आफ्नो गीत प्रयोग गरेकोमा ट्रम्प प्रशासनसँग एरियाना ग्रान्डे असन्तुष्ट


अमेरिकी पप गायिका एरियाना ग्रान्डेले आफ्नो गीतलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासन नीतिसम्बन्धी प्रचार सामग्रीमा प्रयोग नगर्न आग्रह गरेकी छन्।

ह्वाइट हाउसले सोमबार टिकटकमा सार्वजनिक गरेको एक भिडियोमा सीमा सुरक्षा अधिकारीहरूले मानिसहरूलाई हतकडी लगाउँदै र नियन्त्रणमा लिँदै गरेको दृश्य देखाइएको थियो। उक्त भिडियोमा ग्रान्डेको सन् २०२४ मा सार्वजनिक भएको लोकप्रिय गीत ‘बाय’ प्रयोग गरिएको थियो। भिडियोमा “राष्ट्रपति ट्रम्पले इतिहासकै सबैभन्दा सुरक्षित सीमा सुनिश्चित गरेका छन्” भन्ने सन्देश पनि समावेश गरिएको थियो।

भिडियो सार्वजनिक भएपछि ग्रान्डेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफ्नो संगीतलाई अमानवीय र घृणित गतिविधिसँग जोडेर प्रयोग नगर्न” आग्रह गरिन्।

यता ह्वाइट हाउसकी प्रवक्ता अबिगेल ज्याक्सनले भने ट्रम्प प्रशासनको आप्रवासन नीतिको बचाउ गर्दै अवैध रूपमा अमेरिका प्रवेश गरेका अपराधीहरूले निर्दोष अमेरिकी नागरिकलाई क्षति पुर्‍याएको दाबी गरेकी छन्।

हालै ट्रम्पले आफ्नो कार्यकालको बाँकी समयका लागि आप्रवासन निकायहरूलाई ७० अर्ब डलरभन्दा बढी बजेट उपलब्ध गराउने विधेयकमा हस्ताक्षर गरेका थिए। सोही सन्दर्भमा तयार गरिएको भिडियोमा पक्राउ, हिरासत र नियन्त्रण केन्द्रमा लगिएका व्यक्तिहरूका दृश्य समावेश थिए।

ग्रान्डेको आपत्तिपछि भिडियोबाट गीतको ध्वनि हटाइएको र उनको टिप्पणी पनि मेटाइएको बताइएको छ। त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिप्पणी हटाइएको विषयमा प्रश्न उठाएका थिए।

यसअघि पनि ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी भिडियोमा गीत प्रयोग गरेपछि गायिका सब्रिना कार्पेन्टरले आफ्नो संगीतलाई “अमानवीय एजेन्डा” सँग नजोड्न चेतावनी दिएकी थिइन्।

ट्रम्पको चुनावी अभियान र राजनीतिक गतिविधिमा संगीत प्रयोग गरिएको विषयमा एबीबीए, सेलिन डियोन र बेयोन्से लगायतका चर्चित कलाकारहरूले पनि असन्तुष्टि जनाउँदै आफ्नो गीत प्रयोग नगर्न आग्रह गरिसकेका छन्।