सिंहदरबार छिर्नका लागि यत्रो सास्ती किन ?



नेपाल अधिराज्यभरका आम नागरिक आफ्नो व्यक्तिगत काम लिएर मन्त्री वा सरकारी कर्मचारी भेट्नका लागि सिंहदरबार आउँछन् । जनप्रतिनिधिहरु सबै स्थानीयको समस्या बोकेर वा बजेट माग्न सिंहदरबारसम्म धाउँछन् । देशका ठूल्ठूला ओहोदाहरु बस्ने एकमात्र ठाउँ हो सिंहदरबार ।

यहाँ दैनिक निकै भीडभाड हुन्छ । राजनीतिक दलहरुले हामी गाउँ–गाउँमा सिंहदरबार पु-याउँछौं भने पनि सो आश्वासनमै सीमित भयो । अहिले पनि सिंहदरबार छिर्नेको संख्यामा कुनै कमी आउन सकेको छैन । जनमानस एकदमै धेरै हुन्छन् ।तर, सिंहदरबार छिर्नका लागि गाह्रो छ कि कुरै नगरौं । अझ गाउँ–गाउँबाट आएकालाई धेरै नै सकस छ । कुन मन्त्रालय हो ? कहाँ छ ? सचिव को हो ? मन्त्री को हो ? त्यसबारे पनि ज्ञान नभएको हुन सक्छ । सिंहदरबार छिर्नका लागि सबैभन्दा कठिन काम भनेकोचाहिँ पास मगाउनु हो । बाहिरबाट फोन गरेर आफ्नो नाम र जिल्ला खुल्ने परिचयपत्र देखाउनुपर्छ । नागरिकतामा लेखेअनुसार नाम मिलेन भने पास पाइँदैन । अझ, भित्र छिर्नलाई पटक–पटक फोन गर्दा पनि मन्त्रालयभित्रका कर्मचारीले फोन उठाउँदैनन् ।

बत्ती भए पनि नभएको बहाना बनाउँछन् । पास बनाउनका लागि नेट छैन भनेर ढाँट्न पनि उनीहरु पछि हट्दैनन् । मन्त्रालयमै भएका मन्त्री र सचिव पनि नभएको बताउँछन् । तर, यसले टाढाटाढाका आमनागरिक र जनप्रतिनिधिलाई कति सकस भएको छ, उनीहरुले बुझेका छन् । दुर्गम जिल्लाबाट महँगो गाडीभाडा तिरेर काठमाडौं आएका हुन्छन् । आफ्नो समस्या कसैले त सुन्देला भनेर आएकाहरु अन्ततः निराश भएर फर्किन बाध्य हुन्छन् । बेकारमा ती सीधासाधी जनताको गाडीभाडा खेर जान्छ । उता, लजमा बसेको खर्च भने छुट्टै छ ।

यता, मन्त्रालयका कर्मचारीहरुले राम्रोसँग नागरिकहरुको कुरा पनि सुन्दैनन् । बोल्दाबोल्दै फोन काटिदिने, झर्किने, रिसाउने गर्दछन् । राम्रोसँग बोलीवचन गर्दैमा तिनीहरुको के जान्छ ? भन्दाभन्दै फोन काट्नु नैतिकता हो ? आफ्नो वा पूरै स्थानीयको समस्या बोकेर आएसँग झर्किनु मानवता हो ? मन्त्रालयका कर्मचारीको काम जनताको गुनासो सुन्नु र उनीहरुलाई सेवासुविधा प्रदान गर्नु हो । त्यति पनि गर्न नसक्ने कर्मचारीहरुले किन जागिर खाने ? बरु, छोडिदिने । सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयदेखि लिएर थुपै मन्त्रालयहरु छन् । त्यहाँभित्र भएका कर्मचारी सबैले जनताले तिरेको करबाट तलबभत्ता र सेवासुविधा पाएका छन् ।

तर, त्यही जनतालाई हेप्न खोज्नु यिनीहरुलाई नैतिकताले दिन्छ ? मन्त्रालयका कर्मचारीहरु कार्यालय आउँछन्, दिनभरि सामाजिक सञ्जालमा झुन्डिछन् । जनताले तिरेको करबाट टेलिफोन जडान गरेको छ । दिनभरि आफन्तसँग कुराकानी गरेर बस्यो । राजनीतिको गफगाफ गर्ने, क्यान्टिनमा गएर भाषण ठोकेर बस्ने उनीहरुको दैनिकी यही नै हो । एकाध कर्मचारी मात्र आफ्नो कुर्सीमा भेटिएलान् । हाजिर ग-यो घरतिर दौडियो । सरकारी कर्मचारीको काम भने दिन कटानी र माना पचानी मात्र हो । फोन गप्यो भने उनीहरुको फोन पनि उठ्दैन ।

तोकिएको समयमा मन्त्रालय नआउने र आए पनि आफ्नो कुर्सीमा नबस्ने जस्ता गुणवान् कर्मचारी सिंहदरबारले पाएको छ । कुर्सीचाहिँ भित्र, कर्मचारीचाहिँ बाहिर । सधैँ सर्वसाधारणलाई सास्ती दिने काम मात्र भइरहेको छ । सिंहदरबारमा मात्र नभई मुलुकका हरेक सरकारी कार्यालयमा कामचोर प्रवृत्तिका कर्मचारीहरु छन् । आज तलबभत्ता र भोलि पेन्सन यिनीहरुले जनताले तिरेकै करबाट खाने हो । तर, त्यही जनताको काम गर्न यी कामचोर कर्मचारी किन हिचकिचाउँछन् ? आफ्नो काम लिएर कार्यालय पुगेका सर्वसाधारणहरुले सरकारी कर्मचारीका कारणले दुःख मात्र पाउँछन् ।

२०६२–६३ सालमा राजतन्त्रको विरोध गर्दै नेपालीहरु सडकमा उत्रिए । नेपालीले गरेको आन्दोलनले राजतन्त्र हट्यो, लोकतन्त्र आयो । लोकतन्त्र आए पनि यी सरकारी कर्मचारीको व्यवहारमा कुनै परिवर्तन आएन । लोकतन्त्रपछि सिंहदरबार छिर्न सहज हुन्छ र कामचोर कर्मचारीको काम गर्ने शैलीमा परिवर्तन आउँछ भनेर हरेक नेपालीको आशा थियो । जुन अहिले आएर निराशामा बदलियो । देशको व्यवस्था फेरियो तर सिंहदरबार छिर्नका लागि बस्नुपर्ने लाइन र कर्मचारीको रुखो व्यवहार फेरिएन । जनताको आँटले राजनीति परिवर्तन भयो तर कर्मचारीको भ्रष्टाचार गर्ने आनिबानीमा केही फरक परेन ।

अहिले घूसविना केही काम नै हुँदैन । घूस दियो भने छिन्मै काम हुन्छ । दिन सकेन भने महिनौं पनि बित्छ । मन्त्री र सचिवको आफन्तलाई महिनावारी पास बनाइदिएको पाइन्छ । उनीहरु महिनाभर सिंहदरबार छिर्न पाउँछन् । तर, सर्वसाधारणको हकमा त्यस्तो छैन । पाँच मिनेट सिंहदरबार छिर्न पनि युद्ध लडेझैँ अनुभव सर्वसाधारणलाई हुन्छ । जनता सडकमा नउत्रिएको भए आज राजतन्त्र कायमै हुन्थ्यो होला । नेपालीहरु शहीद नभइदिएको भए राजनीतिक परिवर्तन हुँदैनथ्यो । जनताकै बलमा आज यिनीहरु सत्तामा पुगे । जनताले मत दिए मन्त्री, प्रधानमन्त्री बनाए ।

आफू भोको पेट बसेर यिनीहरुको पेट पालेका छन् । जनताले कर नतिर्ने हो भने मन्त्री, प्रधानमन्त्री भन्नेहरुले खान पनि पाउँदैनन् । हरेक मुलुकमा सबैभन्दा माथि जनता हुन्छन् । जनताले चाहे भने पूरै मुलुक नै उथलपुथल बनाइदिन सक्छन् । हिजो राजतन्त्र हटाउनेदेखि लिएर शहीद बनिदिने हामी । यिनीहरुलाई राजनीतिक क्षेत्रमा ल्याउने पनि हामी । तर, आज यिनीहरुलाई भेट्नकै लागि यत्रो सास्ती । गाउँ–गाउँमा सिंहदरबार पुग्छ भन्नेहरु कता हराए ? एउटै भएको सिंहदरबारमा त जनताले सुविधा पाउन सकेका छैनन् । सिंहदरबार सबै जनताको हो ।
जो कोही नेपाली पनि सिंहदरबार छिर्न पाउनुपर्छ । अरुलाई बाहिर घन्टौं उभ्याएर यसरी हैरानी दिन पाइँदैन । मन्त्रालयका हरेक कर्मचारीहरुले आफूलाई सबैभन्दा ठूलो ठान्छन् ।

घमण्डको त कुरै नगरौं । सिंहदरबारको गेट हरेक नेपालीको लागि जति बेला पनि खुला गर्नुपर्छ । जनतामाथि शोषण गर्ने र शासन चलाउने काम नगरौं । अब फेरि पनि जनता सडकमा उत्रिए भने सिंहदरबारको जरा उखेलेर फ्याँकिदिन्छन् । सबैलाई आफ्नो समस्या र गुनासो राख्ने हक–अधिकार छ । सिंहदरबारभित्र छिर्न दैनिक ठूलो जनमास हुन्छ । पास लिनका लागि घन्टौं उभिनुपर्ने हुन्छ । तर, त्यहाँ एउटा बस्ने ठाउँको व्यवस्था पनि गरिएको छैन ।भर्खरका त जसोतसो उभिएलान् तर बूढाबूढीलाई कति गाह्रो होला, कसैले निक्र्यौल गरेको छ ? मन्त्री, सचिव र प्रधानमन्त्रीको आँखामा जनताको दुखाइ नपरेकै हो ? हिजो राजाले जनताको भावना नबुझ्दा र जनतामाथि शासन चलाउन खोज्दा राजतन्त्रको जरा उखेलियो । अब पालो मन्त्री, प्रधानमन्त्री र सरकारी कर्मचारीको हो ।

अब पनि राजनीतिक दल र कर्मचारी नसुध्रिने हो भने राजनीतिक दल र सरकारी कर्मचारी पूरै परिवर्तन हुन बेर लाग्दैन । जनताभन्दा ठूलो कोही छैन भनेर कसैले पनि बिर्सिने काम नगरौं । किनकि जब–जब जनतामाथि शासन चलाउन र अत्याचार गर्न खोजिन्छ तब–तब ठूलो क्षति हुन्छ ।नेपाल सरकारले सात प्रदेश बनाएको छ ।

सात प्रदेश घोषणा गरे पनि सिंहदरबार आउनेको चाप घटेन । प्रदेश सरकारले छिटोछरितो काम गरिदिएको भए सिंहदरबार आउनेको चाप स्वाट्टै घट्थ्यो ।नेतृत्व गतिलो नहुँदा मुलुकको हालत कस्तो हुन्छ भनेर श्रीलंकाबाट सिकौं । जसरी माटो मुछेपछि जस्तो पनि भाडा बनाउन सकिन्छ । त्यसै गरी, नेताले चाह्यो भने मुलुक समृद्ध बनाउन सक्छ । देश सपार्ने कि बिगार्ने, नेता र सरकारी कर्मचारीको हातमा हुन्छ । काम गर्न नसकेका कारण केही हुन्छ कि भन्ने त्रासले नेताहरु सुरक्षाको घेराभित्र हिँड्छन् । सरकारी कर्मचारी भ्रष्टाचार मात्र गर्छन् । व्यापारीहरु हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । अन्ततः मर्ने हामी नेपाली जनता ।
अनुसा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्