कांग्रेस र एमालेको भागबन्डा मिलेपछि तिलोत्तमाको बजेट पारित



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपाकिलाको नगरसभाले आर्थिक वर्ष ०७९/८० को बजेट सर्वसम्मतले पारित गरेको छ । आज (मंगलबार) सम्पन्न भएको १२औँ नगरसभाको पाँचौ बैठकले आर्थिक वर्ष ०७९/८० को वार्षिक बजेट, आर्थिक विधेयक एंव बिनियोजन विधेयक सर्वसम्मतीले पारित गरेको हो । तिलोत्तमाले १ अर्ब ९८ करोड बराबरको बजेट ल्याएको हो ।

१२औँ अधिवेशनको पाँचौं बैठकबाट बजेट पारितसँगै बिभिन्न ४ वटा समिति गठन गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोश्रो संशोधन) न्यायिक समिति, लेखा समिति र विधायन समिति गठन गरेको छ ।

यसअघि एमालेका जनप्रतिनिधिहरुले समिति गठनका विषयलाई लिएर नगरसभामा सहमति जनाएका थिए । एमालेका जनप्रतिनिधिहरुले विरोध जनाएपछि नगरप्रमुख रामकृष्ण खाँणले २ पटकसम्म गणपूरक संख्या नपुगेको भन्दै सभा स्थगित गरेका थिए ।

सभा स्थगित भएपछि प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा तालाबन्दी गर्दै एमालेका जनप्रतिनिधि विरोधमा उत्रेका थिए । आइतबार नगरसभा स्थगित भएपछि स्थिति थप तनावग्रस्त बनेको थियो । विरोधमा रहेका एमाले जनप्रतिनिधि र कांग्रेसका जनप्रतिनिधिबीच नगरसभाले गठन गर्ने विषयगत समितिमा भागबन्डामा कुरा मिलेपछि नगरसभा शुरु गरिएको हो ।

नगरसभाले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्तबहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ । संयोजक र एक सदस्य एमालेले पाएको छ भने बस्नेत कांग्रेसका तर्फबाट सदस्य बनेका हुन् ।

यस्तै लेखा समिति एमालेबाट निर्नाचित फर्सुराम गिरीको संयोजकत्वमा उमेन्द्र बस्याल एमाले र पूर्णप्रसाद आचार्य माओवादी केन्द्र सदस्य रहेको समिति गठन गरेको छ । त्यसैगरी कांगेसबाट निर्वाचित वडा नं. १३ का अध्यक्ष नारायणप्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका (काँग्रेस) र बालकृष्ण लम्साल एमाले सदस्य रहेको विधायन समिति गठन गरिएको छ ।

त्यसैगरि कांग्रेसबाट निर्वाचित वडा नं. ५ का अध्यक्ष रमेश डुम्रेको संयोजकत्वमा चूर्णाकुमारी विष्ट भण्डारी काँग्रेस र क्षितिजा पौडेल एमाले रहेको सुशासन समिति गठन गरिएको छ । बजेट तथा समतिका नामहरु उपप्रमुख जागेश्वरीदेवी चौधरीले प्रस्ताव गरेकी थिइन् ।

नगरप्रमुख रामकृष्ण खाँणले सर्वसम्मत रुपमा नगरसभाले बजेट र समितिहरु गठन गरेकोमा नगरसभाका सदस्यहरुलाई धन्यवाद दिँदै नगरसभा बैठक समापन भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्