बेलको गोलमा एलए विजयी



लन्डन, (एजेन्सी) ।

रियल मेड्रिडबाट अमेरिकाको मेजर लिग सकर पुगेका वेल्स फरवार्ड गेरेथ बेलको गोलको मद्दतमा लस एन्जेल्स फुटबल क्लब (एलएएफसी) विजयी भएको छ ।

बेलले आफ्नो नयाँ क्लब लस एन्जेल्स फुटबल क्लब (एलएएफसी) बाट डेब्यु गरेका खेलमै गोल गरेर जित दिलाएका हुन् । आइतबार भएको खेलमा एलएले नासभिललाई २–१ गोलअन्तरले पराजित गरेको थियो । खेलमा बेलसँगै इटालियन डिफेन्डर जिओर्जियो किएलिनीले पनि क्लबबाट डेब्यु गरे । किएलिनीले सुरुवाती रोजाईमा खेल्दै डेब्यु गर्दा बेल भने दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

एलएले २७औं मिनेटमा क्रिस्टियन अराङ्गोको सानदार एकल गोलमा अग्रता लिएको थियो । पहिलो हाफको दुई मिनेट समय बाँकी हुँदा नासभिलले बराबरी गोल फर्कायो । हानी मुख्तारले पेनाल्टीमा गोल गर्दै नासभिललाई बराबरीमा ल्याए । दोस्रो हाफको पहिलो मिनेटमा जोसे किफुएन्टेसले गोल गर्दै एलएको अग्रता पुनःस्थापना गरेका थिए । उनले पोस्टमा लागेर फर्केको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए ।

किएलिनी खेलको ६०औं मिनेटमा परिवर्तन भएका थिए । उनको स्थान एडी सेगुराले लिएका थिए । त्यस्तै, बेल भने गोलकर्ता अराङ्गोको स्थानमा ७२औं मिनेटमा मैदान प्रवेश गरेका थिए । अंक तालिकामा एलएएफसी २० खेलमा ४२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्