समाचारको प्रभाव : फोटो खिचाउन प्रशासनमा थपियो स्टेशन



काभ्रे । 

सेवाग्राहिहरुको चापका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विहान ७ बजे देखि साँझ साढे ७ बजेसम्म दिन थालेको सेवा अझै प्रभावकारी हुने भएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एउटा स्टेशनका लागि आवश्यक सामाग्री पठाएको छ ।

‘साउन ३१ गते विभागले १ वटा स्टेशन पठाएको छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘नागरिकको बैयक्तिक तथा जैविक विवरण समेत भएको राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यक पर्ने सामाग्री थप प्राप्त भएकाले तीन वटा स्टेशनबाट विवरण दर्ता शुरु गरिनेछ ।’ राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि सेवाग्राहिहरु मध्यरात देखि लाईनमा बस्न थालेसँग प्रशासनले १२ घण्टा सेवा दिन थालेको थियो ।

‘राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहिहरु मध्यरातबाट लाईन बस्न थालेसँगै त्यसलाई रोक्न प्रशासन कार्यालयमा भएको जनशक्तिको अलावा थप जनशक्ति ब्यवस्थापन गरेर विहान ७ बजेबाट साँझ ७ बजेसम्म सेवा प्रारम्भ गरेका थियौंं’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘सेवाग्राहिहरुले तोकिएको समय भित्र आउँदा पनि सेवा उपलब्ध हुन्छ भन्ने विश्वास दिलाएका छौं तर पनि उहाँहरु लाईन बस्न छाडनु भएको थिएन । अब तिन वटा स्टेशनबाट सेवा शुरु हुने भएकाले समस्या समाधान हुने अपेक्षा गरेका छौं ।’

राष्ट्रिय परिचयपत्रका लागि जिल्लामा दुईवटा क्यामेरा स्टेशन थिए । दैनिक ८० जनाको क्षमता हुँदा पनि एक सय भन्दा धेरैको फोटो खिच्ने गरिएको थियो । अहिले दैनिक १ सय ५० भन्दा धेरैको फोटो खिचाउँदा पनि सर्वसाधारणको लाईन घटेको थिएन । प्रशासन कार्यालयले भिड ब्यवस्थापनका लागि १३ वटा पालिकालाई बार अनुसारको समय तोकेको थियो । उक्त समय भित्र परिचयपत्र बनाउन आउनेहरुको भिडले प्रशासन कार्यालय अस्तब्यस्त बनेको महिनौ भई सकेको थियो । तीनवटा स्टेशन भए सँगै भिड कम भई सेवा सहज हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय परिचयपत्रको फाराम अनलाईन भर्नु पर्नेछ । एउटा फाराम भर्न १५ मिनेट लाग्छ भने त्यस पछि फोटो खिचाउने प्रयोजनमा १० मिनेटको समय खर्च हुन्छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि राहदानी बनाउनेहरुको चापका साथै नयाँ नागरिकता बनाउनेहरुका कारण राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड बढेको बताउनु भयो ।

जिल्लामा अभियानका क्रममा २ लाख ८ हजार नागरिकको परिचयपत्रका लागि फोटो खिचाएको थियो भने आर्थिक वर्ष २०७७-२०७८ मा ६ हजार ४ जनाले फोटो खिचाए । आर्थिक वर्ष २०७८-२०७९ मा १३ हजार ९ सय ८४ जना र २०७९-२०८० मा ८ हजार ६ सय ८९ जनाले फोटो खिचाएका छन् ।

याे पनि

१२ घण्टा चल्छ जिल्ला प्रशासन : सेवाग्राही आउँछन् मध्यरातमा

 

 

प्रतिक्रिया दिनुहोस्