एनएसजेएफको मैत्री खेलमा जित



काठमाडौं ।

अन्नपूर्ण ब्रसेल्स क्लब नेपाल बेल्जियम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण फुटसल खेल मंगलबार सम्पन्न भएको छ ।

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा भएको खेलमा मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित ग¥यो । खेलमा अन्नपूर्ण ब्रसेल्सले दुईपटक अग्रता लिए पनि जोगाउन सकेन । मञ्चको जितमा बासु अवाल र दिल तामाङले समान दुई तथा अभिनव जोशीले एक गोल गरे ।

अन्नपूर्णका सन्तोष खड्काले दुई तथा निराजन श्रेष्ठ र नरेश खड्काले समान एक गोल गरे । विजेता मञ्चलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गरे । सो अवसरमा शाक्यले विदेशमा रहेर पनि खेल क्षेत्रमा सक्रिय नेपालीहरूको प्रशंसा गर्दै नेपाली खेलकुद विकासका लागि सरकारले पनि नयाँ योजना अगाडि बढाइरहेको बताए ।

मन्चका अध्यक्ष देवेन्द्र सुवेदीले विदेशमा बसेर नेपाली हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यहरूको प्रसंशा गरे । अन्नपूर्णका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आफूहरू सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गरेका थिए ।

सन् २०१० देखि स्थापित यो क्लबले फुटबल र म्याराथनका प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यो क्लब बेल्जियम रोयल फुटबल फेडेरेसनमा पनि दर्ता रहेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्