टप–५ युरोपेली लिग विजेता



  • कविरस शर्मा 

जारी सिजनको उत्कृष्ट पाँच युरोपेली फुटबल लिग र युरोपा लिग विजेताको छिनोफानो भइसकेको छ । यस सिजन टप–५ लिगको अन्तिम चरणको खेल र युरोपा लिग सकिएसँगै उपाधि विजेता र रेलिगेसनमा पर्ने क्लबको पनि टुङ्गो लागेको हो । युरोपा लिग युरोपकै दोस्रो प्रतिष्ठित फुटबल लिग प्रतियोगिता हो, जसमा यसपटक जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्ट च्याम्पियन बन्यो ।

टाइब्रेकरमा स्कटिस क्लब रेन्जर्सलाई ५–४ ले पराजित गर्दै फ्रान्कफर्ट ४२ वर्षपछि युरोपा लिग च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटसम्मको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलमा अतिरिक्त समय थपिएको थियो । तर, अतिरिक्त समयमा थप गोल नभएपछि खेलको नतिजा टाइब्रेकरमार्फत भयो । यसअघि, सन् १९८० मा फ्रान्कफर्ट युरोपा लिग च्याम्पियन बनेको थियो । अब आगामी मे २९ मा रियल मेड्रिड र लिभरपुलबीच हुने यूरोपकै प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनल खेलपछि यस सिजनको युरोपेली फुटबल लिगको विधिवत समाप्ति हुनेछ । त्यसैगरी इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्देसलिगा, इटालियन सिरी ए र फ्रेन्च लिग वानलाई युरोपेली उत्कृष्ट–५ लिग मानिएको छ । यस सिजन टप–५ लिगको उपाधि विजेता र रेलिगेसनमा पर्ने क्लबको पनि टुङ्गो लागेको छ ।

इंग्लिस प्रिमियर लिग

इंग्लिस प्रिमियर लिगमा पुनः एकपटक म्यानचेस्टर सिटीले लिग उपाधि जितेको छ । निकै प्रतिस्पर्धात्मक अन्तिम दिनमा सिटीले पाँच मिनेटमा तीन गोल गर्दै उपाधि जोगाएको हो । प्रिमियर लिगको अन्तिम दिनको खेलमा दुई गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटीले उपाधि उचाल्न सफल भएको हो । सिटीले लिगको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ गोलअन्तरले पराजित गरेपछि लिग उपाधि जितेको हो । समग्रमा सिटी ३८ खेलमा ९३ अंकसहित उपाधि जोगाउन सफल भयो ।

यदि उक्त खेलमा सिटीले हार बेहोरेको भए लिभरपुलले उपाधि जित्ने समिकरण बनेको थियो । लिभरपुल ३८ खेलमा ९२ अंकसहित दोस्रो स्थानमा रह्यो । एक समय सिटी २–० ले पछि पर्दा लिभरपुललाई उपाधि होडमा अघि बढ्न एक गोल मात्र आवश्यक थियो । तर, सिटीले आफ्नो खेलमा लगातार तीन गोल गर्दै ३–२ को अग्रता लिएपछि लिभरपुलको आशामाथि तुषारापात भयो । लिभरपुलले यो सिजन एफए कप र इंग्लिस फुटबल लिग कपको उपाधि जितिसकेको छ । अब लिभरपुलले २८ मे मा युइएफए च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस क्लब रियल मेड्रिडसँग खेल्नेछ । उक्त खेलमा च्याम्पियन बन्न सके लिभरपुलले सिजनको तेस्रो उपाधि जित्दै जारी सिजनको अन्त्य गर्नेछ । यसपटक बर्नली, वाट्फर्ड र नर्विच सिटी प्रिमियर लिगबाट घटुवा हुने टोलीमा परेको छ । त्यस्तै, फुलहम, बर्नमाउथ, हडर्सफिल्ड-नटिङघम फरेस्ट भने बढुवा हुँदै प्रिमियर लिगमा उक्लेका छन् ।

स्पेनिस ला लिगा

जारी सिजनको स्पेनिस ला लिगामा रियल मेड्रिडले पुनः एकपटक बाजी मा¥यो । रियल चार खेल बाँकी छँदै लिग च्याम्पियन बन्न सफल भयो । ला लिगाअन्तर्गत स्पान्योलविरुद्धको खेलमा सानदार जित निकाल्दै रियल मेड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको हो । रियलले घरेलु मैदानमा स्पान्योललाई ४–० गोल अन्तरले पराजित गरेको खेल नै रियललाई उपाधि दिलाउन पर्याप्त बन्यो । रियलको यो समग्रमा ३५औं ला लिगा उपाधि हो । रियल पछिल्लोपटक २०१९–२० को सिजनमा च्याम्पियन बनेको थियो । यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३८ म्याच खेल्दा २६ मा जित, ८ बराबरी र ४ हारको नतिजा निकाल्यो ।

रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनालाई १३ अंकले पछि पार्दै उपाधि जितेको हो । दोस्रो हुने बार्सिलोनाको ३८ खेलबाट ७३ अंक मात्र रहेको छ । यसपटक रियल मेड्रिड सहित बार्सिलोना, एट्लेटिको मेड्रिड र सेभिल्लाले स्पेनिस ला लिगाबाट उत्कृष्ट चारमा रहँदै यूईएफए च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् । त्यस्तै, रियल बेटिस, रियल सोसीडाडले भने युरोपा लिगमा स्थान सुरक्षित गरे । यसपटक स्पेनिस ला लिगाबाट घटुवा हुनेमा ग्रानाडा, लेभान्ते र अलाभेस छन् ।

इटालियन सिरी ‘ए’

एसी मिलान यस सिजनको इटालियन सिरी ‘ए’ लिग च्याम्पियन बन्यो । जारी सिजनको सिरी ‘ए’ को अन्तिम खेलमा सस्सुलोलाई ३–० गोलअन्तरले पराजित गरेपछि मिलान १९औं पटक सिरी ‘ए’ च्याम्पियन बनेको हो । यसपटक एसी मिलान ११ वर्षपछि सिरी ‘ए’ च्याम्पियन बन्न सफल भयो । यसअघि मिलान सन् २०१०–११ को सिजनमा च्याम्पियन बनेको थियो । मिलानले ३८ खेलबाट ८६ जोड्दा दोस्रो स्थानको इन्टरले ८४ अंक बटुल्यो । सस्सुलो ५० अंक जोडेर ११औं स्थानमा रह्यो ।
इन्टर मिलानको प्रशिक्षण सम्हालिसकेका स्टेफानो पिओलीकै प्रशिक्षणमा मिलानले आफ्नो पुर्व क्लब इन्टरलाई दुई अंकले पछि पार्दै उपाधि जित्न सफल भएको हो । पिओली सन् २०१९ मा इन्टरको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । यसपटक सिरी ए बाट काग्लियारी, जेनोआ, भेनेजिया रेलिगेसनमा पर्दा क्रेमोनेसे, लेचे, मोन्जा÷ब्रेसिया भने शीर्ष डिभिजनमा बढुवा भए ।

जर्मन बुन्डेसलिगा

जर्मनी बुन्देसलिगामा बायर्न म्यूनिखले आफ्नो आधिपत्य कायम राख्न सफल भयो । जर्मन क्लासिकेरमा बोरुसिया डर्टमन्डलाई पराजित गर्दै बायर्न लगातार १०औं सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बन्यो । निर्णायक खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ ले पराजित गर्दै बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो । बायर्नको यो समग्रमा ३२औं बुन्डेसलिगा उपाधि हो । सिजन सकिँदा बायर्नले ३४ खेलबाट ७७ अंक जोड़्यो । दोस्रो स्थानमा डर्टमन्डको भने समान खेलबाट ६९ अंक छ । बायर्न र मुख्य प्रशिक्षक जुलियन नागेल्समानले भने यसपटक सिजनको दोस्रो उपाधि जितेको हो ।

यसअघि बायर्न र नागेल्समानले जर्मन सुपर कपको उपाधि हात पारेको थियो । सन् २०१२–१३ को सिजनपछि बायर्नले घरेलु फुटबलमा एक वर्चस्व कायम गर्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्यसअघिका अघिल्लो दुई सिजन बायर्नको आधिपत्य तोड्दै डर्टमन्ड लगातार दुई सिजन च्याम्पियन बनेको थियो । लिगको समाप्तिपछि बायर्नसँगै बोरुसिया डर्टमन्ड, बायर लेभरकुसन र आरबी लेइप्जिग आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट भएका छन् । त्यस्तै, युनियन बर्लिन र फ्राइबर्गले यूरोपा लिगमा स्थान पक्का गरे । जारी सिजनमा रेलीगेसन हुँदै ग्रेथर फर्थ, अर्मिनिया घटुवा हुँदा साल्के ०४ र वेर्डर ब्रेमेनले शीर्ष डिभिजनमा स्थान बनाए ।
फ्रेन्च लिग वान
यसपटक फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) कीर्तिमानी १०औं पटक च्याम्पियन बन्यो । लिगको चार खेल बाँकी छँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । च्याम्पियन बनेसँगै पीएसजीले सर्वाधिक लिग वान जित्ने सेन्ट इटिएनसँगको कीर्तिमानसँग बराबरी गरेका छन् । केही साताअघि भएको निर्णायक खेलमा लेन्ससँग १–१ गोलको बराबरीमा रोकिए पनि पीएसजीलाई उपाधि जित्न पर्याप्त बनेको थियो । उक्त बराबरीको नतिजापछि पीएसजीले ३४ खेलमा ७८ अंक जोडेसंगै उपाधि सुनिश्चित गरेको थियो । पीएसजीले समग्रमा यस सिजनको सम्पूर्ण ३८ म्याच खेल्दा ८६ अंक बटुल्यो । जसमा २६ मा जित, ८ बराबरी र ४ मा हारको नतिजा आत्मसात ग-यो । त्यस्तै, दोस्रो स्थानमा रहेको मार्सेले समान खेलबाट ७१ अंक जोड़्यो । आगामी यूईएफए च्याम्पियन्स लिगमा पीएसजीसहित मार्से र मोनाकोले स्थान बनाउँदा रेन्नेस युरोपा लिगका लागि छनोट भयो । त्यस्तै, बोर्डो र मेट्ज रेलिगेसनमा पर्दा टुलुज र अजासियो शीर्ष स्थानमा उक्लेका छन् ।

प्रतिक्रिया दिनुहोस्