सुरक्षा निगरानीमा फोहोर व्यवस्थापन



काठमाडौं । 

उपत्यकाको फोहोर उठ्न शुरू भएको छ । सुरक्षाकर्मीको निगरानीमा उपत्यकाको फोहोर व्यवस्थापन शुरू गरिएको होे ।बुधबार पनि स्थानीय र प्रहरीबीच लगातार झडप भइरहको अवस्थामा काठमाडौंबाट गएको प्रहरीले सुरक्षा दिएपछि फोहोर फ्याँक्न शुरू गरेको काठमाडौं महानरपालिका वातावण व्यवस्थापन विभागले जनाएको छ ।

विभाग प्रमुख सरिता राईले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार करिब ३ सय ५० प्रहरीको सुरक्षा घेराभित्र उपत्यकाको फोहोर बन्चरेडाँँडा ल्यान्डफिल साइटमा खसालिएको छ । उहाँका अनुसार हालसम्म १ सय ७० ट्रक फोहोर बन्चरेडाँडामा विसर्जन गरिएको छ ।

प्रहरीले बुधबार स्थानीय आन्दोलनकारीलाई लखेटेर डाँडा कटाएपछि दिउँसोदेखि धमाधम फोहोर खसालिएको हो । प्रहरीले आन्दोलन गरिरहेका दीपेश कार्कीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दुईतर्फी झडपको क्रममा प्रहरीले रबरको गोली चलाउँदा एक जना घाइते भएका थिए ।

कामपाले सुरक्षाकर्मीको बीचमा राती ९ बजेसम्म फोहोर फ्याँक्ने व्यवस्था गरेको छ । ल्यान्डफिल साइट सुरक्षामा नेपाल प्रहरीसँगै खटिएका सशस्त्र प्रहरी बलसमेत परिचालन गरिएको छ । विभागीय प्रमुख राईले अब जस्तोसुकै परिस्थिति आए पनि प्रहरीको सुरक्षा घेरामा फोहोर व्यवस्थापन गरेरै छाड्ने बताउनुभयो । यसैबीच कामपाका मेयर बालेन्द्र साहले प्रहरी खटाएर फोहोर फ्याँक्ने महानगरको नीति नभएको बताउनुभएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले महिनौंसम्म बाटोमै फोहोर थुप्रिएको हेरेर बस्न नसक्ने भएपछि सरकारको सहयोगमा प्रहरी परिचालन गरी फोहोर फ्याँकिएको बताउनुभयो । कामपा ल्यान्डफिल साइट प्रहरी प्रमुख पूर्णचन्द्र भट्टका अनुसार सुरक्षाकर्मी खटाएरै राजधानीको फोहोर विसर्जन गर्ने तयारी भइरहेको छ । उहाँका अनुसार स्थिति सामान्य हुँदै गए दैनिक करिब ३ सय ट्रक फोहोर खसाल्ने तयारी भइरहेको र कुनै पनि व्यवधान नभए करिब एक साताभित्र राजधानीको सडक गल्लीमा थुप्रिएको फोहोर उठाइसकिने छ ।

प्रतिक्रिया दिनुहोस्