भागबण्डाका लागि चार आधारमाथि छलफल



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र भागबण्डाको मोडालिटीको विषय प्रवेश गरेको छ ।

सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठकले १ सय ६५ वटा प्रतिनिधिसभा निर्वाचनमा सिट भागबण्डा कसरी गर्ने भन्ने विषयमा छलफल शुरू गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको कार्यदलको बैठकले चुनावमा सिट बाँडफाँटका लागि ४ आधारमाथि छलफल शुरू गरेको छ ।

कार्यदलका सदस्य देव गुरुङका अनुसार २०७४ को निर्वाचनको प्रत्यक्षतर्फ जितेको सिट, त्यतिबेला समानुपातिक पद्धतितर्फ पाएको मत, २०७९ सालको स्थानीयतहको चुनाव र केही राजनीतिक विषयलाई आधार मानेर सिट बाँडफाँट गर्नुपर्ने विकल्प बैठकमा प्रस्तुत भएको छ ।

उहाँले सहमतिको मोडालिटीबारे पाँचदलभित्र छलफल गरेर पुनःकार्यदलको बैठकमा छलफल गर्ने सहमति भएकोे जानकारी पनिदिनु भयो । उहाँले भन्नुभयो– ‘कार्यदलको बैठक अब साउन ३० गतेको लागि बोलाइएको छ । विगतमा दलहरूले पाएको मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल शुरू भएको छ ।’

उहाँले स्थानीय चुनाव र विगतको संसदीय चुनावमा आएका मतलाई हेर्ने विषयमा छलफल भएको जानकारी दिँदै भन्नुभयो– ‘तर विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन ।’

सत्ता गठबन्धनमा सरकारको नेतृत्व गरिरहेको नेपालीकांग्रेसले ९० सिट पाउनुपर्ने प्रस्ताव अघि सारेको छ । यता सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले भने कांग्रेसलाई ५० र बाँकी ५० आफूहरूले पाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्