सवारी चेक जाँचबाट ६२ लाख राजस्व संकलन



पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आव ०७८/७९ मा ट्राफिक नियम उल्लंघन गरेका सवारीहरुलाई गरेको कारबाहीबाट ६२ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार गत वर्षको साउनदेखि गत असारसम्म गरिएका ९ हजार ९ सय कारबाहीबाट ६२ लाख ५४ हजार ५ सय रुपैयाँ संकलन भएको हो ।

सबैभन्दा बढी गत वैशाखमा १ हजार ३५० सवारीमा गरिएको कारबाहीबाट ८ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ । सबैभन्दा थोरै गत भदौमा ३५० सवारीलाई गरिएको कारबाहीबाट २ लाख २२ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।

२०७८ सालको साउनमा ६५० सवारीबाट ४ लाख २९ हजार ५ सय, असोजमा ४५० सवारीबाट २ लाख ७० हजार ५ सय, कात्तिकमा ६५० सवारीबाट ३ लाख ८० हजार, मङ्सिरमा ७०० सवारीबाट ४ लाख २ हजार, पुसमा ८०० सवारीबाट ४ लाख ८५ हजार ५ सय, माघमा ८०० सवारीबाट ५ लाख ६ हजार, फागुनमा ९५० सवारीबाट ६ लाख १२ हजार ५ सय र चैतमा १ हजार सवारीबाट ६ लाख ३५ हजार ५ सय रुपैयाँ राजश्व उठेको छ ।

०७९ जेठमा १ हजार २ सय सवारीबाट ८ लाख ३ हजार ५ सय र असारमा १ हजार सवारीबाट ६ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । सवारीअनुसारको कारबाहीमा सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्नेमा कार तथा जीपहरु देखिएका छन् ।

तथ्यांकअनुसार गत वर्ष साउनदेखि यो वर्षको असारसम्म क्रमशः २८२, १३९, १७५, २६९, ३०१, २९७, ३१५, ३६२, ३४०, ४६१, ५६२ र ३८० ओटा गरी कुल ३ हजार ८८३ ओटा कार तथा जिप कारबाहीमा परेका छन् ।

ती सवारीबाट २३ लाख ६१ हजार ५ सय रुपैयाँ राजश्व उठेको छ । सबैभन्दा थोरै कारबाहीमा पर्नेमा ९ सय ४६ ओटा बस रहेका छन् भने तिनीहरुबाट ५ लाख ५९ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।

एक वर्षमा २ हजार ९९ ट्रक तथा टिपरबाट १३ लाख ५१ हजार, १ हजार ११ ओटा ट्रयाक्टरबाट ६ लाख ११ हजार र १ हजार ९ सय ६१ मोटरसाइकल तथा स्कुटरबाट १३ लाख ७१ हजार ५ सय रुपैयाँ कारबाही स्वरुप आएको छ ।

यसैगरी ट्राफिक प्रहरी हवल्दार बैकुण्ठ पौडेलका अनुसार एक वर्षमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएकालाई कारबाही गर्दा ७५ हजार रुपैयाँ उठेको छ । मापसे गरी सवारी चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेका छन् ।

उक्त अवधिमा ८ जना ट्रक तथा ट्यांकरचालक, ३ जना बसचालक, १७ जना कार तथा जिपका चालक र ८ जना ट्रयाक्टरचालकलाई कारबाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्