काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सिफारिस गरेको नयाँ मन्त्रीहरूलाई सोमबार सपथ ग्रहण गराइने भएको छ । एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा नयाँलाई सिफारिस गरेको हो ।
एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेको स्थानमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्थानमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसनकुमार श्रेष्ठको स्थानमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको स्थानमा हीराचन्द्र केसीलाई सिफारिस गरेको हो ।
नयाँ मन्त्रीहरूको नामावली आइतबार नै पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसक्नुभएको छ । शहरी विकास मन्त्रीका लागि सिफारिसमा पर्नुभएका नेता मेटमणि चौधरीले नेपाल समाचारपत्रलाई सोमबार शपथ हुने जानकारी दिनुभयो ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीहरूलाई नियुक्ति गर्नुहुनेछ ।एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीमा यसअघि भएको सहमतिअनुसार नै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीले यसअघि गरेको सहमतिअनुसार छ महिनापछि नयाँ मन्त्री पठाइएको हो ।’
पार्टीको निर्णय स्वीकार गर्छु : मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पार्टीले गरेको निर्णय स्वीकार गर्ने बताउनुभएको छ । उहाँले पार्टीले निर्णय गरेर फिर्ता बोलाएकाले आफू मन्त्री पद छोडी फर्किन तयार रहेको बताउनुभएको हो ।उहाँले नेपाल समाचारपत्रसँग संक्षिप्त कुराकानी गर्दै आफू मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिई उल्लेख्य काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले मन्त्री पदमा रहँदा विगतका सरकारका पालममा गरिएका गलत कामहरू सबै हटाएको छु, देश र नागरिकको हितमा काम गरेको छु, मैले गरेका काममा नयाँ आउने मन्त्रीज्यूले पनि सहमति जनाई राम्रा काम गर्नुहुनेछ भन्ने पूर्ण आशावादी छु ।’
कुराकानीकै क्रममा मन्त्री आलेले पशुपति धर्मशालामा बतास समूहले खोलेको होटेल, नारायहिटी दरबार सङ्ग्रहालय कब्जा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकको सहुलियतका लागि सटल बस सञ्चालनदेखि क्यासिनो स्ञ्चालन गरेर सरकारलाई रोयल्टी नतिर्ने तारे होटेल सम्मलाई कारबाही गरेको बताउनुभयो । उहाँले थप भन्नुभयो– ‘मैले पदमा रहँदा नागरिकको शिर निहुरिन दिइनँ, देशका अहितमा भएका र गरिएका सबै काम अन्त्य गरिदिएँ यो नै मेरा लागि ठूलो उपलब्धि हो ।’
आफू मन्त्री पदमा आउने समयमा आलोपालो गरी मन्त्री पदमा बस्ने पार्टीको निर्णय भएकाले पार्टी र अध्यक्षले फिर्ता बोलाउनका लागि गर्नुभएको निर्णय आफ्ना लागि सकारात्मक भएको समेत मन्त्री आलेले बताउनुभयो ।











प्रतिक्रिया