नेपालको समूहमा भुटान र श्रीलंका



काठमाडौं । 

नेपालमा अर्को महिना आयोजना हुने छैटो संस्करणको महिला साफ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । साफले शनिबार सात राष्ट्र सम्मिलित प्रतियोगिताको समूह विभाजनको सूची सार्वजनिक गरेको हो । आयोजक नेपाली टोली समूह बी मा रहेको छ । नेपाली टोलीले यो समूहमा श्रीलंका र भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीको लागि समूह चरण खासै गाहाे हुने छैन । नेपाली टोलीले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध खेलेका सबै खेल जितेको छ । यसैले पनि नेपाली टोलीको लागि अर्को चरण जान त्यति कसरत गर्नु पर्नेछैन । यस्तै समूह ए मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । भारत डिफेन्डिङ च्याम्पियन टोली हो ।

प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली पनि घोषणा गरिसकेको छ । हाल टोलीलाई २९ सदस्यको दुई समूहमा विभाजन गरेर प्रशिक्षण गरिरहेको छ । केही दिनमा नै अर्को चरणको छनोट शुरु हुनेछ ।

एन्फाले महिला टोलीको प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । थापा यसअघि सन् २०१५ को साफ च्याम्पियनसिपमा पनि प्रशिक्षक रहेका थिए । नेपाली टोलीले अहिलेसम्म साफ विजेता बन्ने सौभाग्य प्राप्त गर्न सकेको छैन ।

गत संस्करण विराटनगरमा भएको थियो । उक्त प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग पराजित भएको थियो । अहिलेसम्म नेपालले ५ संस्करणमध्ये ४ पटक फाइनलमा खेल्यो तर, सबै खेलमा भारतसँग पराजित भएको थियो । सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्