भारतले वेस्ट इन्डिजलाई हरायो



नयाँ दिल्ली, (एजेन्सी) ।

 भारतीय क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्ध तीन खेलको वानडे सिरिजअन्तर्गत पहिलो खेल ३ रनले जितेको छ ।
कप्तान शिखर धवन, शुभमन गिल र श्रेयस अय्यरको अर्धशतकको सहयोगमा भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ८ रन बनाएको थियो ।

जवाफमा वेस्टइन्डिजले ५० ओभर खेले पनि ६ विकेट गुमाएर ३ सय ५ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका लागि सबैभन्दा बढी काइल मेयर्सले ७५ रन योगदान दिए । त्यस्तै, बे्रन्डन किंगले ५४ रन बनाएका थिए । भारतको तर्पmबाट मोहम्मद सिराज, शार्दुल ठाकुर र युजवेन्द्र चहलले २-२ विकेट लिएका थिए ।

अन्तिम ओभर रोमाञ्चक

वेस्टइन्डिजको लागि अन्तिम ओभरमा १५ रन बनाउनु थियो । तर, टोलीले ११ रन मात्रै जोड्न सक्यो । रोमारियो शेफर्ड र अकिल हुसेनले नटआउट हुँदै जिताउन कोशिस गरे पनि उनीहरूले अन्त्य सुखद गर्न सकेनन् । शेफर्डले ३९ रन र हुसेनले ३३ रन बनाएका थिए । यो हार वेस्टइन्डिजको समग्रमा एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार सातौ हार हो । ९७ रन जोडेका भारतीय क्रिकेटर धवन ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

पहिलो विकेटका लागि शतकीय साझेदारी

भारतको लागि पहिलो विकेटका लागि धवन र गिलले १ सय ५ बलमा १ सय १९ रनको शतकीय साझेदारी गरेका थिए । गिलले ६४ रन बनाएका थिए । दोस्रो विकेटको लागि अय्यर र धवनले ९४ रनको साझेदारी गरेका थिए । अय्यरले ५४ रन बाएर आउट भए । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफ र गुडाकेश मोतीले सर्वाधिक २÷२ विकेट हासिल गरेका थिए ।

वेस्ट इन्डिजमा भारत हारेको छैन

वेस्ट इन्डिजमा भारतीय टोलीले पछिल्लो १६ वर्षदेखि हार आत्मसात गरेको छैन । सन् २००६ मा वेस्ट इन्डिजले भारतलाई एकदिवसीय सिरिजमा हराएको थियो । यसपछि भने भारतले ४ पटक वेस्ट इन्डिजको भ्रमण गर्दा भारतलाई हराउन सकेको छैन । यसपटक भारतले ३ खेलको सिरिजमा १–० को अग्रता लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्