इंग्ल्यान्ड र जर्मनी उपाधिको लागि भिड्दै



लन्डन, (एजेन्सी)  । 

युरो कप महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुुँदैछ । लन्डनस्थित वेम्बली रंगशालामा हुने उपाधि भिडन्तमा इंग्ल्यान्ड टोलीले जर्मनी टोलीसँग खेल्नेछ । सेमिफाइनल खेलमा ८ पटकको युरो विजेता टोली जर्मनीले फ्रान्सलाई २–१ ले हराएको थियो । यस्तै घरेलु टोलीले पहिलो सेमिफाइनल खेलमा स्विडेनको चुनौती समाप्त गरेको थियो ।

यो फाइनल हेर्नको लागि करिब ९० हजार दर्शक रंगशालामा आउने अपेक्षा गरिएको छ । जर्मन टोलीका मेनेजर मार्टिना भोस टेक्लेनबर्गले यो फाइनल खेल ऐतिहासिक हुने पनि बताएकी छन् । जर्मन टोली उपाधिको दावेदारी पनि रहेको छ । टोलीका लागि एलेक्सान्डरा पोपले लगातार गोल पनि गरिरहेकी छन् ।

टिभीमा हेर्ने दर्शकको संख्या पनि जर्मनीको खेलमै बढी रहेको पनि एक तथ्यांकले बताएको छ । जर्मनी र फ्रान्सबीचको सेमिफाइनल खेल हेर्ने टिभी दर्शक संख्या ४९ लाख नाघेको थियो । तर, बीबीसीको स्पोर्टस् अनुसार इंग्ल्यान्डले स्विडेनलाई हराएको खेल हेर्ने दर्शकसंख्या कीर्तिमान बनेको थियो । यो खेल करिब ९३ लाख टिभी दर्शकले हेरेका थिए ।

इंग्लिस फुटबल टोलीले अहिलेसम्म महिला युरो कप उपाधि जित्न सकेको छैन । सेमिफाइनल खेलमा स्विडीस टोलीलाई ४–० ले हराएको थियो । यो प्रदर्शनपछि इंग्ल्यान्डको महिला फुटबल टोलीले यस पटक उपाधि दिलाउने ठूलो आस भने गरेको छ । यसबारे जर्मन मेनेजर भोस टेक्लनबर्गले बताइन्— यो प्रतियोगितामा इंग्ल्यान्ड टोली अदभुत देखिएको छ । उनीहरुले गोल पनि गरेका छन् र उनीहरुको आत्मविश्वास पनि बढेको छ । तर, स्विडेनविरुद्धको खेलको पहिलो ३० मिनेटमा खासै राम्रो प्रदर्शन थिएन । उनीहरुविरुद्ध हामीले यहीबाट आक्रमण गर्न सक्छौं ।

नोभेम्बर २०१९ मा वेम्बलीमै करिब ७७ हजार दर्शकसामु जर्मनीले खेल जितेको थियो । इंग्ल्यान्डले यो मैत्री खेल २–१ ले हारेको थियो । त्यतिबेला दुई गोल पछि आएको थियो । भोस टेक्लेनबर्गले उक्त खेलसँग अहिले तुलना गर्न नहुने पनि बताइन् । उनले बताइन्—त्यो खेल हेरेर अहिले कुनै रणनीति लगाउन सकिँदैन। । यो तीन वर्षमा इंग्ल्यान्डका खेलाडी धेरै परिपक्व भइसकेका छन् । सेप्टेम्बरमा सरिना वीगम्यानले सम्हालेदेखि इंग्ल्यान्ड टोलीले हार आत्मसात गरेको छैन । यो जितको क्रममा फेबु्रवरीमा जर्मनीलाई अर्नाल्ड क्लार्क कपमा हराएको खेल पनि समावेश रहेको छ । सरिनाको नेतृत्वमा फेरि जर्मनीलाई हराएर युरो कप जित्ने सक्ने संभावना पनि धेरै छ ।

पोप गोल्डेन बूट जित्न निकट

जर्मनीका लागि पोपले लगातार पाँच खेलमा गोल गरेकी छन् । उनी यसरी लगातार ५ खेलमा गोल गर्ने महिला युरो कपको इतिहासमा पहिलो खेलाडी समेत हुन् । उनले जारी प्रतियोगितामा कूल ६ गोल गरिसकेकी छन् । वोल्फ्सबर्गकी स्ट्राइकर उनी गोल्डेन बूट निकट छिन् ।
पोप यस प्रतियोगितामा वैकल्पिक खेलाडीको रुपमा थिइन् । जब डेनमार्कविरुद्ध बेन्चबाट मैदानमा आइन्, उनले गोल गरेकी थिइन् । यो खेल जर्मनीले ४–० ले जित्दा चौथो गोल उनको थियो । तर, कोभिडको कारण फिनल्यान्ड र स्पेनविरुद्ध उनी टोलीमा थिइनन् । यसपछि खेल्न थाल्दा उनले हरेक खेलमा गोल गर्न सफल भइन् ।

पोपले गोल्डेन बूट भन्दा पनि उपाधिमाथि ध्यानकेन्द्रीत गर्ने बताएकी छन् । उनले भनिन्—गोल्डेन बूट जित्ने चाहना मेरो लक्ष्यमा छैन । मेरो मुख्य उद्देश्य भनेको युरोपियन च्याम्पियनसिप जित्नु हो । यदि मैले गोल्डेन बूट जिते भने त्यो ठिक हो । तर, मैले गोल गर्न नसकेपनि मेरा साथीले गोल गरे भने म झनै खुशी हन्छु ।

रोमान्टिक फाइनल

इंग्ल्यान्डकी पूर्व गोलकीपर सियोभान चेम्बरलेनले यो फाइनल खेल रोमान्टिक हुने बताइन् । उनले भनिन्-फुटबल समर्थकले चाहेको अनुसारको यो फाइनल खेल सबैभन्दा रोमान्टिक फाइनल हुनेछ । यो खेल निकै प्रतिस्पर्धा हुने पनि मैले अपेक्षा गरेकी छु । साथै एलेक्सान्ड्रा पोप भर्सेस मिली ब्राइटबीच पनि निकै रोमाञ्चक भिडन्त हुनेछ । उनीहरु दुबै जना प्लेयर्स अफ टुर्नामेन्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्