स्क्वासमा पुरुषतर्फ सेमिफाइनलको समीकरण पुरा



काठमाडौं । 

अरहान्त केशर सिंह, अमृत थापामगर, दीपक थापा र अमिर ब्लोन चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार भएको खेलमा जित निकाल्दै यी चारै खेलाडी अन्तिम चारमा पुगेका हुन् । प्रिक्वार्टरफाइनल खेलमा अरहान्तले आभान श्रेष्ठलाई ३–० को सोझो सेटमा हराए । यसपछि खेलको क्वार्टरफाइनल खेलमा उनले गोपाल थापालाई पनि ३–० ले नै पराजित गरेका हुन् । अन्तिम चारमा उनको सामना अमिरसँग हुनेछ ।

यस्तै अमृतले दिव्य बज्राचार्यको चुनौती ३–० को सोझो सेटको जितले पन्छाए भने अमिरले राजेन्द्र शाक्यलाई हराउन चार सेट संघर्ष गर्नुपरेका थिए । उनले पहिलो सेट हारे पनि पछिको तीन सेट जितेर अन्तिम चारको यात्रा तय गरे । यसैगरी दीपकले उमित शाक्यलाई चार सेटमै हराएर अगाडि बढे । अमृत र दीपकले अन्तिम चारमा फाइनल पुग्न एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताकै महिला एकलतर्फ विपना ब्लोनले भावना सुनुवारलाई ३–० को सीधा सेटमा हराइन् । यो विपनाको दोस्रो जित हो । यस्तै कृष्णा थापाले स्वस्थानी श्रेष्ठलाई हराउन निकै कसरत गर्नु परेको थियो । उनले स्वस्थानीलाई ३–२ को पाँच सेटमा हराएकी थिइन् । यो कृष्णाको दोस्रो जित हो ।

यसअघि पहिलो खेलमा उनले सालिनी घिमिरेबाट वाकओभर पाएकी थिइन् ।नेपाल स्क्वास -याकेट्स संघद्वारा आयोजित प्रतियोगितामा पुरुष एकलतर्फको विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई जनालाई जनही १० हजार दिइनेछ । महिला एकलतर्फ विजेताले २० हजार पाउनेछिन् भने फाइनलमा हार्ने खेलाडीले १० हजार प्राप्त गर्नेछिन् । सेमिफाइनलमा रोकिएका दुई खेलाडीले समान ५ हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्