ट्याक्सीको बेथिति रोक्न के गर्न सकिएला ?



कसैलाई अस्पताल जानप-यो वा कोही हतारोमा छ भने ट्याक्सी नचढी सम्भव छैन् । तर, ट्याक्सी चालकलाई सयौं विन्ती गरे पनि उनीहरुले मिटरमा यात्रु बोक्न मान्दैनन् । बिरामी शिथिल भएको देख्दादेख्दै पनि ट्याक्सी चालकमा मनमा दया पलाउँदैन । बरु, भाडाको विषयमा लिएर आलटाल गरेर बस्छ । चालकले भनेजति रकम तिर्ने सहमति नभएपछि ट्याक्सी गुड्दैन । हचुवाको भरमा आफूलाई मन लागेजति भाडा भन्छन् ट्याक्सी चालक । उपत्यकामा जम्मा नौ हजार ट्याक्सी सञ्चालनमा छन् । तीमध्ये एउटा ट्याक्सीले पनि मिटरमा यात्रु बोक्न र नजिक जान मान्दैन ।

उपत्यकाभित्रका विभिन्न चोक वा अस्पतालअगाडि यात्रु र ट्याक्सी चालकबीच मोलमोलाइ भइरहेको प्रशस्तै भेटिन्छ । पाटन अस्पतालबाट कोटेश्वर महादेवस्थानमुनि आएको एक महिलाले ७ सय तिरिन् । बिरामी साथमा भएकाले ट्याक्सी चढ्नुपरेको र चालकले मनलाग्दी भाडा मागेको उनको गुनासो छ । तीनवटा ट्याक्सीसँग घण्टौं मोलमोलाइ गरेपछि एउटाले ७ सयमा ल्याउन मान्यो, उनी भन्छिन् । तर, दूरीको तुलना गर्ने हो भने पाटन अस्पतालबाट महादेवस्थान जम्मा तीन किलोमिटर छ ।

सरकारले तोकेअनुसार प्रत्येक किमि ३९ रुपियाँ हो । त्यसै गरी, ट्याक्सी चढ्नेबित्तिकै यात्रुले १४ रुपियाँ सेवाशुल्कबापत तिर्नुपर्छ । यात्रुले सरकारी भाडाअनुसार तीन किमिको जम्मा १ सय १७ रुपियाँ तिरे पुग्छ । तर, तीन किमिका लागि यात्रुले ७ सय रुपियाँ तिर्नुपर्ने बाध्यता छ । एकातिर ट्याक्सी भाडा महँगो छ, अर्कोतिर पैसा तिरेजस्तो सेवासुविधा पनि यात्रुले पाइरहेका छैनन् । थोत्रा, पुराना, प्रदूषण गर्ने, डल्लो आकारका ७९६ सिसीका ट्याक्सीमा यात्रा गर्नुपर्छ । भाडा ट्याक्सीको तिरे पनि ट्याक्टरमा बसेजस्तो अनुभव हुन्छ । यत्रो पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न नपाउनु जनताका लागि दुर्भाग्यको कुरा हो ।

सरकारले ट्याक्सीको वर्गीकरण पनि गरेको छैन । लक्जरियस ट्याक्सीको दर्ता खोल्न सरकारले अहिलेसम्म गृहकार्य पनि थालेको छैन । स्वदेशी त ट्याक्सीबाट आजित भइसकेका छन् । यता, ट्याक्सी चालकले विदेशीलाई पनि राम्रो सेवासुविधा दिन सकेको छैन । ट्याक्सीको सिसी कम भएकाले यसले तीनजना मोटा मानिसको भार थेग्न सक्दैन । उकालोमा यात्रु आफैंले ओर्लिएर ट्याक्सी ठेल्नुपर्ने हुन्छ । झोला र सुटकेस राख्ने ठाउँको पनि अभाव छ ।

उपत्यकाभित्र ट्याक्सी नपाएर घण्टौं कुर्नुपर्छ । ट्याक्सी चाहिने भनेकै बिरामी हुँदा वा हतार पर्दा त हो । अरु बेला चढ्नलाई भाडा तिर्न सक्ने स्थिति छैन । तर, आफूलाई परेकै बेलामा ट्याक्सी पाइँदैन र ट्याक्सीको खोजीमा भौँतारिनुपर्छ । अहिले सञ्चालन भएका ट्याक्सीहरु चक्रपथबाहिर जान मान्दैनन् । बढी पैसा तिर्ने सर्तमा मात्रै ट्याक्सी चक्रपथबाहिर जान्छ । नेपाल सरकारले ट्याक्सीको रोड परमिट उपत्यकाभित्रका सबै ठाउँलाई दिएको छ । बाहिरी जिल्लामा ट्याक्सी जानुप¥यो भने पटके काट्नुपर्छ । जसले गर्दा बाहिरी जिल्लाका बासिन्दाहरु ट्याक्सी चढ्नबाट वञ्चित बनेका छन् ।

यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले उपत्यकालाई मात्र ट्याक्सीको रोडपरमिट दिने निर्णय ३० वर्ष पुरानो हो । जनसंख्यालाई आधार मानेर त्यतिखेर उपत्यकामा मात्र ट्याक्सी चलाउन अनुमति दिइएको थियो । तर, अहिले उपत्यकाकै छिमेकी जिल्ला काभ्रेमा ट्याक्सी पाइँदैन । विगत ३० वर्षमा काभ्रेको जनसंख्या तेब्बर भइसकेको छ । तापनि सरकारले काभ्रेमा रोडपरमिट दिएन । हाल त्यहाँ रातो प्लेटको सवारीले यात्रु बोकिरहेका छन् । बनेपामा ट्याक्सी नभएर निजी प्लेटका सवारीले मनलाग्दी भाडा असुलिरहेका छन् ।

सरकारले बागमती प्रदेशका हरेक जिल्लामा ट्याक्सीको पहुँच पु¥याउने हो भने रातो प्लेटको सवारीको ठगीधन्दा बन्द हुन्थ्यो । यता, मर्दा र पर्दा यात्रुले भनेको बेलामा ट्याक्सी पाउँछन् । अहिले यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको घर काभ्रेको पनौती हो । तर, उनकै जिल्लाका जनताले ट्याक्सीको मुख देख्न पाएका छैनन् । सुत्केरी हुँदा गाडी नपाएर मर्नुपर्ने बाध्यता त्यहाँ पनि छ । निजी प्लेटले भनेजति पैसा तिर्न नसक्नेहरुलाई मर्नबाहेक अरु केही विकल्प रहँदैन ।

सरकारले नयाँ ट्याक्सी खोलेर रोडपरमिट बढाइदिने हो भने आर्थिक कमजोर भएका सर्वसाधारणलाई निकै राहत हुन्थ्यो । यातायात व्यवसायीको अगाडि लम्पसार परेका महानिर्देशक घिमिरेले कुनै हालतमा रोडपरमिट बढाउन र नयाँ ट्याक्सीको दर्ता खोल्न पहल गर्ने देखिँदैन । तर, यातायात व्यवसायीसँग लुप्त भएका महानिर्देशक घिमिरेले एकवर्षमा दुईपटक सार्वजनिक सवारीको भाडा बढाउन हिच्किचाउँदैनन् । सरकारले सिन्डिकेट हटाएको दाबी गरे पनि विगत तीन दशकदेखि नयाँ ट्याक्सीको दर्ता खोलिएको छैन ।सबै प्रदेशमा कालो र हरियो प्लेटको ट्याक्सीको दर्ता बन्द छ । प्रदेशले संघीय र संघीयले प्रदेशलाई देखाउने काम मात्र भइरहेको छ । संघीयकी यातायातमन्त्री रेणुकुमारी यादव प्रदेशतिर औँला तेस्र्याउँछिन् । यता, प्रदेशको यातायातमन्त्री घनश्याम दाहाल संघीयलाई देखाउँछन् । यातायातमन्त्रीहरुको अरुलाई देखाएर पन्छिने प्रवृत्तिले जनताको ज्यान लिइरहेको छ । नयाँ ट्याक्सीको दर्ता नखोलिदिँदा राज्यले राजस्व पाएको छैन । सरकारले नयाँ ट्याक्सीको दर्ता खोलिदियो भने मिटरमा यात्रु बोक्छु, आफ्नो देशमा स्वरोजगार बन्छु भन्दा पनि नेपाली जनताले पाएका छैनन् ।

अहिले भएको भाडाभन्दा कममा यात्रुलाई सेवा दिन्छु, राज्यको ऐनकानुन मान्छु र यात्रुले भनेको ठाउँमा जान्छु भन्दा पनि उनीहरुले किन नपाउने ? देशमै स्वरोजगार बन्छु भन्दा किन नपाउने ? सरकार सबैको साझा हो । तर, सीमित व्यक्तिको फाइदाका लागि सरकारले अरु जनतालाई दबाउन मिल्छ ? विश्वका हरेक देशमा लक्जरियस ट्याक्सी सञ्चालनमा छन् । लक्जरियस ट्याक्सी चलाउँदा उनीहरुको मुलुकको शोभा बढेको छ । यस्तो ट्याक्सीले प्रदूषण कम गर्दछ भने त्यसबाट त्यहाँका जनताले भरपूर सेवासुविधा पाउँछन् । त्यस्ता ट्याक्सी चल्ने शहरको शान नै बेग्लै हुन्छ । तर, नेपालको राजधानीमा २० वर्ष कटेका ट्याक्सीहरु गुड्छन् । यत्रो धुँवाको मुस्लो फालेर ट्याक्सीहरु गुडेको देख्दा पनि नियमनकारी निकाय मौन छ । ट्याक्सीकै कारण काठ्माडौंको बदनाम भएको छ भने प्रदूषण बढाउन यी सवारीको अहम् भूमिका छ । अहिले यातायात व्यवसायीहरु २० वर्ष पुराना ट्याक्सीको म्याद थप्न दौडधुप गरिरहेका छन् ।

कि त त्यसको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ ट्याक्सी किनेर सट्टाभर्नामा दर्ता गर्न पाउनुपर्ने उनीहरुको माग छ । यसका लागि ट्याक्सी व्यवसायीहरु दिनहुँ प्रदेश र संघीय यातायात मन्त्रालय धाइरहेका छन् । साथै, ट्याक्सीको नयाँ दर्ता खोल्न नहुने उनीहरुको भनाइ छ । २०४० सालमा डेढ लाखमा किनेको ट्याक्सी आफैँ चलाएर वा भाडामा लगाएर दुई करोडभन्दा बढी कमाइसके । ट्याक्सी व्यवसायीले ३८ वर्षको अन्तरमा डेढ लाखबाट दुई करोड कमाउनु भनेको ठूलो कुरा हो । अब फेरि पनि आफैँले व्यवसाय गर्न यिनीहरुको होडबाजी चलेको छ ।
उही पुरानो नम्बर प्लेटमा नयाँ ट्याक्सी किनेर दर्ता गर्न दिने हो भने एउटै व्यक्तिले ५८ वर्ष व्यवसाय गर्छ । यसले गर्दा अरु जनता मारमा पर्छन् । एउटै व्यवसायीले मात्र कमाइराख्छ, ऊ मात्र रोजगार बन्छ । जनसंख्या बढेको बढ्यै छ, ट्याक्सीको संख्या बढेको छैन ।

सरकारले २० वर्ष पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट खारेज गरिदिनुपर्छ । सधैँ एउटै व्यक्तिले कमाइराख्ने, अरुचाहि हेरेर बस्ने ? यसलाई मध्यनजर गर्दै नयाँ ट्याक्सीको दर्ता तत्कालै खोलिदिनुपर्छ । नयाँ ट्याक्सीको दर्ता खोलिदिँदा जनताले सित्तैमा नम्बर प्लेट पाउँछन् । यसले गर्दा ट्याक्सीको मूल्य कम पर्छ । जसले गर्दा सस्तो भाडामा सेवा दिन सकिन्छ । सट्टापट्टामा फेरि पनि ट्याक्सी दिने हो भने जनता ठगिने क्रम झनै बढ्दै जान्छ । नयाँ ट्याक्सीको दर्ता खोल्दा एकाधिकार तोडिन्छ । जनता ठगिने काम पनि रोकिन्छ । ट्याक्सीमा भएको बेथिति रोक्ने एउटै उपाय नयाँ ट्याक्सीको दर्ता हो ।

– अनुसा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्