फ्रान्स क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) ।

महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेल बराबरी खेले पनि फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
खेलमा दमदार शुरुवात गरेको फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल बेहोर्दै १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिए पनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।

एसिल न्युयोर्क स्टेडियम रोदरह्याम साउथ योर्क सायरमा सोमबार राति भएको खेलमा फ्रान्सले खेलको पहिलो मिनेटमा नै मेल्भिन मालार्डको गोलबाट अग्रता लिएको थियो । उनले क्लारा माटियोको पासमा गोल गर्न सफल भएका थिए ।त्यसपछि फ्रान्सको दुई गोलले भीएआरबाट मान्यता पाएन ।

खेलको ६८औं मिनेटमा मेल्भिनले गोल गरे पनि उनी अफसाइड ठहरिइन् । ८८औं मिनेटमा ग्रेस जियोरोले गोल गरे पनि उक्त मुभमा उनले ह्यान्ड गर्न पुगेको थियो । तर, फ्रान्सले त्यो अग्रतालाई अन्तिम समयमा जोगाउन सकेन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डाग्नीले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाए पनि अर्काे खेलमा बेल्जियमले सफलता हात पार्दा आइसल्यान्ड समूह चरणबाटै बाहिरिन पुग्यो ।

यही समूहको अर्काे खेलमा बेल्जियमले पनि इटालीलाई १–० गोल अन्तरले पराजित गरेपछि समूह उपविजेताको रूपमा क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । बेल्जियमको जितमा टिन डी केइगनीले ४९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । समूह ‘डी’ को अन्तिम दुई खेलसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अब क्वार्टरफाइनलमा फ्रान्सले नेदरल्यान्ड्स तथा बेल्जियमले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ । अर्काे क्वार्टरफाइनलमा इंग्ल्यान्ड र स्पेन तथा जर्मनी र अस्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्