लेवान्डोस्की बार्सिलोनामा आबद्ध



लन्डन, (एजेन्सी) । 

जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका चर्चित पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की क्याटलान क्लब बार्सिलोनामा आबद्ध भएका छन् ।

बार्सिलोनाले लेवान्डोस्कीलाई चार वर्षका लागि ५० मिलियन युरोमा क्लबमा अनुबन्धित गरेको हो । बायर्नमा अझै एक वर्ष सम्झौता अवधि बाँकी रहँदै ३३ वर्षीय लेवान्डोस्की बार्सिलोनामा आबद्ध भएका हुन् । लेवान्डोस्कीले गत मे महिनामा नै बायर्नमा आफ्नो यात्रा टुंग्याउने निर्णय गर्दै क्लब छाड्ने संकेत गरेका थिए । अब उनी अमेरिका भ्रमणमा रहेको बार्सिलोनाको टोलीमा सामेल हुनेछन् ।

पाँच सय मिलियन युरोको रिलिज क्लज रहेका लेवान्डोस्की सन् २०१४ मा फ्रि ट्रान्सफरमा बोरुसिया डर्टमन्डबाट बायर्न पुगेका थिए ।गत सिजन बायर्नलाई लगातार १०औं पटक बुन्डेसलिगा च्याम्पियन बनाउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए । उनले गत सिजन बायर्नका लागि ४६ खेलमा ५० गोल गरेका थिए । उनले यही एकै सिजनमा सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमान तोडेका थिए ।

लेवान्डोस्कीले बायर्नमा आठ सिजन बिताउँदा ३ सय ७४ खेलमा ३ सय ४४ गोल गरेका छन् । उनी बायर्नमा गर्ड मुलरपछिको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । बायर्नमा ८ सिजन बिताउँदा उनले आठै सिजन बुन्डेसलिगा जितेका छन् । लेवान्डोस्की बार्सिलोनाको चौथो ग्रीष्मकालीन अनुबन्ध हो ।

त्यसैगरी, इटालियन सिरी ए क्लब युभेन्ट्सका डच डिफेन्डर म्याथ्थिज डि लेग्ट भने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । बायर्नले २२ वर्षीय युवा डिफेन्डर म्याथ्थिज डि लेग्टलाई क्लबमा अनुबन्ध गरेको हो । बायर्नले डिफेन्डर डि लेग्टलाई पाँच वर्षको लागि ७७ मिलियन युरो खर्चिएको छ । अब उनी २०२७ सम्म एलिएन्ज एरिनामा रहनेछन् । डि लेग्ट सन् २०१९ मा डच क्लब आयाक्सबाट पाँच वर्षको लागि ३६ पटकको सिरी ‘ए’ च्याम्पियन युभेन्ट्समा आबद्ध भएका थिए ।
उनले युभेन्ट्समा तीन सिजन बिताउँदै अन्यत्र क्लब रोजेका हुन् ।

डि लेग्टले युभेन्ट्सबाट १ सय १७ खेल खेल्दा एक पटक सिरी ‘ए’ र एकपटक कोपा इटालिया जितेका छन् । डि लेग्ट मोटो रकममा बायर्नमा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । यसअघि, बायर्नले सन् २०१९ मा एट्लेटिको मेड्रिडबाट डिफेन्डर लुकास हर्नान्डेजलाई ८० मिलियन युरो खर्चिएको थियो । त्यस्तै, डि लेग्ट बायर्नमा अनुबन्ध हुने दोस्रो डच खेलाडी बनेका छन् । यसअघि बायर्नले मिडफिल्डर रायन ग्रेभेनवर्चलाई क्लबमा अनुबन्ध गरिसकेको छ । बायर्नले लिभरपुलबाट फरवार्ड साडियो माने र आयाक्सबाट राइट ब्याक नोसाइर माजराउईलाई पनि अनुबन्ध गरिसक्दा फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई ५० मिलियन युरोमा बार्सिलोनामा बेचेको हो ।

प्रतिक्रिया दिनुहोस्