केही स्टार खेलाडीका लागि अन्तिम विश्वकप हुन सक्ने



काठमाडौं ।

यस पटकको फिफा विश्वकप जाडो याममा हुँदैछ । यदि, नियमित समयमा आयोजना भएको भए अहिलेसम्म विश्वकप विजेता टोलीको टुंगो लागि सकेको हुन्थ्यो । तर, गल्फ राष्ट्र कतारमा आयोजना हुने भएकोले जुन र जुलाईमा प्रतियोगिता सञ्चालन गर्न नसक्ने भएको हो । यो सिजनमा कतारमा अत्यधिक गर्मी हुने हुँदा यसको मिति नोभेम्बरतिर सारेको हो । जे भए पनि त्यतिबेला नेपालमा पनि जाडोयाम नै भएको हुँदा विश्वकपको मजा तात्तातो चिया, कफिसँगै लिन सकिनेछ ।

यसपटकको विश्वकपमा नाम चलेका चर्चित खेलाडीले पनि खेल्नेछन् । उनीहरुको लागि यो अन्तिम मौका पनि हुन सक्नेछन् । केहीको लागि भने शायद अर्को एक विश्वकपको अवसर जुट्न सक्नेछ ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी, पोल्यान्डका रोबर्ट लेवान्डोस्की, उरुग्वेका लुइस सुआरेजजस्ता स्टार खेलाडीको प्रदर्शन यो फुटबलको कुम्भमेलामा देखिने पाइनेछ । तर, कस्तो प्रदर्शन हुनेछ यसको लागि नोभेम्बरसम्म कुर्नुपर्ने हुन्छ । यदि, राम्रै भएमा अर्को विश्वकपसम्म उनीहरूलाई हेर्न सकिनेछ यदि, नराम्रो प्रदर्शन भएमा उनीहरूलाई गुडबाई गर्नुबाहेक अर्को विकल्प रहँदैन ।

 

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

रोनाल्डोले समग्रमा अन्तर्राष्ट्रिय गोलसंख्या १ सय १७ अंकमा पु¥याइसकेका छन् । उनले राष्ट्रिय टोलीबाट १ सय ८९ खेल समेत खेलिसकेका छन् । ३७ वर्षको उमेरमा पुगेका उनले अर्को विश्वकप पनि खेल्ने चाहना राखेका छन् । उनले भनेका छन्—मेरो करियरबारे धेरै जसो मान्छेले सोधिरहेका छन् । तर, मेरो भविष्यबारे म आफैँले नै निर्णय लिने मान्छे हु । यदि खेल्न मन नलागे म खेल्दिन, खेल्न मन लागे म खेल्छु । रोनाल्डोले सन् २००४ मा पोर्चुगलका लागि अन्तर्राष्ट्रिय करियर डेब्यु गरेका थिए । उनको राष्ट्रले १० ओटा पटक प्रमुख प्रतियोगितामा खेल्न पाएको छ । पोर्चुगलले खेलेको ती प्रमुख प्रतियोगितामा पाँचपटक विश्वकप र ५ पटक युरोपियन च्याम्पियनसिप हुन् । रोनाल्डोले यसमध्ये ६ वटा प्रमुख प्रतियोगितामा खेलेका छन् ।

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)

पोल्यान्डलाई प्रमुख प्रतियोगितामा छनोट गर्ने मुख्य खेलाडी रोबर्ट लेवान्डोस्की नै हुन् । यस सिजनमा बार्सिलोनासँग आबद्ध भएका लेवान्डोस्कीले यसअघि बायर्न म्युनिखका लागि शानदार प्रदर्शन गरेका थिए । ३३ वर्षको उमेरमा पुगेका उनी सायद अर्को एक विश्वकपसम्म पनि खेल्न सक्नेछन्, यदि उनको राष्ट्र छनोट भएको खण्डमा मात्रै । उनले अहिलेसम्म पोल्यान्डका लागि १ सय ३२ खेल खेलेका छन् भने कुल ७६ गोल गरेका छन् ।
लिगमा जति चमक लेवान्डोस्कीको विश्वकपमा भने भइरहेको छैन । लिगमा उनले धेरै गोल गरेका छन् र असिस्ट पनि धेरै गरेका छन् । तर, विश्वकपमा उनले अहिलेसम्म गोल भने गर्न सकिरहेका छैनन् । यो अभागी ट्याग उनले यस सिजनमा तोड्ने सम्भावना पनि छ । यदि, पोल्यान्डअघि बढ्ने हो भने उनकै प्रदर्शन सानदार हुनुपर्नेछ ।

टियागो सिल्भा (ब्राजिल)

ब्राजिलले अन्तिम पटक २००२ विश्वकप जितेको थियो । यसपछि ब्राजिली टोलीमा धेरै खेलाडी आए पनि ब्राजिलले नब्बे दशकको त्यो सफलता हासिल गर्न सकेको छैन । दुर्भाग्य यति भयो कि सन् २०१४ मा ब्राजिलमै विश्वकप आयोजना हुँदा पनि उपाधि जित्न सकेन । झन् त्यो बेला सेमिफाइनल खेलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोर्नुप-यो यो पहेँलो जर्सी टोलीले । यो हारको भागिदार हुनेमध्ये टियागो सिल्भा पनि हुन् । उनको आँखाबाट आँसु समेत झरे, ब्राजिलका पूरै समर्थकको आँखाबाट आँसु झरेको थियो ।

सिल्भाले ब्राजिलबाट १ सय ७ खेलेका छन् भने ७ गोल गरेका छन् । उनको उमेर ३८ वर्षको हो, उनको लागि कतार विश्वकप ब्राजिललाई उपाधि दिलाउन अन्तिम मौका पनि हुनसक्छ । शायद कतार विश्वकप शुरु हुँदासम्म उनको टोलीबाट नाम कटिनसक्ने पनि चर्चा चलिरहेको छ । यो विश्वकप खेले पनि शायद उनको अर्को विश्वकपमा खेल्ने सम्भावना भने पक्कै हुनेछैन । उनले बताएका थिए—दुई, तीन वर्षअघि जस्तो मेरो शरीर छैन अहिले । तापनि, मेरो सपनामा पुग्न म भरपुर प्रयास भने गर्नेछु ।

लियोनेल मेसी (अर्जेन्टिना)

लियोनेल मेसीले कोपा अमेरिका कप जितेका छन् । उनको करियरमा यही एउटा प्रमुख उपाधि पनि हो । मेसीका लागि अर्जेन्टिनाबाट खेल्ने मौका शायद अझै चार वर्षसम्म पनि हुनसक्छ । मेसी राष्ट्रिय आइकन भएका हुँदा उनलाई अर्जेन्टिनाबाट खेल्न छुट दिइरहन सक्छ । जस्तै, भारतमा सचिन तेन्दुलकरलाई जति उमेरसम्म पनि खेल्न पाउने छुट दिइएको थियो । मेसीमाथि विश्वकप उपाधि दिलाउने पक्कै दबाब रहनेछ ।
मेसीले अर्जेन्टिनाबाट १ सय ६२ खेल खेलेका छन् । उनले अहिलेसम्म राष्ट्रिय टोलीका लागि ८६ गोल गरेका छन् । उनको कप्तानीमा ब्राजिलमा सन् २०१४ मा भएको विश्वकप जित्ने मौका झण्डै आएको थियो । जर्मनीसँग प्रतिस्पर्धामा निकै राम्रो खेल देखाएको थियो अर्जेन्टिनाका खेलाडीले । तर, अन्तिममा जर्मनीले गोल गरेर त्यो विश्वकपको उपाधि हात पारेको थियो । एउटा कुरा प्रस्टै हुनेछ यदि यो विश्वकपमा अर्जेन्टिनाको राम्रो प्रदर्शन नभएमा उनले बुट भित्तामा झुन्ड्याउनेछन् ।

लुइस सुआरेज (उरुग्वे)

लुइस सुआरेज पनि रोनाल्डो, लेवान्डोस्की, मेसीसँगै लोकप्रियता हासिल गरेका फुटबलर हुन् । सुआरेजको कारण उरुग्वेको विश्वकपमा उपस्थित निकै प्रभावशाली भएको छ । तर, उनको उमेर ढल्दै गएपछि भने अहिले उरुग्वेको कस्तो प्रदर्शन हुनेछ यही नै हेर्न बाँकी छ । सुआरेज पनि आफ्नो राष्ट्रको लागि विश्वकप ट्रफी दिलाउने सपना हेरिरहेका खेलाडी हुन् । ३५ वर्षीया उनले राष्ट्रका लागि १ सय ३२ खेलबाट ६८ गोल गरेका छन् । उनको नेतृत्वमा उरुग्वे विश्वकपमा अन्तिम १६ देखि सेमिफाइनलसम्म पुगेको छ । उनी पनि यसपटक फेल भएमा बुट भित्तामा झुन्ड्याउने तरखरमा छन् ।

लुका मोडरिच (क्रोएसिया)

लुका मोडरिच गत रसिया विश्वकप २०१८ मा निकै चर्चित बनेका थिए । क्रोएसिया उक्त विश्वकपमा फाइनल पुगेको थियो । तर, क्रोएसिया फाइनलमा फ्रान्ससँग पराजित भएर उपविजेतामै चित्त बुझाएको थियो । फाइनलमा पराजित भएपनि क्रोएसियाको लागि अहिलेसम्मकै ठूलो उपलब्धि भने रह्यो । रसिया विश्वकपमा मोडरिच प्लेयर अफ द टुर्नामेन्ट समेत घोषित भएका थिए । हाल ३६ वर्षमा टेकेका उनले आउँदो विश्वकप अन्तिम अवसरको रूपमा हेरेका छन् ।

थोमस मुलर (जर्मनी)

जर्मनीका लागि १ सय १६ खेल खेलेर ४४ गोल गरिसकेको थोमस मुलर फेरि एकपटक विश्वकपमा राम्रो गर्ने सोचमा छन् । उनले जर्मनीबाट विश्वकप जितिसकेका छन् । २०१४ मा विश्वकप जितेको यही टोली चार वर्षपछि रसियामा फ्लप साबित भएको थियो । रसिया विश्वकपमा जर्मनी दक्षिण कोरियासँग पराजित भएर लज्जित समेत बनेको थियो । मुलर जर्मनीका लागि शानदार खेलाडी हुन् । बीचमा राष्ट्रिय टोलीमा नसमेटिएका मुलरलाई फेरि टोलीमा बोलाइएको छ । उनको उमेर ३६ वर्ष भएको हुँदा यस वर्ष सफलता प्राप्त गर्ने कोसिस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्