प्रधानमन्त्री देउवा र सिएनआई टोलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल उद्योग परिसंघबीच देशको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहन लगायतका अन्य विषयमा भेटवार्ता भएको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेका परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले भेटवार्ता गरेको हो ।

देशको आर्थिक अवस्था र सुधार गर्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको परिसंघले जनाइएको छ ।

यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिति, लगानी प्रबद्र्धन गर्न तत्काल एवं दीर्घकालीन रुपमा लिइनुपर्ने नीतिका विषयमा समेत छलफल भएको बताइएको छ ।

विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल भएको छ । भेटमा परिसंघका अध्यक्ष अग्रवालले गतिविधि, आगामी भदौँ २३ र २४ गते हुने पूर्वाधार सम्मेलन, लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराए ।

उक्त छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भिर रुपमा लिँदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिए ।

छलफलमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, महानिर्देशक दीपकराज जोशी लगायतको सहभागिता थियो । त्यस्तै प्रधानमन्त्री देउवाको भेटवार्तामा सिएनआइ युवा उद्यमी फोरमका पूर्व अध्यक्ष च्याङ अग्रवालको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्