भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० प्रतिशत वृद्धि



काठमाडौं ।

विश्व व्यापी रूपमा कोभिड १९ को सङ्क्रमणको त्रास केही हदसम्म कम भएको महसुस गर्न नपाउँदै पुनः वृद्धि भएको छ । छिमेकी मुलुक भारतमा झन्डै तिन महिनाको दौरानमा कोरोना सङ्क्रमण दरमा कमी आउँदा नागरिकहरू आ आफ्नो कार्यमा सक्रिय भएसँगै कोरोना सङ्क्रमण पुनः बढ्न थालेको छ । आइतबारको तुलनामा भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० प्रतिशत वृद्धि भएको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शनिवार भारतमा १ हजार १ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा आइतबार ८९ दशमलभ ८ प्रतिशतले वृद्धि भई २ हजार १ सय ८३ जनामा सङ्क्रमण देखिएको जनाएको छ । त्यसै गरी आइतबार २ सय १४ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२२ अप्रिल ११ देखि १७ अप्रिल सम्म ३५ प्रतिशतले वृद्धि भएको जनाएको छ । यो वृद्धि दिल्ली, हरियाणा र उत्तर प्रदेशमा भएको समेत जनाएको छ । भारतमा गएको हप्ता ६ हजार ६ सय १० जनामा सङ्क्रमण पुष्टि भएको थियो भने दुई साता अघि ४ हजार ९ सय थियो । दुई साता अधि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २७ जना रहेकोमा एक साता अघि ५४ जनाको मृत्यु भएको जनाएको छ ।

यो अवधिमा कोरोना सङ्क्रमण दर उच्च हुँदै जाँदा दिल्लीमा  ५ दशमलभ ३३ प्रतिशत पुगेको छ । दिल्लीको सङ्कट व्यवस्थापन प्राधिकरणले कोरोना मापदण्ड तय गर्न तत्कालै बैठक बोलाउने भएको छ । संक्रमण दर ५ प्रतिशतभन्दा बढी भयो भने भारत सरकारले प्रतिबन्ध लगाउन सक्ने प्रावधान रहेको जनाएको छ । यसअघि १३ जनवरीका दिन दिल्लीमा दैनिक २८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए । त्यति बेला सङ्क्रमण दर ३० प्रतिशतभन्दा बढी थियो । संक्रमणदर बढेसँगै चिकित्सकहरूले सार्वजनिक स्थानमा मास्क लगाउने, हात धुनेर, सफाइमा ध्यान दिनेजस्ता कार्यमा निरन्तरता दिन र नआत्तिन भनेका छन् ।

नेपालमा कोरोनाको अवस्था 
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ९१ जनाको नमुना परीक्षण गरिएकोमा १० जना नयाँ सङ्क्रमित र ३ सय ५० सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी २४ घण्टामा ३४ जना निको भएर घर फर्किएका छन् । मृत्यु सङ्ख्या शून्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्