जर्मनी महिला युरोको फाइनलमा



लन्डन, (एजेन्सी)  ।

जर्मनीको महिला फुटबल टिम युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा फ्रान्सलाई २–१ गोलअन्तरले हराउँदै सर्वाधिक आठ पटकको च्याम्पियन जर्मनी युरो च्याम्पियनसिप २००२ को फाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्डमा बुधबार राति भएको खेलमा जर्मनीको जितमा एलेसान्द्रा पोपले दुवै गोल गरिन् । फ्रान्सको नाममा रहेको एक गोल भने उपहारमा पाएको थियो ।प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा एलेसान्द्रा पोपको गोलबाट जर्मनीले सुरुवाती अग्रता लिन सफल भएको थियो ।

उनले सेभेन्जा हथको पासमा गोल गर्न सफल भएकी थिइन् । खेलको ४४औं मिनेटमा मर्ल फ्रम्सले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीको स्थितिमा पुगेको थियो । तर, त्यसपछि ७६औं मिनेटमा एलेसान्द्रा पोपले सेभेन्जा हथकै पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् । त्यसपछि, थप गोल निस्कन नसक्दा जर्मनी विजयी हुन सफल भयो । १२औं संस्करण जारी रहँदा जर्मनी नवौंपटक फाइनलमा प्रवेश गर्न सफल भएको हो । यसअघि, आठपटक फाइनल पुगेको जर्मनी आठैपटक च्याम्पियन बनेको हो ।

जर्मनीले १९८९, १९९१, १९९५, १९९७, २००१, २००५, २००९ र २०१३ मा उपाधि उचालेको थियो । अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । फाइनल साउन १५ गते राति हुनेछ । मंंगलबार राति स्विडेनलाई ४–० ले पराजित गर्दै महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।

यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । तर, इंग्ल्यान्ड पहिलो संस्करणमा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्