दर्शक विना घाटामा गएको आहा ! रारा गोल्डकप

अध्यक्ष भन्छन्- हामीलाई घाटामा जान्छ भन्ने थाहा थियो



पोखरा।

सहारा क्लब पोखराको आयोजनामा गत माघमा २० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो । यो प्रतियोगिता आफैमा ऐतिहासिक वर्ष थियो । सहारा क्लब पोखराले निरन्तर आयोजना गरेको प्रतियोगिताको दुई दशक पुगेको थियो भने अर्कातिर एपिएफले प्रतियोगितामा पहिलो पटक उपाधी चुम्दै इतिहास रचेको थियो ।

रोमाञ्चक त के थियो भने एपिएफको प्रशिक्षक कुमार खड्का मुख्य प्रशिक्षक भएर पोखरा आएको नै पहिलो पटक थियो । अर्को कुरा भनेको उनी मनाङ मस्र्याङ्दीमा हुदाँ पनि पहिलो पटक क्लबले उपाधी उचालेको थियो । उनको लागि यो एैतिहासिक क्षण थियो ।

त्यहि ऐतिहासिक क्षणमा पुनः विषम परिस्थितिको सामना गर्न प¥यो प्रतियोगिताले । यस अघिपनि पटक –पटक परिस्थितिको सामना गरेको सहारा क्लबले कोरोना महामारीको पनि सामना गर्न प¥यो । कोरोना महामारीकै कारण क्लबले प्रतियोगितालाई निरन्तरता दिदाँ घाटा समेत व्यहोर्नु परेको छ । प्रतियोगिता संचालन दौरान सेमीफाइनल र फाइनमा मात्रै दर्शक राख्ने गरी प्रतियोगिता आयोजना गरियो ।

प्रतियोगितालाई जिवन्त राख्न आयोजना गरिएको प्रतियोगिताको क्वाटरफाइनलसम्म दर्शक प्रवेश रोक लगाइयो जसको प्रत्यक्ष प्रभाव आयव्ययमा पर्न गयो । दर्शकको अनुपस्थितिमा टिकटमा मात्रै प्रतियोगिताले घाटा व्यहोरेन । सहयोगी संघसंस्थाले पनि विना दर्शकको प्रतियोगितालाई सहयोग गरेनन् ।

दर्शक विना प्रतियोगिता गर्दा दुई ठुला प्रायोजक गुमेको क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज ) बताउँछन् । १९ औं संस्करणमा टिकटबाट मात्रै २२ लाख आम्दानी गरेको प्रतियोगिताले यो वर्ष सेमीफाइनल र फाइनलबाट ७ लाख ८६ हजार ८ सय ९० रुपैयाँ आम्दानी गर्यो ।

शनिबार क्लबले प्रतियोगिताको आयव्यय समेत सार्वजानिक गरेको छ । क्लबकै भवनमा पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजानिक गरेको हो । जस अनुसार क्लबले कुल १२ लाख ६२ हजार ८ सय २६ रुपैयाँ घाटा व्यहोर्नु परेको छ । ‘हामीलाई प्रतियोगिता घाटामा जान्छ भन्ने नै थाहा थियो । हाम्रो लागि प्रतियोगितालाई निरन्तरता दिनुनै ठूलो कुरा थियो’ उनले भने, ‘दर्शक विना खेलाउँदा टिकटमा मात्रै होइन् सहयोगमा समेत नोक्सान भयो ।

दुई वटा ठूला संस्थाले विना दर्शकको प्रतियोगिता भनेरै सहयोग गर्नु भएन् ।’ सहारा एकेडेमी संचालनार्थ वर्षेनी प्रतियोगिताको आयोजना गरिदै आएको छ । ठूलो रकम घाटामा पुगेपनि क्लबले शाखा संस्था सहारा क्लब यू.के. , हङकङ र अष्टे«लियालाई विशेष अनुरोध गरेको अर्थ संकलन सुनिल गुरुङले जानकारी दिए ।

उनका अनुसार सहारा यू.के.बाट ३ लाख रुपैयाँ हङकङबाट पाँच लाख १ हजार रुपैयाँ र अस्ट्रेलीयाबाट १ लाख रुपियाँ सहयोग भएपनि क्लबलाई ३ लाख ४७ हजार ८ सय १८ रुपैयाँ घाटा परेको हो । प्रतियोगिताबाट ६६ लाख ४१ हजरा १ सय ८१ रुपियाँ आम्दानी भएको र ६९ लाख ८९ हजार रुपियाँ खर्च भएको उनले बताए ।

२० औं आहा ! रारा गोल्डकपमा विभागीय क्लब एपिएफले मनाङ मस्र्याङदी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै उपाधी चुमेको थियो । २०६४ सालमा फाइनल पुगेर नेपाल पुलिस क्लबसँग हार व्यहोरेको एपिएफले १४ वर्षपछि फाइनलको यात्रा तय गर्दै इतिहास रचेको थियो एपिएफले उपाधीसँगै १० लाख एक हजार रुपियाँ र मनाङ मस्र्याङदीले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्