वर्ष खेलाडीको मनोनयन सार्वजनिक



कैलाली ।

‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७८’ को वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो । मञ्च कैलालीको आयोजना हुने अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दीपेन्द्र सिंह ऐरी र फुटबलका टेकेन्द्र थापा परेका छन् । त्यस्तै, महिलातर्फ भलिबलकी सरस्वती चौधरी एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी उषा नाथ परेकी छन् ।

पुरुषतर्फ मनोनयनमा परेका प्रिन्स जुनियर तर्फको विश्व वरीयतामा १ नम्बरमा रहेका छन् । दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा शतक र अर्धशतकसहित टी ट्वान्टीमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । नेपाली पुरुष फुटबलको टीममा परेका टिकेन्द्र थापाले पहिलोपटक नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । उनले जावलाखेल युथ क्लबकाट ‘ए’ डिभिजन लिग खेल्दै आएका छन् ।

महिलातर्फ मनोनयनमा परेकी सरस्वतीले नेपाली महिला भलिबल टोलीले बंगलादेशमा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् भने घरेलु प्रतियोगिताहरुमा सानदार प्रदर्शन गर्दै आएकी छिन् । उषा उमेर समूह हुँदै नेपाली महिला फुटबल टोलीमा स्थान बनाउन सफल भएकी छिन् । उनी राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलरक्षक बनेकी थिइन् । एथलेटिक्सकी राजपुराले भारतको नागाल्यान्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजतपदक जितेकी थिइन् । त्यस्तै, उनले १५औं र १६औं संस्करणको पोखरा म्याराथनको उपाधि पनि जितेकी थिइन् ।

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, ‘वर्ष युवा खेलाडी’, ‘स्पेसल अवार्ड’ र ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’का विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

‘एसपीए’ सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको छ भने मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै, वर्षको पुरुष खेलाडी विधालाई काठमाडौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह–प्रायोजकमा केल्मी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्