बाँके ।
बाँकेका थारू जातिमा सिकलसेल तथा थालसेमिया रोगको प्रकोप अधिक देखिएको छ । सिकलसेल तथा थालसेमिया रोगले थारू जातिलाई गाँज्दै लगेको छ । जिल्लाको थारू बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ठूलो संख्याका मानिसलाई यो रोग देखा परेको छ ।
राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै १ सय ५० जनाको स्याम्पल जाँच गर्दा २१ जनालाई सिकलसेल रोग देखिएको छ । स्वास्थ्य कार्यालय, बाँकेले दश दिनदेखि त्यस क्षेत्रमा सिकलसेल तथा थालसेमिया रोगको स्याम्पल जाँच गरिरहेको छ । कार्यालयले यो अवधिमा ४ सय जनाको स्याम्पल जाँच गरिसकेको छ । त्यसमध्येमा १ सय ५० जनाको नतिजा आएको हो । बाँकीको नतिजा आउँदै छ ।नतिजा आएकामध्ये ३१ प्रतिशतलाई रोग देखा परेको छ । भेरी अस्पतालमा सिकलसेल जाँच गर्ने ‘केमिकल’को अभाव रहेकाले फटाफट नतिजा आउन सकेको छैन । गाउँबाट फटाफट स्याम्पल जाँच गरेर भेरी अस्पतालमा दिइए पनि केमिकल अभावले त्यसको नतिजा छिटो आउन सकेको छैन ।
‘केमिकल अभावले जाँच ढिलो भएको छ’, भेरी अस्पताल स्रोतले भन्यो– ‘हामीले व्यवस्था गरिरहेका छौं ।’स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले थारू समुदायमा सिकलसेल तथा थालसेमिया भन्ने लुकेको समस्या धेरै रहेको बताउनुभयो । ‘पश्चिम नेपालका थारू जातिमा यो रोग १३ प्रतिशत रहेको अध्ययनले देखाएको छ । बाँकेका थारू जातिमा पनि रोग अधिक देखा परेको छ’, स्वास्थ्य अधिकृत श्रेष्ठले भन्नुभयो– ‘बैजापुरमा मात्रै १ सय ५० जनामा २१ जनालाई रोग देखा परेको छ ।’
स्वास्थ्य अधिकृत श्रेष्ठले २ हजार मानिसको स्याम्पल जाँच गर्ने रणनीतिअनुसार कार्यक्रम अघि बढेको बताउनुभयो । गाउँघरमै पुगेर गरिएको परीक्षणमा भेटिएका रोगीलाई त्यही डाक्टर लगेर उपचार गर्ने तयारी रहेको छ । असार महिनाभरि स्याम्पल जाँच हुनेछ ।
बाँकेको कोहलपुरमा नगरपालिका आफैंले सिकलसेल जाँच गरेको छ । कोहलपुर नगरपालिकाले ९ हजार मानिसको स्याम्पल जाँच गर्दा ७ सयमा रोग देखा परेपछि उनीहरूको उपचार गरिरहेको छ । जिल्लामा कोहलपुर, राप्तीसोनारीसँगै बैजनाथमा थारूको बसोबास बढी रहेको छ ।पश्चिम तराईको बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरमा सिकलसेलको समस्या अधिक रहेको छ । यो क्षेत्रमा थारू समुदायको बसोबास बाक्लो छ । अरु समुदायमा पनि फाटफुट देखिएको सिकलसेल थारू समुदायमा अधिक रहेको रिपोर्टले देखाएको छ । थारू समुदायमा अधिक देखिएकाले सिकलसेललाई जनस्वास्थ्य समस्या मान्दै सरकारले उपचारको व्यवस्था मिलाएको छ । भेरी अस्पताल, नेपालगन्जमा यसको उपचार व्यवस्था मिलाइएको छ ।
सिकलसेल लामो समयसम्म पत्ता नै लागेको थिएन । नेपालगन्जका डाक्टर राजन पाण्डेलगायतले यो रोग पत्ता लगाएको बताउने गरिन्छ । रोग पत्ता लागेपछि र थारूमा अधिक देखिएपछि सरकारले जनस्वास्थ्य समस्या मान्दै जाँच र उपचारको व्यवस्था मिलाए पनि बेलाबेलामा सुविधा रोकिने गरेको छ । रोग लागेका व्यक्तिको एकैपटक मृत्यु भइनहाले पनि विस्तारै यसले गलाउने गरेको छ । सिकलसेल थारूलाई सिध्याउने रोगका रूपमा देखिएको छ । विगतमा औलोसम्म लडेर बसेका थारूलाई सिकलसेल देखिएको डा. राजन पाण्डेको भनाइ छ । ‘औलोले मर्ने मरिहाले । बचेकालाई सिकलसेल देखियो’, डा. पाण्डेको भनाइ छ– ‘यो वंशाणुगत रोग हो ।’
सिकलसेल भएका व्यक्तिले अर्को समुदायसँग विवाह गरेमा जन्मिने बच्चामा रोग देखा नपर्ने सम्बद्धहरू बताउँछन् ।