स्यान्टु र त्रिशा च्याम्पियन



काठमाडौं ।

नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुष फाइनलमा श्यान्टुले भर्चुएस, भारतका स्वार्नेन्दु चौधरीलाई ६–११, ११–३, ११–९, १३–११ र ११–४ को सेटमा पराजित गरे । बैंक अफ बरोडा, भारतका नीतिन र श्रीकृष्ण अरुणाचलम तेश्रो भए ।

सम्झना ल्याबको प्रमुख प्रायोजनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स फाइनलमा त्रिशाले गाजियाबाद, भारतकी अभानी त्रिपाठीलाई ११–७, ११–९, ८–११, ११–६ र ११–५ को सेटमा हराइन् । गाजियाबादकी तनिशा मोलानी र एजीएकी फिल्जाह फतिमा तेश्रो बने । पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०–१० हजार नगद पुरस्कार प्राप्त गरे ।

विभिन्न ६ स्पर्धा समावेश प्रतियोगितामा नेपाली तथा भारतीय टोली समान ३ स्वर्ण जिते । भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङ क्लब, नेपालका चन्दन शाही तथा ५५ वर्षमाथि एनिजकै राजन सुब्बाले स्वर्ण जितेका थिए । बैंक अफ बरोडाले पुरुष/महिला दुवैको टिम इभेन्टमा पहिलो स्थान हात पार्यो । टिममा शीर्ष तीन स्थान हात पार्नेलाई पनि सिंगल्ससरह नै नगद पुरस्कार प्रदान गरियो । भेट्रानमा पहिलोले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार जिते ।

सो अवसरमा दक्षिण एसियाली खेलकुदको टेबलटेनिसको टिम इभेन्टमा स्वर्ण जितेकी सिजरिन शाहलाई आयोजकले ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको थियो । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा भएको पाँचदिने प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्