काभ्रेपलान्चोक जिल्लामा ४४ वर्ष देखि मालपोतको सेवा 

प्रविधि र नागरिकमैत्री बन्ने अठोट



काभ्रे ।

नेपालको जग्गा प्रशासनमा पोता रजिस्ट्रेसनको रूपमा पहिलो लिखत पारित भएको एक सय वर्षको इतिहासलाई सम्झँदै देशभरका मालपोत कार्यालयहरूले आधुनिक, प्रविधि र नागरिक मैत्री सेवा प्रदान गर्ने अब्बल कार्यालयको रूपमा परिचित हुने अठोट गरेका छन् । मालपोत कार्यालय काभ्रेपलान्चोकलाई २०३५ साल वैशाख १ गते देखि जिल्लाभर कार्यक्षेत्र रहने गरी मालपोत ऐन २०३४ अनुसार कार्य गर्ने जिम्मेवारी प्रदान गरेको थियो ।

‘मालपोत र नापी कार्यालयले जिल्ला भित्र रहेका निजी, सार्वजनिक र सरकारी सबै जग्गाको व्यवस्थापन तथा संरक्षण र सुरक्षा गर्नु पर्छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘मालपोत कार्यालयमा काम गर्ने केही कर्मचारीको स्वार्थका कारण सबै कर्मचारी र कार्यालयको सेवा त्यस्तै हो कि ? भन्ने विगतमा भए पनि अहिले त्यस्तो छैन र हुनु पनि हुँदैन ।’ मालपोत कार्यालयको सेवालाई प्रभावकारी बनाउन कार्यालय एक्लैको प्रयासले सम्भव नभएको बताउँदै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरोकारवाला निकाय र सेवाग्राहि आफै पनि जिम्मेवार हुनु पर्ने बताउनु भयो । सेवालाई अझै प्रविधिमैत्री बनाउन गुणस्तरमा ध्यान दिन अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले राष्ट्रिय परिचयपत्र अनिवार्य हुने गरी सरकारले लिखत पारित गर्ने व्यवस्था गर्दै गरेको बताउनु भयो ।

मालपोत कार्यालय काभ्रेपलान्चोकले आयोजना गरेको लिखत पारितको शतवार्षिकीको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीले एकद्धार प्रणालीको सफल कार्यान्वयनका लागि भवनको पुर्नसंरचना, डिजिटल टोकन प्रणाली, सबै स्थानीय तहमा भूसेवा केन्द्र संचालन, एक कर्मचारी एक कम्प्युटर विधी, स्थानीय तहका कर्मचारीलाई जग्गा प्रशासन सम्बन्धी अभिमुखीकरण लगायतका कार्यहरू शुरु गरिने बताउनु भयो ।

दक्ष जनशक्ति र प्रविधिमैत्री कर्मचारीको व्यवस्थापनका लागि प्रयास भएको बताउँदै प्रमुख अधिकारीले भन्नुभयो–‘भूमिसुधार अन्तर्गत तामेली/अभिलेखहरू पुराना र झुत्रा भएकाले खोजी गर्न समस्या भएको, बजेट अभावमा मोठ श्रेस्ता व्यवस्थापनमा समस्या भएको, भौतिक पूर्वाधारको कमी भएको, नेटवर्क र सर्भर ढिलो भई कार्यमा बाधा हुने गरेको लगायतका समस्या छन् ।’ स्थानीय तह र सञ्चार कर्मीहरू मार्फत नागरिकहरूलाई अझै सेवामैत्री बनाउन पहल कदमी गर्ने र सूचना सम्प्रेषणमा सहजता अपनाउने गरी कार्य शुरु गरिएको प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीले बताउनु भयो ।

कार्यक्रममा नापी कार्यालय काभ्रेका प्रमुख राम विनय सिंह यादवले घाम लाग्दा मात्रै काम गर्नु पर्ने अवस्थाबाट डिजिटल युगमा प्रवेश गरेको बताउनु भयो । नमोबुद्ध नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्थानीय तहको प्रमुख राजश्वको श्रोत मालपोत कार्यालयलाई व्यवस्थित बनाउन स्थानीय सरकार तयार रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले मालपोत कार्यालयको सुधारिँदो अवस्थालाई अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउनु भयो । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन काभ्रेका अध्यक्ष रोशन श्रेष्ठले श्रेस्ताहरुको भरपर्दो व्यवस्थापन हुनु आवश्यक रहेको बताउनु भयो । मालपोत अधिकृत गंगाप्रसाद पोखरेल, कम्प्युटर अपरेटर रामभक्त हुमागाईँले जग्गा प्रशासनमा भुसेवाको पछिल्लो व्यवस्थापनका बारेमा जानकारी गराउनु भएको थियो ।

राजश्व दोब्बर
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले चालु वर्षको ७ महिनामै लक्ष्य भन्दा धेरै राजश्व असुली गरेको छ फागुन मसान्तसम्म १ अर्ब ७२ करोड ४६ लाख ६ हजार रुपैया संकलन गरेको छ । २० हजार ८ सय ४१ लिखत पास गरेको मालपोतले ६ हजार ५३ वटा लिखतमा ९ करोड ३८ लाख ३ हजार ९ सय ५५ छुट दिएको छ ।

संकलित राजश्व पुँजिगत लाभकर बापत ८० करोड ६ लाख ९२ हजार ८ सय ७८, अग्रिम आयकर ३ करोड २० लाख ६२ हजार ८ सय ७५, अन्य राजश्व १ लाख ४१ हजार ७ सय रकम संघ सरकारको खातामा जम्मा भएको छ भने रजिस्ट्रेसन शुल्क बापत संकलित राजश्व ९० करोड १३ लाख ९३ हजार संकलन भएको छ । उक्त रकम ४० प्रतिशत प्रदेश सरकारको खातामा जम्मा हुन्छ भने ६० प्रतिशत स्थानीय खातामा जम्मा हुनेछ ।

अघिल्लो वर्ष ग्रामीण क्षेत्रमा १ हजार ६ सय ४७ वटा लिखत र शहरी क्षेत्रमा ३ हजार ४ सय १८ वटा गरी ३६ हजार २ सय ६५ वटा लिखत पास भएका थिए । अघिल्लो आर्थिक वर्षको अन्त्यमा जिल्लामा १ अर्ब २२ करोड ६१ लाख १३ हजार राजश्व संकलन गरेको थियो । जसमध्ये लाभकर ४६ करोड २० लाख ५ हजार, अग्रिम आयकर २ करोड १८ लाख र रजिस्ट्रेसन दस्तुर बापत ७४ करोड १७ लाख रकम जम्मा भएको थियो ।

७ महिनामा ९ करोड छुट
आर्थिक वर्ष २०७७/२०७८ को अन्त्यसम्ममा विभिन्न शिर्षकमा राज्यले उपलब्ध गराउने छुट लिखतबाट ६ करोड २० लाख ४१ हजार राजश्व भएको थियो । जसमा महिलाका नाममा दर्ता भएका ५ हजार ९ सय ३२ वटा लिखतको ६ करोड १९ लाख २९ हजार रहेको छ । पुरुषहरुले राजश्व छुटकै लागि महिलाका नाममा लिखत पास गर्दै आएका छन् । दलित/जनजातिका नाममा ६ वटा, जेष्ठ नागरिकका नाममा २ वटा र अन्य नाबालकका नाममा २ वटा लिखत पास भएका छन् । शहिद परिवार र अपाङ्गता भएका ब्यक्तिका नाममा लिखत पास भएका थिएनन् ।

राज्यले महिलाका नाममा लिखत पास गरेको अवस्थामा दिने छुट चालु वर्षमा ६ हजार २७ वटा लिखतले पाएका छन् । जसमा ९ करोड ३२ लाख ५५ हजार राजश्व छुट भएको छ । दलित/जनजातिका नाममा १४ वटा लिखतले छुट पाएका छन् । शहिद परिवारका ३ वटा, जेष्ठ नागरिक तथा एकल महिलाका ७ वटा र अपाङता भएका ब्यक्तिका नाममा ३ वटा लिखत पास भएका छन् । यो समुदायका ब्यक्तिहरुले जग्गा खरिद विक्री गर्दा राज्यले छुट दिने ब्यवस्था गरेको छ ।

बनेपामा १६ करोड, खानीखोलामा ८ लाख
मालपोत कार्यालय काभ्रेले अघिल्लो आर्थिक वर्षको बाँकी ११ करोड र चालु वर्षको माघ मसान्तसम्म संकलित रकम बाँडफाँड गरेको छ । रजिस्ट्रेसन शुल्क बापत संकलित रकम मध्ये प्रदेश सरकारलाई ३५ करोड २८ लाख १४ हजार रुपैया र स्थानीय सरकारलाई ५२ करोड ९२ लाख २२ हजार रकम बाँडफाँड गरिएको छ ।

प्रदेश सरकारले थप २ प्रतिशत १ करोड ६३ लाख रुपैया प्राप्त गरेको छ । माघ मसान्तसम्म कार्यालयले ८९ करोड ८४ लाख २६ हजार रकम विनियोजन गरेको प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीले बताउनु भयो । राजश्व बाँडफाँडबाट सबै भन्दा धेरै रकम बनेपा नगरपालिकाले प्राप्त गरेको छ । बनेपाले १५ करोड ८७ लाख २९ हजार रकम माघ मसान्तसम्म प्राप्त गरेको छ भने सबै भन्दा कम खानिखोला गाउँपालिकाले ८ लाख ६६ हजार प्राप्त गरेको छ । बनेपा पछि धुलिखेल नगरपालिकाले १० करोड ५८ लाख रुपैया प्राप्त गरेको छ ।

पनौतीले ७ करोड ४९ लाख, पाँचखालमा ८ करोड ६ लाख राजश्व संकलन भएको छ । महाभारतमा १२ लाख ८५ हजार, तेमालमा १२ लाख ६२ हजार, चौरीदेउरालीमा १० लाख ६७ हजार, भुम्लुमा ५८ लाख र रोशी गाउँपालिकामा ४६ लाख राजश्व मालपोतबाट गएको छ । विकट क्षेत्रमा जग्गाको कारोवार नै कम हुनु र भए पनि मुल्यांकन कम भएका कारण राजश्व कम भएको हो ।

११६३ वटा निवेदन फछ्र्यौट
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले चालु वर्षको फागुन मसान्तसम्म १ हजार १ सय ६३ वटा निवेदन फछ्र्यौट गरेको छ । मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीले उजुरी तथा पुराना निवेदनहरुको फछ्र्यौट गर्न शुरु गर्नु भएको छ । अघिल्लो आर्थिक वर्षका १ सय ५२ वटा निवेदन यो वर्ष जिम्मेवारी सरेको थियो ।

छुट जग्गा दर्ता, नामसारी, संशोधन, दाखिला खारेज, हकसफी, श्रेस्ता अद्यावधिक, मोही लगत कट्टा, ट्रायल चेक, मोही नामसारी र घर कायम सम्वन्धी निवेदन दर्ता भएका थिए । पुष मसान्तसम्म दर्ता भएका १ हजार ८ सय ८१ वटा लगत मध्ये सोहि अवधीमा १ हजार १ सय ३ वटा फछर्याैट भएका थिए भने ४ सय ५४ वटा बाँकी रहेका थिए । सबै भन्दा धेरै नामसारीमा ९ सय ८२ वटा उजुरी दर्ता भएका थिए ।

२०७८ पौष मसान्तसम्म मालपोतमा दर्ता भएका निवेदनको अवस्था

प्रतिक्रिया दिनुहोस्