिने ब्यवस्था गरिएको छ ।’ मतदाता स्वंय वा निजका परिवारका सदस्यहरुले मृत्यु भएका ब्यक्तिको, बसाई सराई, दोहोरो नाम भएका सम्वन्धमा निवेदन दिन सक्नेछन् ।

२०७९ साउन १९ गतेसम्म मतदाता नामावलीमा दर्ता भएका मसिंर ३ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरुले मतदानमा भाग लिन पाउनेछन् । मसिंर ३ गतेसम्म ३ लाख १३ हजार १ सय ७७ मतदाता १८ वर्ष पुगेका हुनेछन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ५४ हजार ४ सय २३ मतदाता रहेका छन् । जसमा महिला ७४ हजार ७ सय ६६ छन् भने पुरुष ७९ हजार ६ सय ९६ रहेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा १ लाख ५८ हजार ७ सय ४९ मतदाता रहेका छन् । जसमा पुरुष ७९ हजार ७ सय ७ जना र महिला ७९ हजार ४२ हजार रहेका छन् ।

प्रतिनिधि सभा १ को क निर्वाचन क्षेत्रमा ७७ हजार २ सय ९९, ख निर्वाचन क्षेत्रमा ७७ हजार १ सय २४ मतदाता रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को क क्षेत्रमा पुरुष ३९ हजार ४ सय ६६, महिला ३८ हजार १ सय ६५ गरी कुल ७७ हजार ६ सय ३१ मतदाता रहेका छन् । ख निर्वाचन क्षेत्रमा ४० हजार २ सय ४१ जना पुरुष र ४० हजार ८ सय ७७ महिला गरी ८१ हजार १ सय ८८ मतदाता रहेका छन् । जिल्लामा १ लाख ५९ हजार ४ सय ३ पुरुष र १ लाख ५३ हजार ७ सय ७२ महिला गरी ३ लाख १३ हजार १ सय ७७ मतदाता पुगेका हुन् । स्थानीय तहको निर्वाचनमा ३ लाख ३ हजार ५ सय ६० मतदातामा ९ हजार ६ सय १७ मतदाता थपिएका छन् ।

मतदाता नामावली भाद्र १२ गते वडा कार्यालय, निर्वाचन आयोगको कार्यालय र वेभसाईटमा नामावली प्रकाशन हुनेछ ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला समन्वय अधिकारी शान्तराज प्रसाई, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाज तथा विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा २ लाख ७२ हजार २ सय ८७ मतदाताले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्